तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यको भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, केही दिनअघि मात्रै नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका नेता वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार आइतबार काठमाडौँको एक होटलमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटका क्रममा नेताहरुबीच वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधिनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेसको गठबन्धनलगायतका विषयमा छलफल भएको बताइएको हो।

उनीहरुबीच छलफललाई आगामी दिनमा पनि निरन्तरता दिने समझदारी भएको छ। उनीहरु पाँचैजना तत्कालीन नेकपाको सचिवालय सदस्य थिए। नौ सदस्यीय सचिवालयमा केपी ओलीविरुद्ध उनीहरु एक ठाउँमा उभिएका बेला ओली पटक–पटक अप्ठ्यारोमा परेका थिए।