सिन्धुलीमा पत्रकारलाई मतगणनाको सूचना लिनै सकस

सिन्धुलीको कन्दमुल विकास केन्द्रमा शनिबार दिउँसोबाट मतगणना प्रारंभ गरिएपछि रिपोर्टिङका लागि पुगेका पत्रकारहरू तनावमा देखिन्थे । सुरक्षाकर्मीको बाक्लो उपस्थितीका बीच पार्टी नेताहरुले कागजमा टिपेर ल्याइएका टिपोट नै अहिलेसम्मको आधिकारिक हो भनेपछि विश्वास गर्नुको कुनै विकल्प रहेन ।
आधिकारिक निकायबाट समय समयमा अपडेट नआउँदा अनलाइनमा काम गर्नेदेखि टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्नेहरूसम्म त्यसरी अनिधकृतरूपमा आएका सूचनामा भर परेर रिपोर्टिङ गर्दा रातभर जसो गलत तथ्यांकहरू मिडियाहरूमा प्रकाशित प्रशारित भए ।
साँझ नै गठबन्धन तर्फका मेयर पदका उमेद्धवार उपेन्द्र पोखरेलले नेपाली कंग्रेसको आधार क्षेत्रमा ५० मतले अग्रता लिइरहँदा एमालेका उम्मेदवार महेन्द्र देव श्रेष्ठ निकै तल थिए तर आइतवार बिहानसम्म आइपुग्दा वडा नं. १ मा ६ सय मतखस्दा पोखरेलले २९३ र श्रेष्ठले १३९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै वडा नंं. २ मा ७ सय मत गणना हुँदा पोखरेलले ३७९ र श्रेष्ठले २१० र वडा नं. ३ मा ५ सय गणना हुँदा पोखरेलका पक्षमा २४७ र श्रेष्ठका पक्षमा १९६ मत परेको छ । यो निर्वाचन परिणामले कमलामाई नगरपालिकाको निर्वाचनमा कस्ले बाजी मार्छ ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ । गठबन्धनको आधार क्षेत्रका रुपमा लिइने यी ३ वटै वडामा एमालेका उम्मेदवार श्रेष्ठले पोखरेलको अग्रतालाई बढाउन दिएनन् भने चुनाबी परिणाम निकै रोचक हुने देखिन्छ ।
सिन्धुलीका मुख्य निर्वाचन अधिकृत धु्रव सापकोटाले भने, ‘प्राविधिक समस्याले गर्दा हामीले ढिलो गरेर मात्र जानकारी गराउन सक्यौँ ।’ तपाईले मिडियालाई त सूचना दिनुपर्छ नि ? भन्ने जिज्ञासामा उनले भनेका थिए, नगरपालिकाकै त सूचना दिन सकिइरहेको छैन, मैंले जिल्लाभरीको कसरी दिनु ?
आधिकारिक निकायबाट जानकारी नआएपछि पत्रकारहरूले मतदानस्थलमा रहेका प्रतिनिधी, राजनीतिक दल, पर्यवेक्षकहरुलाई समातेर भित्रको जानकारी लिइरहेका थिए । त्यसरी सूचना ल्याउनेहरूबीच नै तथ्यांकमा तालमेल थिएन । तर, केहीबेर अघि लिएको तथ्यांकभन्दा पछि आउने तथ्यांक घट बढ भएपछि समाचार संकलनमा खटिएकाहरू तनावमा देखिन्थे ।
भित्र प्रतिनिधीहरु सूचना दिनै मान्दैनन् । बल्बल्ल टिपेर ल्याएको अहिलेसम्मको यहि नै हो । मत परिणाम टिपेर ल्याउने प्राय यस्तै भन्थे । परिणाम थाहा पाउन बसिरहेकाहरु निर्वाचन अधिकारीहरुको लापरबाहीपूर्ण व्यवहारको आलोचना गरिरहेका देखिन्थे ।
तर, मतगणनाको तथ्यांक साँझ पौने बहान ७ बजेभन्दा पछि एकपटक पनि सुनाइएको छैन । आफ्नो पक्षमा परिणाम आउने भन्दै दलका कार्यकर्ताहरु सडकभर देखिएकाछन् ।
आफ्नो पक्षका उम्मेदवारको पक्षमा अग्रताको परिणाम आउला की भनेर सबैको नजर त्यसतर्फ देखिन्थ्यो । उता सामाजिक सन्जालहरुमा पोखरेल र श्रेष्ठको फराकिलो अग्रता देखिएको छैन ।
मरिणमा माओवादी केन्द्रको अग्रता
मरिण गाउँपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्दका उम्मेदवारले शुरुवाती अग्रता लिएको । दुई वडामा विजय हाँसिल गरेको माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार विमर्श मोक्तानले २८२ र एमालेका गोविन्दलाल मााझीले १९९ मत प्राप्त गरेका छन् । कुल मत १६८४६ मध्ये १२१५८ मत खसेको थियो ।
तीनपाटनमा एमालेको अग्रता
तीनपाटन गाउँपालिकाका २ वटा वडाहरुको मतगणना सम्पन्नहुँदा अध्यक्षमा एमालेका उम्मेदवार छत्रवहादुर दाहालले अग्रता लिएका छन् । वडा नम्बर १ मा नेकपा एमालेले बिजयि हांसिल गरेको छ भने वड नम्बर ११ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएको छन् ।
अहिले फरक फरक ठाउंमा वडा नम्बर २ र १० को मतगणना भैरहेको छ अहिले सम्मको मतगणनामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमालेको अग्रता छ । त्यस्तै गणना भैरहेको वडा नम्बर २ मा गठबन्धन रवडा नम्बर १० मा बाम गठबन्धन (एमाले माओवादी केन्द्र) अगाडि रहेको छ ।
दुधौलीमा माओवादीको अग्रता
दुधौली नगरपालिकामा गठबन्धन तर्फबाट माओवादी केन्द्रका मेयर पदका उम्मेदवार दिनेश अधिकारी १०७४ र उपमेयर पदमा नेपाली कांग्रेसका चन्द्रकिशोर चौधरीले ९५६ मतले अगाडि छन् । एमालेका मेयरका उम्मेदवार लक्ष्मण कार्कीले ७७१ र उपमेयरकी उम्मेदवार बालुकमारी अधिकारी दनुवारले ७०४ मत पाएकाछन् ।