नेपाली काँग्रेस सिन्धुलीको सभापतिमा उपेन्द्र पोखरेल भारि मतान्तरसहित विजयी

नेपाली काँग्रेस चौधौँ महाधिवेशन अन्तर्गत सिन्धुली जिल्ला अधिवेशनको निर्वाचनमा उपेन्द्र पोखरेल निर्वाचित हुनु भएको छ । उज्ज्वल बराललाई पछि पार्दै उहाँ ८८५ मत सहित विजयी हुनु भएको हो ।


सभापतिमा भएको पुनः मतदानमा १ हजार ३७१ मत खसेको थियो । उज्ज्वल बरालले ४७७ मत मात्र प्राप्त गर्नुभयो । पुनः मतदानमा ९ मत भने बदर भएको छ ।


आइतबार भएको निर्वाचनमा उम्मेदवारहरू मध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेको हुँदा नेपाली काँग्रेसको विधान अनुसार पुनः मतदान भएको थियो ।
यस अघि सभापति पदका लागि आइतबार भएको मतदानमा उपेन्द्र पोखरेलले ४८३, उज्ज्वल बरालले ४२७, प्रेमचन्द्र दाहालले ३६१, खड्गबहादुर वाइवाले १०१ र विश्वनाथ कोइरालाले १६ मत प्राप्त गर्नु भएको थियो । जिल्ला अधिवेशनमा सहभागी हुने एक हजार ५ सय ३५ जना मतदाता रहेकोमा १ हजार ४ सय ४० मत खसेकोमा ५१ मत बदर भएको थियो ।

माओवादी सशस्त्र संघर्षका बेला सिन्धुलीमा नेपाली कांग्रेस भन्दै छाती खोलेर हिंड्ने पोखरेल निडर नेता हुनुहुन्छ । उहाँको बुबा प्रेमवहादुर पोखरेललाई तत्कालिन माओवादीले नेपाली कांग्रेसमा लागेकै कारण भौतिक आक्रमण गरेर सख्त घाइते बताएका थिए ।

पोखरेल नेपाल विद्यार्थी सङ्घको जिल्ला सभापति, तरुण दलको जिल्ला अध्यक्ष, संस्थापक निर्वाचित नगर सभापति, पहिलो पार्टीको प्रवक्ता, निर्विरोध पार्टी सचिव, २०५४ सालमा वडा नं. ५ को वडा अध्यक्ष, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै निरन्तर २८ वर्ष देखी पार्टीको नेतृत्वदायी भूमिकामा रहँदै आउनु भएको छ । राजनीति र सामाजिक क्षेत्रमा  पोखरेल एक प्रभावशाली नेताका रूपमा स्थापित रहँदै आएका छन् । प्रदेश खबरडटकम नवनिर्वार्चित सभापति पोखरेललाई हार्दिक बधाई ज्ञापन गर्दछ ।