माओवादी केन्द्र कुनैपनि बेला सरकारबाट बाहिरिन सक्छ : प्रमुख सचेतक गुरुङ

नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टी कुनैपनि बेला सरकारबाट बाहिरिन सक्ने बताएका छन्। 

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै  नेता गुरुङले यथास्थितीमा एमसिसी पास गर्न खोजिए कुनैपनि बेला सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्। उनले एमसिसीका विषयमा पार्टीले द्वेध चरित्र नदेखाएको पनि दाबी गरे। 

‘जबरजस्ती एमसिसी पारित गराउन खोजिए सरकारबाट बाहिरिने यसअघि नै पार्टीले निर्णय गरिसकेको छ,’ उनले भने, ‘कहिले बाहिरिने भन्ने निर्णय पनि छिट्टै हुन्छ।’

माओवादी केन्द्र देशको स्वाधिनताको रक्षाका लागि संघर्ष गर्दै आएको पार्टी भएका कारण राष्ट्रिय हितविपरितका कामको सँधै विरोध गरिरहने पनि उनले बताएका छन्। उनले एमसिसीको विषयमा मत विभाजन हुँदा माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने पनि बताएका छन्। 

स्वाधिनताको रक्षाका लागि एकै ठाउँमा उभिन्छौं। राष्ट्रहित विपरीतको सम्झौता भएकाले यसको विपक्षमा नै नेकपा माओवादी केन्द्र रहन्छ,’ उनले भने, ‘हामी मत विभाजनमा जाँदा एमसीसीको विपक्षमा नै मतदान गर्छौं।’