एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा आज दिउसो ३ बजे बस्दै

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो ३ बजे गठबन्धनको बैठक बस्न लागेको हो। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि आज गठबन्धनको बैठक बोलाइएको हो।

भोलि प्रतिनिधिसभाको बैठक बोलाइएको छ। प्रतिनिधिसभाको बैठकका एमसीसी सम्झौता पेश गर्ने विषयमा साझा धारणा बनाउन आज गठबन्धनको बैठक बस्न लागेको जनाइएको छ।

सरकारले बुधबारको प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता पेश गर्ने तयारी गरेको थियो। तर, माओवादी संसदीय दलको बैठकले त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेपछि रोकिएको हो।

अहिलेसम्म सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी सम्झौताको पक्षमा उभिएका छन्। माओवादी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा यसको विरोध गरिरहेका छन्।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले भने एमसीसी सम्झौताको विषयमा निर्णय गर्न सकेको छैन।