नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त, प्रदर्शनकारी माथि प्रहरीको अश्रुग्याँस प्रहार, दर्जनौं घाइते, एक सय भन्दा बढी नेता कार्यकर्ता पक्राउ

काठमाडौको नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ।  प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनका क्रममा एक दर्जनबढी घाइते भएकाछन् भने ९० जनाभन्दा बढी नेता कार्यकर्ता पक्राउ गरेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पक्राउ परेकाहरूलाई भृकुटीमण्डपमा रहेको नगर प्रहरी कार्यालयमा राखिएको छ ।

भर्खरै नयाँ बानेश्वर क्षेत्रबाट प्रदर्शनकारी पक्राउ परेको र उनीहरूको यकिन संख्या आउन बाँकी रहेको बताइन्छ । यसअघि बिहान ५० जना पक्राउ परेका थिए

May be an image of one or more people, people standing, people walking, crowd and outdoors
नयाँ बानेश्वरमा प्रर्दशनकारीहरु । प्रहरीले सकेन रोक्न । फोटोः प्रदेशखबर

आज बिहानैदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेर भीड तितरवितर पारे पनि फेरि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरुले एमसीसी राष्ट्रिय हितमा नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरिरहेका छन्।

सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने तयारी गरेपछि विभिन्न राजनीतिक दलले प्रदर्शन गरेका हुन्। यद्यपि सत्ता गठबन्धनभित्रै चरम असन्तुष्टि देखिएपछि सरकार आजै संसदमा एमसीसी टेबल गर्ने निर्णयबाट पछि हटेको थियो।

आज सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी निकट युवाहरु पनि एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका हुन्।

यस्तै विप्लव नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसीको विरोधमा बुधबार नेपाल बन्दको घोषणा गर्नुका साथै प्रदर्शनसमेत गरेका छन्।