राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् । बुधवार राजधानीमा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनैतिक संगठनहरुले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताए ।
उनले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भित्रभित्रै एमसीसी पास गराउन खोजेको आरोप लगाए । अध्यक्ष केसीले विदेशी शक्तिहरुले पार्टीका प्रमुख व्यक्तिहरुलाई आफ्नो स्वार्थसिद्धिका लागि किन्ने गरेको बताए । केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको पनि बताए । उनले गठबन्धन नेपाली काँग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भनेपनि राष्ट्रिय जनमोर्चा भने एमसीसी नेपालमा ल्याउनै नहुने पक्षमा रहेको स्पष्ट पारे । ‘गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न, अनि सत्तामा रजाइँ गर्न भ्रष्टाचारीहरुसँग मित लगाएको होइन । यो प्रतिगमनलाई पराजित गर्नको लागि मात्रै हो’, उनले भने, ‘ राष्ट्रिय जनमोर्चा त्यो पार्टी हो, जसले कुनैपनि हालतमा एमसीसी पास गर्नुहुँदैन भनेको छ । यहाँ एमसीसीका पक्षधरहर मंगोलियाले पास गरेको छ भन्छन् । नेपाली जनता के भेडा हुन् ? बेकुफ हुन् ? त्यो पैसा आएर यहाँ विकास हुने भए, विद्युतको विकास हुने, बाटोको विकास हुने भए, नेपाली जनताले यस्तो जुलुस गर्नुपथ्र्यो । होइन नि, देखाउने खसी, ख्वाउने फर्सी हो अमेरिकाको । यहाँ एमसीसीको माध्यमबाट नेपाललाई आफ्नो रणनीतिक योजनाभित्र राख्न चाहन्छ ।’ केसीले दुई वर्षयता मधेशमा सरकारले महँगो रकम हालेर ल्याएको रेल सञ्चालन नगरेर नेपाली जनताको बेइज्जत गरेको पनि बताए ।
अध्यक्ष केसीले अहिले सरकारमा भागवण्डाको काम मात्रै भइरहेको बताउँदै देश र जनताको रक्षा गर्ने जिम्मेवारी माफिया र तस्कहरुको हातमा सुम्पिएको बताए । उनले नेपालमा चुनाव माफिया र दलालीहरुको मात्रै भएको आरोपसमेत लगाए । अमेरिकाले सहयोग गर्ने बहानामा नेपाली जनताबाट पैसा लुट्ने षड्यन्त्र बनाएको भन्दै अध्यक्ष केसीले भने, ‘कस्ता कस्ता मान्छे सरकारमा सामेल छन् हेर्नु त प्रदेशतिर । सात मन्त्रालयको ठाउँमा १२ भएको छ । मन्त्री मण्डलमा चोर होस् की, डाका होस् की मूर्ति चोर होस् कि, अपराधी होस् केही फरक परेन । चुाव त तस्करहरुको हो । चुनाव त मेडिकल भ्रष्टाचारीहरुको हो । चुनाव सहकारीका माफियाहरूको हो । एमसीसी भित्र अमेरिकाको नीति पालना गर्नुपर्छ हामीले । उसको नीति भनेको उदारीकरण, बजारीकरण, शिक्षा, नीति बजारलाई दिने, बोर्डिङ खोल्न लगाउने र जनतासँग लुट्ने । त्यहाँ अंग्रेजी सिक्छ नेपाली सिक्दैन ।’