नेकपामा सल्कियो भुसको आगो, ओली र नेपाल समूहबीच मोर्चाबन्दी, भोली स्थायी समिति बैठक !

दुई अध्यादेशको विषयलाई लिएर अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र बामदेब गौतम पक्षधरले स्थायी कमिटी बैठक बोलाउनु पर्ने अडान राखेपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट हटाउने षडयन्त्र थालिएको भन्दै त्रसित मात्रै छैनन्, त्यसको प्रतिरक्षाका लागि आफ्ना सबै विङ्सहरु सुक्ष्म तरिकाले परिचालन गर्न थालेका छन् ।
कार्यकारी अध्यक्षको जामा पहिरिएका प्रचण्ड र नेपाल पक्षधर सदस्यहरु स्थायी कमिटी बैठक बोलाउनु पर्ने अडानमा देखिएका छन् भने ओली पक्षधर जसरी पनि बैठक रोक्ने पक्षमा छ । त्यसका लागि पहिलो चरणमा ओली पक्षले पूर्व एमाले समूहका नेतासँगको भेटघाट र छलफललाई तीव्रता दिएसँगै नेकपा भित्रको संकट भुसको आगोझैं भित्रभित्रै सल्किएको छ । हिजो मात्रै अध्यक्ष ओलीले उपाध्यक्ष वामदेव गौतमसँग लामो छलफल गरेका थिए भने आज वरिष्ठ नेता माधव नेपालसँग छलफल गरी आफ्ना कमीकमजोरी स्वीकार गरेको नेपाल निकट स्रोतले प्रदेशखवरलाई बताएको छ ।
ओली र अर्का नेता इश्वर पोखरेलको सक्रियता बढेसँगै अर्का अध्यक्ष प्रचण्डले पनि पूर्व एमालेमा रहेका स्थायी समिति सदस्यहरुसँग एक्ला एक्लै भेट गरेर आफ्नो समूहमा ल्याउने प्रयत्न थालेका छन् ।
बाहिर माधव नेपाल र बामदेव गौतमका विषयमा जती प्रचारवाजी भएका छन् भित्र त्यस्तो छैन, उहाँहरु ओलीलाई साइजमा ल्याउने, गलाउने वा कमजोरी स्वीकार गर्न लगाउने पक्षमा छन् । नेपाल पक्ष प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद छोड्दा राम्रो हुन्छ भन्ने सुझाव दिने पक्षमा छन् । विगतमा ओलीबाट पटक पटक धोका र अपमान पाएको भन्दै नेपाल पक्ष यसपटक भने उधारो सहमति नगर्ने पक्षमा देखिएका छन् । जुन कुराले पूर्व प्रचण्ड पक्षधरलाई फाइदा पुगिरहेको छ । तर प्रचण्ड पक्षधर ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटाउने रणनीतिमा देखिन्छ ।
बजेट अधिवेशनसम्म सत्ताच्यूतको योजना !
प्रधानमन्त्री ओली र नेपालका बीचमा भोली स्थायी समितिको बैठक बोलाउने अनौपचारिक सहमति भएको छ । सरकार र पार्टीमा आफ्नो भूमिका बलियो बनाउन पाए नेपालले प्रचण्डलाई साथ दिने छैनन् । यस्तो अबस्थामा बजेट अधिवेशन अगाबै राजिनामा दिन बाध्य पार्ने रणनीतिलाई प्रचण्ड पक्षले अख्तियार गरेको देखिन्छ । कांग्रेस सभापति शेरवहादुर देउवासँग चुनाबी मोर्चाबन्दी गरेका प्रचण्डलाई कांग्रेसबाट आफ्नो अनुकुलका निर्णय गराउन अप्ठेरो पनि छैन । त्यसो त देउवा पनि सँधै सत्ताकै बरिपरि बस्ने व्यक्ति हुन् । उनले त्यसका निम्ती कांग्रेसलाई सिध्याउने निर्णय विगतमा नगरेका पनि होइनन् ।
कांग्रेसलाई सदन अवरुद्ध गर्न लगाउने र पार्टीबाट दबाब सिर्जना गरी पद त्याग गर्न लगाउने बलियो अस्त्र प्रचण्डका सामु छँदैछ । जनयुद्धका समयमा कहिले बाबुराम, कहिले मोहन बैध वा नारायणकाजीलाई मुसा बिरालोझैं खेलाएर आफ्नो गुट बिलयो बनाएका प्रशस्तै उदाहरणहरु छन् । यस्तो अबस्थामा सत्तारुढ दलभित्रै सांसद किन बेचका काण्डहरु दोहोरिने अबस्था पनि देखिंदैछ ।
संसदमा नेकपाको शक्ति शन्तुलन !
२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार टिकाउनका लागि प्रधामन्त्री ओलीलाई बहुमतका लागि १३८ जना सांसद चाहिन्छ । अहिले नेकपासँग अत्यधिक बहुमत अर्थात, कुल १७४ सांसद छन् । यीमध्ये पूर्वएमालेबाट १२१ र पूर्वमाओवादीबाट ५३ जना सांसद प्रतिनिधिसभामा रहेका छन् ।
पूर्वएमालेबाट प्रत्यक्षमा ८० र समानुपातिक ४१ सांसद छन् भने पूर्वमाओवादीबाट प्रत्यक्षमा ३६ र समानुपातिकतर्फ १७ सांसद छन् । पूर्वएमालेका १२१ मध्ये ओलीको ७८, माधव नेपालको ४३ सांसद छन् ।
यो हिसाबमा फेरबदल आएन भने नेकपाको संसदीय दलमा बहुमत नगुमाउन र दलको नेताबाट हटाउने योजना असफल पार्न ओलीलाई एक दर्जन सांसद आवश्यक पर्नेछ ।
यदी पूर्वमाओवादीका सबै सांसद प्रचण्डकै पक्षमा रहेभने उनीसँग ५३ जना रहनेछन् । माधव नेपाल, झलनाथ र वामदेव पक्षका बाँकी सांसद एकै ठाउँमा उभिँदा दलको नेताबाट ओलीलाई हटाउन संख्या पुग्छ भन्ने प्रण्चडको गणित छ तर प्रचण्डले भनेजस्तो पूर्व माओवादीका सबै सांसद उनको पक्षमा छैनन् । प्रचण्डले जनयुद्धका बेला देखीनैं बादललाई भित्तामा पु¥याउँदै आए । गृहमन्त्रीबाट हटाउन निकै जोडबल नगरेका पनि होइनन् । जव ओलीसँगकै सम्बन्धमा प्रचण्डको चिसोपना आएपछि ओलीकै कारण वादलले निरन्तरता पाएको देखिन्छ । पार्टीनै विभाजन गरेरै भएपनि सत्तारोहण गर्ने पक्षमा नारायणकाजी श्रेष्ठ पनि छैनन् । प्रचण्डले पनि श्रेष्ठलाई पटक पटक धोखा दिएको र अहिलेकै अबस्थामा ओलीलाई सत्ताच्यूत गराउने भन्दा पनि बिधी र पद्धतिमा पार्टी सञ्चालन हुनुपर्छ भन्ने पक्षमा दृढभन् । यस्तो अबस्थामा श्रेष्ठ र नेपालको मत मिलेको छ ।
पार्टी एकतापछि ओली र प्रचण्डले विधी र पद्धतिलाई कुल्चँदै पार्टीलाई एकलौटी ढंगले सञ्चालन गरेर आफुहरुमाथि अन्याय गरेको पिडा माओवादी पक्षका धेरैले महशुश गरेको सन्दर्भमा प्रचण्डको सत्तारोहणको गणित गलत हुनेछ ।
राजनैतिक चलखेल दाउपेचका घटना बढ्दैजाँदा मन्त्रीपदको लोभमा केही संख्या यताउति हुन सक्ने सम्भावना हुन्छ । किनभने, कतिपय सांसदहरुले अहिले नै कित्ता परिवर्तनका लागि दौडधूप थालिसकेका छन् । यो अवस्थामा सांसदहरुको किनबेच र प्रलोभनका खेलहरु हुनेछन् । यो खेलमा सबैभन्दा बढी आर्कण अध्यक्ष ओलीको पक्षमा देखिने छ । किनकी अन्यलाई भन्दा थोरै संख्यामात्रै आफ्नो पक्षमा पार्ने र केहीलाई मध्यमार्गीका रुपमा उभ्याउने ताकत ओलीभन्दा अरुपमा देखिंदैन ।
यता प्रचण्ड पक्षका नेताहरु चाहिँ संसदीय दलमा ओलीले बहुमत गुमाइसकेकोमा ढुक्क देखिएका छन् ।
यदि राजतीति तहमा कुरो मिल्यो भने नेकपाको अन्तरविरोध गणितीय चरणमा प्रवेश नगरी टर्नेछ । तर, यसका लागि माधव नेपाल पक्षलाई ओलीले विश्वासमा लिएर सत्ता र पार्टीमा जिम्मेवारी सुम्पने बाचालाई लिखितै गरेर जानुपर्ने छ, अन्यथा ओलीले दुवै पद गुमाउनुपर्ने नेपाल पक्षका नेताहरुले आज भएको ओली नेपाल सम्वादमा उठेको स्रोतको दावी छ ।
पार्टी विभाजनको अवस्थामा नपुग्दासम्म नेकपाका कतिपय सांसदहरु आफ्नो कित्ता प्रष्ट पार्न पनि चाहँदैनन् । जव पार्टी विभाजन हुने अबस्था आउँछ त्यस बेलामात्रै उनीहरुको कित्ता प्रष्ट हुने विगतको बिभाजनले देखाइसकेको छ ।
अहिलेकै अबस्थामा अध्यक्ष ओली र बरिष्ठ नेता नेपालका बीचमा सहमति जुटेन सकेन भने नेकपामा सल्किएको भुसको आगो डँढेलोमा परिणत हुनेछ । जसले गर्दा तमाम पार्टी कार्यकर्ता र नेपाली जनताको सिंगो कम्युनिष्ट पार्टी र उसकै नेतृत्वमा दुईतिहाईको सरकार सञ्चालनको चाहना र कार्यदेश क्षणभरमै चकनाचुर हुने निश्चित छ ।