ओमिक्रोन अनुभवः निकै अप्ठेरो महशुस भयो

पहिलो र दोस्रो लहरको कोरोना संक्रमणबाट जोगिएकै थिएँ । त्यसबेला पनि २ पटकनैं पिसिआर जाँच गराएँ पनि । त्यसबेलाको रिपोर्टमा मलाई कोरोना पोजेटिभ देखिएन । तर कार्यालयका अन्य सहकर्मीहरुमा संक्रमण पुष्टि भएपछि केही समय त अत्याबत्सक सेवा बाहेक सबै ठप्पनैं थिए । त्यस बेला कमलामाई नगरपालिकाले ज्याला मजदुरी गर्ने र दैनिक रुपमा काम गरेर बिहान बेलुकाको छाक टार्ने नागरिकहरुका लागि राहत प्याकेजको घोषणा गरेर अशक्त र बुढापाकाहरुका लागि घरमा र बयस्कहरुका लागि सम्बन्धित वडा कार्यालयहरु मार्फत खाद्य सामाग्री बितरण गरेकै हो । सिन्धुलीका स्थानीय तह मध्ये कोरोना कहरका बीच कमलामाईले नागरिकको जीवन रक्षका लागि देखाएको सक्रियता आफैंमा भरोसा योग्य र अब्बलनैं थियो । आम सेवाग्राही र सञ्चामाध्यममा आएका बिबरणहरुले पनि त्यही कुराको पुष्टि गर्दछ ।
कोरोना संक्रमणले सिंगो देशकै अर्थतन्त्रमाथि गंभीर संकट पैदा गरेका बेला लामो कालखण्ड अगाडिबाटै नगरपालिका बनेको भएपनि यहाँका कुना कन्दराले भर्खरै मात्रै थोरै भएपनि नगरपालिका भएको अनुभूति गर्न सकेका बेला त्यसको असरले समग्र विकासको गतिमा अबरोध सिर्जना गर्नु कुनै अनौठो कुरा होइन ।
सधैँ सकारात्मक मात्रै समाचारमा पढिरहने मेरो चिन्तनमा फेरी कोरोनाको ओमिक्रोन भेरियन्टले चिन्तित बनायो । चिनजानका साथी भाई र आफन्तजनलाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको रुघाखोकी आएकै थिए । तर मलाई भने त्यस्तो कुनै संकेत थिएन । तर जव आफैँमाथि कोरोेनाका लक्षण जस्तै देखिनेगरी ज्वरो र दुखाई हुन थालेपछि भने निकै ठूलो तनाव हुँदोरहेछ । कसरी संक्रमण भयो ? अब के हुने हो भन्ने चिन्ताले पिरोल्दोरहेछ ।
कोरोना संक्रमणजस्तै लक्षण देखिएपछि मैले सबैभन्दा पहिले परिवारलाई जानकारी गराएको थिएँ । चिन्ता नलिन भनेँ । त्यसपछि कार्यालयका प्रमुख र सहकर्मीसाथीहरूलाई पनि सो कुराको जानकारी गराएँ । परिक्षण गराउनु पर्ने भयो भनेर स्वास्थ्यकर्मीसँग पनि कुराकानी गरियो । परिक्षण गराउँदा पोजेटिभनैं देखाउने हो । के गर्ने भनेर उल्टै मलाईनैं प्रश्न गरेपछि ल ठिकै छ भनेर फोन राखें । कार्यालय प्रमुख सरले तनाव नलिनुहोस्, मलाई पनि केही समय अगाडि त्यस्तै भएको थियो । केही दिन घरमैं आराम गर्नुहोस् भन्नुभयो ।
कार्यालय प्रमुखको निर्देशन अनुसार म कार्यालयमा भने गइनँ । हन्हन्ती ज्वरो आएको थियो भने घाँटीमा च्याप्प समातेझैं भएको थियो । घर परिवारका सदस्यले वारम्वार फोन गर्दा त कलिबेला कुरा गर्न पनि संिकंदैनथ्यो । उहाँहरूले मेरो स्वास्थ्यको निकै ख्याल गर्नुभयो । अचम्म त के भने मलाई कहाँबाट कसरी संक्रमण भयो, त्यो भने अझै थाहा हुन सकेको छैन । थोरै पनि बेहोसियार भइयो भने संक्रमणको उच्च जोखिम हुँदोरहेछ । लक्षण नदेखिने भएपछि संक्रमणको जोखिम झन बढ्ने रहेछ ।
ज्वरो आएपछि घरमा बस्दा मैले धेरै तातो पानी खाएँ । लसुन, अदुवा, बेसारजस्ता खानेकुरा बढी खाएँ । मांसाहारीभन्दा शाकाहारी र प्राकृतिक खानामा बढी जोड दिएँ । यस्तो अबस्थामा धेरै कमजोरी महसुस हुँदोरहेछ, त्यसैले पनि स्वस्थकर खाना धेरै खानुपर्दोरहेछ । संक्रमण हुँदैमा डराइहाल्नु होइन रहेछ । तर, लापरवाही पनि गर्न नहुने रहेछ । उच्च मनोबलले सजिलै र छिटै कोरोनासँगको लडाइँ जितिने अनुभव मैले गरेको छु । मनोबल कमजोर भयो भने मानिस डिप्रेसनमा जाने र अरू समस्यासमेत बढ्दै जान सक्ने सम्भावना हुँदोरहेछ । कतिपय मानिस संक्रमित भएपछि डराएर, आत्तिएर बढी समस्यामा परेको पनि देखियो । त्यसैले उनीहरूलाई ढाडस दिने, हौसला दिएर मनोबल बढाउन मद्दत गर्नु आफन्त, साथीभाइ र हामी सबैको कर्तव्य हो । कोरोना संक्रमण भएकैमा कसैलाई छिः छिः, र दुरदुर गर्नु अमानवीय त हुँदै हो, त्यसले परिस्थितिलाई थप विकराल बनाउने सम्भावना पनि रहन्छ । हाम्रो देशमा अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन छिटो सर्ने भएपनि त्यसको मृत्युदर न्यून भएकाले पनि आत्तिनुपर्ने अबस्था छैन, तर उच्च साबधानी भने जरुरी छ ।
कोरोनाको औषधि अहिलेसम्म बनेको छैन । त्यसैले कोरोना जित्ने एउटै उपाय बलियो आत्मबल, स्वस्थकर खानपिन, यथेष्ट आराम, सकारात्मक सोच, डाक्टरप्रतिको भरोसा र आफ्नो बानी व्यवहारमा परिवर्तन गर्नुनंै हो ।
अहिले संक्रमणमुक्त भएर म मेरो नियमित काममा फर्किएको छु । बढी जनसम्पर्क हुने र जनतसँग प्रत्यक्ष जोडिने कार्यालय भएकाले पनि हामीहरु घरमैं बसिरहन सकिन्न । किनकी मैंले हन्हन्ती ज्वरो आएका बेला पनि केही अफिसियल काम गरें । त्यो मेरो जिम्मेवारी पनि हो । अहिलेको कोरोना लाग्दैमा कोही मरिहाल्दैन, जीवन समाप्त भइहाल्दैन । संक्रमितको हौसला बढाउने काम गर्नुहोस्, कोरोनामाथिको जित निश्चित छ । खोकी, ज्वरो, रुघा वा टाउको दुख्दैमा कोरोना संक्रमण भएको हो भन्न मिल्दैन । लक्षण नदेखिएका मानिसमा पनि कोरोना पोजेटिभ देखिएका छन् । कोरोनासँग मिल्दो लक्षण देखिएका मानिसलाई कोरोना संक्रमण नभएको उदाहरण थुप्रै छन् ।
यो रोगले धनी, गरिब, ठूलो, सानो, नेता, जनता, डाक्टर भन्दैन । त्यसैले सबैजना सतर्क र सुरक्षित रहौं । संक्रमणभन्दा पनि बढी असर मनोविज्ञानले पार्ने रहेछ । त्यसैले संक्रमित व्यक्तिलाई माया ममताको बढी खाँचो हुन्छ । संक्रमितलाई अपमान होइन, मायाँ दिनुपर्छ । सबै संक्रमितको मनोविज्ञान बलियो बनाउन सबैले मद्दत गरिदिनुहोला । संक्रमण देखिएपछि स्वाभाविक रूपमा एकछिन डर लाग्छ । तर, डरलाई जित्नैपर्छ । डरलाई जित्दानैं रोगलाई जित्न सकिन्छ । त्यसैले सबैभन्दा पहिला आफ्नो स्वास्थ्यलाई ख्याल गरौं । सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गरौं । लेखकः कमलामाई नगरपालिकाका लेखा अधिकृत हुनुहुन्छ । (साभारः कमलामाई लेखमाला)