राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा मतदान सुरु

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ। बिहान ९ बजेपछि मतदान सुरु भएको हो। 

प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला  विराटनगर, मधेश प्रदेशमा महेन्द्रनारायण निधि भवन र बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा मतदान सुरु भएको छ। 

यस्तै गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदान सुरु भएको छ,। 

राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ मतदाताले भोट खसाल्नेछन् । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । उनीहरूको मतभार क्रमशः १ भोट बराबर ४८ र  १८ रहेको छ । 

आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र  नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा,  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा छन्।

 निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्।