ज्येष्ठ नागरिकलाई कमलामाईको पौष्टिक आहार

सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ७ की १०१ वर्षीया मनमायाँ तामाङको अगाडि नगरप्रमुख खड्गवहादुर खत्रीले हातजोड्दै भन्नुभयोः आमा हामी तपाईलाई दुध दिन आएका हौं । नगरप्रमुख खत्रीको भनाई सुनेपछि उनी पहिला त छक्क परिन् र भनिन्ः तपाई को हो ? उनको प्रश्नपछि मुस्कुराउँदै खत्रीले भन्नुभयो, म तपाईको छोरा खड्ग खत्री हो । उहाँले नाम सुनाएपछि बल्ल उनले सहजै चिनिहालिन् । त्यसपछि दैनिक १ लिटर दुधको हिसावले वार्षिक रुपमा अर्थिक बर्ष साउन देखी मंसिर महिना सम्मको एकमुष्ट रकम १२ हजार २ सय ४० रुपैयाँ रकम उहाँको हातमा थमाई दिनुभयो । आमा यो रकम तपाईलाई हामीले दुध किनेर खानुहोस् भनेर दिएका हौं, घर परिवारका सदस्यलाई यो कुरा बताउनु होला । हातभरी पैसा सामाएकी बृद्धा तामाङमा हर्षको कुनै सिमानैं थिएन । वडा नं ७ का वडाध्यक्ष एवम् सामाजिक शाखाका कर्मचारीमाझ उनले कमलामाई नगरपालिका आफुहरुको संरक्षक भएको बताएकी थिइन् ।
कमलामाई नगरपालिका वडा नं. १ कि जितकुमारी आले र वडा नं. ४ की विष्णुमाया श्रेष्ठलाई नगर उपप्रमुख मञ्जु देवकोटाले गएको साउन महिनादेखीको दैनिक १ लिटर दुध बापतको रकम हातमा राखिंदिंदा आँखाबाट आँशुका बलिन्द्र धारा खसिरहेका थिए । उपप्रमुख देवकोटाले कमलामाई नगरपालिकाको तर्फबाट तपाईहरुलाई दैनिक १ लिटर दुध किनेर खानका लागि यो रकम दिएका हौं, त्यसलाई सही सदुपयोग गर्नुहोस् भन्दा उनीहरुले अँगालो हालेका थिए । नगरपालिकाले २१ जना ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप नगरपालिकाले दैनिक एक लिटर दूध उपलब्ध गराउने निर्णयलाई अहिले कार्यान्वयन गराइरहेको छ ।
नगर क्षेत्रका सय वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको हेरचाह र शारीरिक अवस्था तन्दुरुस्त रहन सहयोग पुगोस् भन्ने उद्देश्यले गत साउन महिनादेखि नै उनीहरूलाई दैनिक एक लिटर दूध उपलब्ध गराउन सुरु गरेको सामाजिक विकास शाखाकी प्रमुख सत्यदेवी अधिकारीको भनाई छ ।
नगरपालिकाले कार्यालयसम्म आउन नसक्ने जेष्ठ नागरिकका लागि दुध वापतको रकम घरसम्मै लगेर बितरण गर्दै आएको शाखा प्रमुख अधिकारीले बताउनुभयो ।
कार्यालयका तर्फबाट केही जेष्ठ नागरिकलाई मात्रै घरमा पु¥याईएको र अधिकांशका आफन्तजनलाई उपलव्ध गराइएको छ । स्मरणीय छ नगरपालिका भित्र १ सय वर्ष माथिका २१ यो सुविधा प्राप्त गरिरहेका छन् । अघिकारीका अनुसार जेष्ठ नागरिकले दैनिक ९० रुपैयाँमा १ लिटर दुध किनेर खाएको विल तथा भपाई आफन्तजन मार्फत सामाजिक विकास शाखामा उपलव्ध गराएपछि भुक्तानी दिइने गरिएको छ ।
कमलामाई नगरपालिकाले दुग्ध डेरी मार्फत दैनिक रुपमा जेष्ठ नागरिकलाई दुधनै उपलब्ध गराउने योजना बनाए पनि संभव नभएपछि किन्दा लाग्ने खर्चको एकमुष्ट रकम बितरणगर्दै आएको सामाजिक शाखाले बताएको छ । सिन्धुली जिल्लाका नौं स्थानीय तहमध्ये जेष्ठ नागरिकलाई पौष्टिक आहार बितरण गर्ने कमलामाई नगरपालिका पहिलो मानिएको छ । दिपा भण्डारी: (साभारः कमलामाई लेखमाला)