कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि नागरिक निगरानी समूहले बुझायो प्रशासनलाई ज्ञापनपत्र !

सिन्धुलीमा बिहीबार ४३ जनामा कोरोना भाइरसका सङ्क्रमण पुष्टि भएको छ । ५७ जनामा गरिएको परीक्षणमा ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार जिल्लामा बुधवार ३३ जनामा सङ्क्रमण पुष्टि भएकोमा बिहीबार ४३ जनामा सङ्क्रमण पुष्टि भएसङै सङ्क्रमितको सङ्ख्या १६२ पुगेको छ ।

यसैबीच नागरिक निगरानी सञ्जाल, सिन्धुलीले बिहीबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा ध्यानाकर्षण पत्र बुझाएको छ । सञ्जालका अध्यक्ष वेदराज दाहालले सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिटौलालाई ध्यानाकर्षण–पत्र बुझाउनु भएको हो ।
सञ्जालले सिन्धुलीमाढी लगायतका बजार केन्द्रमा कडा स्वास्थ्य सुरक्षाको मापदण्ड प्रयोग गर्न गराउन माग गरेको छ । ध्यानाकर्षण पत्रमार्फत कोभिड विरुद्धको बुस्टर डोज खोपको तत्काल व्यवस्था मिलाउन, अस्पतालमा पर्याप्त अक्सिजन लगायतको उपचारको व्यवस्था सहित तयारी अवस्थामा रहन, स्वास्थ्य मापदण्डको प्रयोग नगर्ने व्यवसायी तथा उपभोक्तालाई कडा कारबाहीको व्यवस्था मिलाउन, जिल्ला भित्रने नाकामा जाँच सहितको हेल्थ डेस्क स्थापना गर्न माग गरेको छ ।
सङ्क्रमितलाई अनिवार्य आइसोलेसनमा बस्न लगाई आवश्यक अनुगमनको व्यवस्था मिलाउन, कोभिड परीक्षणको दायरालाई बढाउन, एम्बुलेन्स सेवालाई प्रभाकारी र सहज बनाउन, जिल्ला कोभिड–१९ विपत् व्यवस्थापन केन्द्रको कामलाई थप चुस्त, दुरुस्त र प्रभाकारी बनाउन, मानिसको भिडभाड हुने सबै खालका सभा, भेला, बैठक, छलफल, तालिम समेत तत्काल बन्द गर्न, जिल्ला र स्थानीय स्तरको अवस्था विश्लेषण गरी राजनीतिक दल, नागरिक समाज तथा विज्ञको सुझाव लिई यथोचित निर्णय लिन माग गरेको छ ।
मापदण्डको पालना भए नभएको अनुगमन गर्नको लागि संयन्त्र निर्माण गरी कडा अनुगमनको व्यवस्था गर्न, बजारमा उपभोग्य सामानको कृतिम अभाव र मूल्यवृद्धि हुनसक्ने अवस्थालाई ध्यानमा राखी उचित अनुगमन र व्यवस्थापन गन, दैनिक मजदुरी गरेर खाने वर्गलाई उचित राहतको व्यवस्थापन गर्न र जिल्ला स्थित कोभिड अस्पताललाई पर्याप्त जनशक्ति सहित व्यवस्था गर्न माग गरेको छ ।

६५ महिला र ९७ पुरुष गरि १६२ जना होम आइसोलेसनमा बस्दै आएका छन् ।