भारतले नेपालसँगको सीमा विवादबारे मुख खोलेको छ । काठमाडौंस्थित दूतावासले शनिबार प्रेसनोट जारी गर्दै सीमा विवादबारेका पछिल्लो विवादबारे भारत सरकारको धारणा सार्वजनिक गरेको छ ।
नेपालसँगको सीमालाई लिएर आफ्नो सरकारको अडान यथावत रहेको उल्लेख गर्दै भारतले यसबारे नेपाल सरकारलाई जानकारी गराइसकेको जनाएको छ ।
‘भारत-नेपाल सीमालाई लिएर भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ । नेपाल सरकारलाई यसबारे जानकारी गराइसकिएको छ’ भारतले उल्लेख गरेको छ ।
यो बहस र विवादलाई लिएर अन्तर सरकारी संयन्त्रबीच संवाद भैरहेको बताउँदै भारतले बाँकी सीमा समस्यालाई घनिष्ठ र मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्धको आधारमा सम्बोधन गर्न सकिने समेत बताएको छ ।
यसै महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राज्य उत्तराखण्डको चुनावी र्यालीलाई सम्बोधन गर्दै नेपाली भूमि लिपुलेकमा सडक विस्तार भैरहेको र सन् २०२२ अन्त्यसम्म त्यहाँ पक्की सडक बनाउने तयारी भैरहेको जनाएका थिए ।
मोदीको उक्त अभिव्यक्तिलाई लिएर काठमाडौंको राजनीतिक र कूटनीतिक वृत्त तरंगित बनेको छ । सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, मुख्य प्रतीपक्षी एमाले, राप्रपा, विवेकशील लगायतका दलले आपत्ति व्यक्त गरेका छन् ।
सरकारकै नेतृत्व गरिरहेको दल कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै मोदी अभिव्यक्तिको विरोध गरेका छन् । दुई महामन्त्रीको उक्त विज्ञप्तिलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाबको रुपमा हेरिएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले भारतसँग सम्बन्ध हार्दिक बनाउन चाहेका छन् ।
यसैसाता उत्तर छिमेकी चीनले पनि विज्ञप्ति जारी गर्दै नेपालसँग सीमा समस्या नरहेको कुरा दोहोर्याएको छ ।