एमाले सिन्धुलीको सातौँ अधिवेशन: १० बुदे समसामयिक प्रस्तावहरू पारित

नेकपा एमाले सिन्धुलीको हालै सम्पन्न भएको  सातौँ अधिवेशनले १० बुदे समसामयिक प्रस्तावहरू पारित गरेको छ । १०३ सदस्य नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको अधिवेशनले समसामयिक प्रस्तावहरू पारित गरेको हो । 

बुधवार १० बुदे समसामयिक विषयहरू पास भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुली जिल्लाको सातौँ जिल्ला अधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष एवं जिल्ला इन्चार्ज गणेश कुमार पहाडीले जानकारी दिनुभयो । स्वाधीनता, लोकतन्त्र र सामाजिक आर्थिक रूपान्तरणको आन्दोलन र क्रान्तिमा संलग्न हुने क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सहिद ऋषि देवकोटा आजाद, दुर्गा सुवेदी, दलबहादुर रजन मगर, सम्झना दाहाल, पुस्ना मुकर, शेरमान कुँवर लगायत सम्पूर्ण सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आदर्शलाई निरन्तर अनुसरण गरिरहने सङ्कल्प गरेको उहाँले बताउनुभयो । 

पूर्ववर्ती नेकपा एमालेको सरकारले गठन गरेको भूमि सम्वन्धि समस्या समाधान आयोग वर्तमान गठबन्धन सरकारले विघटन गरेर सो समस्या समाधान गर्न लापरवाह वनेकोमा खेद प्रकट गर्दै अविलम्ब भूमि सम्वन्धि समस्या समाधान गर्न सरकारसँग जोडदार माग गर्ने प्रस्ताव पारित गरेको जानकारी दिनुभयो । लिम्पियाधुरामा भारतले भर्खरै सडक निर्माण कार्य गर्दा पनि वर्तमान गठबन्धन सरकारले विरोध नजनाएर लाचारी प्रकट गरेकोमा यो अधिवेशन खेद प्रकट गर्दै राष्ट्रिय अस्मितामाथि अतिक्रमण भइरहँदा पनि निस्प्रभावि भएर वसीनरहन वर्तमान सरकारलाई सचेत गराउने प्रस्ताव पारित भएको उहाँको भनाई छ । गठबन्धन सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा पूर्ववर्ती सरकारले ल्याएका धेरै विकास निर्माणका परियोजना जनताको हितसँग जोडिएका निर्णय एवं नियुक्तिहरुलाई उल्ट्याउने गठबन्धन सरकारको यस्तो निर्णय र कदमको घोर विरोध गर्ने,  अधिवेशन आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न आफ्ना पालिकाहरूमा पार्टीको विजय सुनिश्चित गर्न र यसका लागि आवश्यक संगठानात्मक व्यवस्था मिलाउन सबै कमिटी र कमरेडहरूलाई आव्हान गर्ने, पुनः फैलिँदै गएको कोभिड महामारी नियन्त्रणका लागि पूर्व सरकारले गरेको खोप लगायतका प्रवन्धहरुलाई व्यवस्था गर्न वर्तमान गठबन्धन सरकारले हेलचेक्र्याइँ गरेकोमा यो अधिवेशन विरोध गर्दछ र महामारी नियन्त्रणको व्यवस्था मिलाउन यो अधिवेशन सरकार समक्ष जोडदार माग गर्नुका साथै कोभिड नियन्त्रणमा निरन्तर क्रियाशील स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मीहरू लगायत अग्रपंक्तिमा रहेर काम गर्ने सबैलाई सातौँ अधिवेशन हार्दिक धन्यवाद दिएको छ । 

जनजीविकाको विषयहरू पेट्रोलियम पदार्थ, एलपी ग्याँस, खाने तेल लगायत दैनिक उपभोग्य वस्तुहरूमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि, कालोबजारीलाई नियन्त्रण गर्न, किसानका लागि आवश्यक मलवादको व्यवस्था तत्काल गर्न, बेमौसमी वर्षाका कारण पीडित किसानहरूलाई दिने भनी घोषणा गरिएको राहत तत्काल उपलब्ध गराउन र उखु किसानहरूले प्राप्त गर्नुपर्ने रकम तत्कालै पाउने व्यवस्था गर्न यो अधिवेशन वर्तमान सरकारसँग जोडदार माग गरेको छ । केही वडाहरूमा वर्षेनी जङ्गली हात्तीबाट धनजनको क्षति हुँदै आएको ब्यहोराको ध्यानाकर्षण गराउँदै यसको रोकथाम र नियन्त्रण गर्न सरकार समक्ष माग गर्दै पीडित घरपरिवारलाई उचित क्षतिपूर्तिको प्रबन्ध गर्न जोडदार माग गरेको छ ।

 अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न योगदान पु¥याउनु हुने जिल्ला अधिवेशन आयोजक कमिटी, सम्पूर्ण प्रतिनिधिहरू, पर्यवेक्षक, निर्वाचन कमीटी, माइन्युट कमिटी, वहस नोट कमिटी, विभिन्न उपसमितिहरु, सन्चारकर्मीहरु, कलाकारहरु, जनसँगठनहरु, स्थानीय जनसमुदायहरु, जनप्रतिनिधीहरु, सुरक्षाकर्मीहरू, होटल व्यवसायीहरु, उधमी/व्यवसायीहरु  र सम्पूर्ण जिल्लावासीहरुलाई धन्यवाद व्यक्त गर्दै अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न प्रतिस्पर्धात्मक विधिवाट स्वच्छ एवं पारदर्शी ढंगबाट नेतृत्व छनौट गर्न सहयोग पु¥याउने निर्वाचन कमिटीलाई विशेष धन्यवाद दिएको छ ।