माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दातृ राष्ट्रको सहयोग लिने विषयमा माओवादीको कुनै असहमति नरहेको बताएका छन्।
प्रथम राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा सम्पादकसँगको अन्तक्र्रियामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीसम्झौताभित्र रहेका विषयमा जनताले उठाएका चासोलाई निरुपण गर्नुपर्ने बताए। उनले एमसीसीका विविध पक्ष केलाउन गठबन्धनले कार्यदल बनाएर अध्ययन थालेको बताए।
‘माओवादी एमसीसीको विरोधी होइन तर जनताले नै बहस चाहेको हुनाले संशोधन गर्नुपर्ने विषय संशोधन गरेर अगाडि बढ्नुपर्छ भनिएको हो,’ उनले भने, ‘तीन सदस्यीय टोलीले अहिले अध्ययन गरिरहेको छ। आएको सुझावअनुसार नै अगाडि बढ्छ।’ यसअघि पनि विभिन्न दातृ राष्ट्र तथा निकायले दिएको सहयोग नेपालले लिँदै आएको स्मरण गराउँदै अध्यक्ष दाहालले एमसीसी सम्झौतामा उठेका प्रश्नको भने निरुपण हुनुपर्ने बताए।
सत्ता गठबन्धनले एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेको कार्यदल गठन गरेका छन्। कार्यदलले प्रारम्भिक छलफल थालेको छ।











