देशभर बढ्यो चिसो, काठमाडौंको तामक्रम ३ मा झर्यो, हुम्लामा माइनस ६.२ डिग्री, (हेर्नुस ३ दिनको मौसम)

काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ । राती र बिहानपख तापक्रम घट्न थालेपछि चिसो बढेको हो। काठमाडौं उपत्यकामा दिउँसो घाम लागेपनि साँझ बिहान भने चिसो बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८ः४५ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको हो ।

अधिकतम तापक्रम घटेर १७.४ डिग्रीमा पुगेको छ । त्यस्तै सबैभन्दा जुम्लाको तापक्रम कम छ । आज जुम्लाको तामपक्रम माइनस ६.२ डिग्री सेल्सियस छ। अधिकतमक तामपक्रम १४.४ डिग्री छ। यस्तै अहिले देशको पश्चिमी र मध्य तराई भू–भागका केही स्थानमा र पूर्वी तराईका थोरै स्थानमा हुस्सु कुहिरो लागेको छ।

आज बिहान ८ः४५ बजेको मौसमी अवस्थाअनुसार धनगढीको तापक्रम ४.२ डिग्री, नेपालगंजको ४.६, भैरहवाको ७.५, सिमराको ६, जनकपुरको ८ र विराटनगरको ८ डिग्री सेल्सियस रहेको छ। मौसम पूर्वानुमान महाशाखाले तराईका भू(भागहरुममा बिहानको समयमा हुसुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध छ।

यस्तो छ ३ दिनको मौसम अवस्था

०७८ पौष ५

दिउँसो : बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशभरि आंशिक बदली रहनेछ।

२०७८ पौष ६

दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ । प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

२०७८ पौष ७

दिउँसो : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।
राती : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।