नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसभित्र आम एकताको खाँचो रहेको बताएका छन्।
आज आयोजना गरिएको कार्यक्रममा नेता सिटौलाले राजनीतिलाई इमान्दारीको बाटोमा लैजान पार्टीभित्र आम एकताको खाँचो रहेको बताएका हुन्।
‘पार्टीभित्र आम एकता आवश्यक छ, आम जनतालाई कांग्रेससँग गाँस्न सक्नुपर्छ, कांग्रेसलाई व्यक्ति केन्द्रीत होइन पार्टी केन्द्रीत गराएर अगाडि बढाउनुपर्छ,’ उनले भने। राजनीति आफ्ना लागि होइन जनताका लागि हो भन्ने विश्वास दिलाउनुपर्ने उनको भनाइ थियो।
नेता सिटौलाले आफूसँग जोडिएका व्यक्तिलाई १४औं महाधिवेशनमा स्थापित गराएर छाड्ने बताएका छन्। ंअभाव, सङ्कट र दुःखमा साथ दिने साथीहरुका लागि उचित सम्मानका लागि मैले पहल गर्नेछु,’ उनले भने।
कांग्रेस केन्द्रीय सदस्य एवम् खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले पार्टीभित्रका गलत प्रवृत्तिको अन्त्य गर्दै पार्टीलाई थप बलियो र मजबुद बनाउनका लागि अगाडि बढ्नुपर्ने बताए।
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल, शिवप्रसाद हुमागाईँलगायतले समयसापेक्ष विचार अगाडि बढाउन सके मात्र कांग्रेस अगाडि बढ्न सक्ने बताए। उनीहरुले पार्टीको १४औं महाधिवेशनमा पार्टीलाई शक्तिशाली बनाएर अगाडि बढ्ने विश्वाससमेत व्यक्त गरेका थिए।
प्रदेश १ का नवनिर्वाचित सभापति उद्धव थापाले पार्टीको १४औं महाधिवेशनले कांग्रेसलाई थप बलियो बनाउने उल्लेख गरे।











