सुरक्षित वैदेशिक रोजगार सम्बन्धी कमलामाईको प्रोफाइल तयारी गर्न गणकहरूलाई तालिम

सुरक्षित वैदेशिक रोजगार सम्बन्धी नगर प्रोफाइल तयारीको लागि गणकहरूलाई दुई दिने तालिम सिन्धुलीमाढीमा सुरु भएको छ । कमलामाई नगरपालिकाका १४ वटै वडा बाट छनौट भएका गणकहरूलाई प्रोफाइल तयारीको लागि तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन सत्रमा सम्बोधन गर्दै कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले स्थानीय सरकारले दीर्घकालीन सोचले यो नगर प्रोफाइल तयार गर्न लागेकाले सही सूचना लिएर आउन गणकहरूलाई निर्देशन दिनुभयो । विवरणहरू तथ्यमा आधारित भएर भर्न आग्रह गर्दै प्रोफाइल तयार पछि नगरपालिकाले विदेशमा गएर धेरै पैसा कमाउने सपना देखेका युवालाई यही स्वरोजगार बनाउन सकिने बताउनुभयो ।
शैक्षिक बेरोजगारीले गर्दा विभिन्न प्रलोभनमा परेर शिक्षित युवा जनशक्ति नै गैर कानुनी तवरले विदेशमा पुगेको र उही फसेका समाचारहरू आई रहेकाले स्वदेशमा नै रोजगारी सिर्जन गर्ने कार्यमा अग्रसर हुन उहाँको युवालाई आग्रह रहेको छ । युवाको योजनामा कमलामाई नगरपालिकाले हातेमालो गर्ने समेत उहाँले बताउनुभयो ।
सरकार परिवर्तनका कारण स्थानीय सरकारले लक्ष्यका साथ बनाएका कतिपय कार्यक्रमहरू प्रभावित भएको भन्दै देशमा स्थिर सरकार भए देशमा कल कारखाना स्थापना हुने, व्यवस्थित कृषि प्रणालीको सुरुवात हुने भन्दै संघिय सरकार परिवर्तनले स्थानीय सरकारका महत्त्वपूर्ण कार्यक्रमहरू प्रभावित भएको बताउनुभयो ।
रिलिफ नेपाल सिन्धुलीको आयोजनामा सुरु भएको तालिम बिहीबार र शुक्रबार गरि दुई दिन संचालन हुनेछ  । ‘स्वदेशमा रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ’ भन्ने मूल नाराका साथ कमलामाई नगरपालिकाको प्रोफाइल तयार गर्न लागिएको सामी परियोजना संयोजक विजय दाहालले जानकारी दिनुभयो ।
कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सेवा प्रदायक रिलिफ नेपालले संचालन गर्दै आएको सामी परियोजना अन्तर्गत कमलामाई नगरपालिकाको सुरक्षित वैदेशिक रोजगार सम्बन्धी नगर प्रोफाइल बनाइने बताउनुभयो
वैदेशिक रोजगारीमा गएका, वैदेशिक रोजगारीबाट आएकाहरूको यथार्थ अवस्थाको बारेमा यस प्रोफाइलले जानकारी दिने र प्रोफाइल तयारी पछि स्थानीय सरकारलाई नीति तथा कार्यक्रम तर्जुमा गर्न सहज हुने उहाँको भनाई छ । हाल सम्म विदेश गएकाहरूको तथ्याङ्क सही नभएको र विदेशबाट फर्किएकाहरूको विवरण नै नभएकाले वैदेशिक रोजगारीबाट फर्किएका युवा जनशक्तिको समेत यस प्रोफाइलले विवरण दिने उहाँको भनाई छ । स्थानीय सरकारले प्रोफाइलका आधारमा योजना बनाउँदा स्वदेशमा नै रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।


तालिमको सामी परियोजनाका सुशासन अधिकृत भक्त राई कार्यक्रम अधिकृत भोजराज सुनुवारले तालिमको सहजीकरण गर्नु हुने भएको छ । विदेश गएका र फर्किएका व्यक्तिहरूको विवरण स्थानीय सरकारसंग यकिन नहुनुले पनि लक्ष्यका साथ योजना बनाईएपनि उपलब्धि सोचे अनुसार हुन नसकेको बताउनुभयो । तालिममा कमलामाई नगरपालिकाका १४ र दुधौली नगरपालिकाका १ गरि १५ जना गणकहरूको सहभागिता रहेको छ ।