नेकपा एमालेको निर्वाचन कार्यतालिका पूर्ण रुपमा प्रभावित हुने भएको छ। अहिलेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छैन।
बिहान १२ः०५ बजे अन्तिम नामावली प्रकाशित गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भए पनि अहिलेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छैन।
निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले प्रकाशित कार्यतालिकाअनुसार अहिले राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान हुने बताए पनि त्यो कार्यतालिकासमेत प्रभावित हुने भएको छ।
कार्यतालिकाअनुसार मतदान सुरु हुने भनिएको अवधि सुरु हुन दुई घण्टा मात्र बाँकी हुँदासमेत उम्मेदवारको अन्तिम नामावली टुंगो लाग्न सकेको छैन।
निर्वाचन आयोगका एक सदस्यका अनुसार अधिकत निर्विरोध रुपमा नेतृत्व चयनको कोशिस हुँदा अन्तिम नामावली प्रकाशन रोकिएको हो।
आयोगका अनुसार प्रदेश १ तर्फको महिला, सुदूरपश्चिमको खुला र महिला, दलित खुला, थारुतर्फको खुला र खुला केन्द्रिय सदस्यमा निर्विरोध चयन हुन सकेको छैन। निर्विरोध बनाउनका लागि अध्यक्ष ओलीसहितका नेताहरुले कोशिस जारी राखेका छन्।
अन्तिम नामावली टुंगिएको कम्तिमा ६ घण्टा भोटिङ मेसिन अपडेट गर्न समय लाग्ने बताइएको छ। मतदान राति हुनसक्ने सम्भावना कम हुँदै गएको छ। प्रतिनिधिहरु मतदानको पर्खाइमा छन्।
एमालेको १० औँ महाधिवेशनको निर्धारित अवधि आइतबार (मंसिर १० देखि १२) सम्म हो। सोमबार पनि महाधिवेशन नसकिने भएको छ।