प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो संयोजक

नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनअन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ।

आज साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले सातवटै प्रदेशमा संयोजक तोकेको हो।

बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, २ मा रमेश रिजाल, वाग्गमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजक बनाएको छ।

यस्तै बैठकले प्रदेश अधिवेशन गर्ने स्थान पनि तय गरेको छ। प्रदेश १ को अधिवेशन विराटनगरमा, २ को जनकपुर र वाग्मतीको हेटौंडामा हुनेछ। त्यसैगरी गण्डकीको अधिवेशन पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा गर्ने निर्णय गरेको छ।

प्रदेश अधिवेशन मंसिर १६ र १७ गते तोकिएको छ। 

अधिवेशनका लागि बनाइएको समितिमा सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद,  प्रदेश संसदीय दलका नेता, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू पदेन सदस्य रहने जनाइएको छ।

बैठकले पार्टीको केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको संयोजकत्वमा आवास तथा भोजन समिति गठन गरेको छ। कांग्रेस महाधिवेशन भने मंसिर २४ देखि २६ गतेसम्म हुँदैछ।