प्रधानन्यायाधीश राणाको ‘केही महिनापछि राजीनामा दिने’ प्रस्ताव अस्वीकार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावलाई अस्वीकार गरेका छन्।

केही महिनापछि राजीनामा दिने आशयसाथ न्यायाधीशहरुसमक्ष गरेको सम्मानजनक बहिर्गमनको प्रस्तावलाई मंगलबार बसेको न्यायाधीशहरुको बैठकले अस्वीकार गरेको हो।

न्यायाधीशहरु राणाले तत्काल राजीनामा दिनुपर्ने अडानमा यथावत रहेको स्रोतले जानकारी दियो। ९ दिनदेखि न्यायाधीशहरुले राणाको राजीनामा माग्दै इजलास बहिस्कार गरिरहेका छन्।

सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दा सुनुवाइ गर्न तयार भएका न्यायाधीशहरुले मंगलबार भने बन्दीको निवेदनसमेत सुनुवाइ गर्न अस्वीकार गरेका छन्।

न्यायाधीशहरुले वार्ताका लागि गठन गरेको तीन सदस्यीय टोलीसँग राणाले सम्मानजनक बहिर्गमनका लागि तयार रहेको बताएका थिए। तर सम्मानजनक बहिर्गमनको कुरा प्रस्ट नभएको र शंकाको दृष्टिले हेरेपछि न्यायाधीशहरु इजलासमा नगएका हुन्।

बुधबार भने बन्दीका निवेदनमाथि सुनुवाइ गर्ने न्यायाधीशहरुको तयारी रहेको स्रोतले जानकारी दियो।