कृषिजन्य कार्यमा अझै सावधानी अपनाउन आग्रह, केही स्थानमा वर्षाको सम्भावना

देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा अहिले पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।

अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। गण्डकी, बागमती र प्रदेश नं १ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैबिच देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।