सामूहिक बलात्कार घटनाका फरार आरोपित पक्राउ

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सामूहिक बलात्कार घटनाका फरार रहेका ६ मध्य ५ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले महोत्तरीको बर्दिबास र सिन्धुलीको खुर्कोटबाट पक्राउ गरेको हो । बर्दिबासबाट पक्राउ पर्नेमा कमलामाई नगरपालिका ५ बोझे घर भएका २० वर्षीय दीपक मगर, २३ वर्षीय अर्जुन मगर, २३ वर्षीय धन बहादुर बमजन, २१ वर्षीय मिलन लामा रहेका छन् । भारत तर्फ जाने तयारी गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।
यस्तै फरार रहेको आकाश मगर भक्तपुरमा लुकीछिपी बस्दै आएकोमा पुनः सिन्धुली तर्फ आउँदै गरेको अवस्थामा खुर्कोटबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । फरार रहेका विश्व राईको खोजी भई रहेको प्रहरीले जनाएको छ ।


साथै उनीहरूलाई भगाउन सहयोग गर्ने ६ जनालाई सवारी साधन सहित पक्राउ गरेको छ । कमलामाई नगरपालिका ४ का शिव देवकोटा, कमलामाई नगरपालिका ५ का संजिब मगर, प्रेम श्रेष्ठ, सुमन थापा, कमलामाई नगरपालिका ६ का मेघ बहादुर श्रेष्ठ र सर्लाही हरिवन नगरपालिका ८ का ईश्वर आलेलाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


उनीहरुले प्रयोग गरेको बा १० च १८३६ नम्बरको स्कार्पियो, प्रदेश २–०२–००३ प १२१० र प्रदेश २–०२–००४ प ५३७६ नम्बरको मोटरसाइकल समेत प्रहरीले  नियन्त्रणमा लिएको छ ।
असोज ३० गते बिहान २ बजेको समयमा कमलामाई नगरपालिका ५ लब्दाखोलाको बगर र बासको झ्याङमा नौ जनाको समूहले १५, १६ र १७ वर्षका बालिकालाई सामूहिक बलात्कार गरेका थिए ।, घटनमा सङ्लन मध्य तीन जना कमलामाई नगरपालिका ५ बोझे घर भएका २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षका विवेक मगरलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो ।