प्रचण्ड र माधब नेपालले घरेलु प्रतिकृयावाद र साम्राज्यवादको एकैसाथ सेवा गरे

क.केपी ओलीको नेतृत्वमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ऐतिहासिक सरकार पार्टी भित्रकै ठुला नेता भनाउदा केहि ब्यक्तिहरुको लहड र सनकको कारण ढलेको छ । प्रचण्ड र माधब नेपालको ब्यक्तिवादी महत्वाकांक्षा र निम्नपुजिवादी मनोवृत्तिको कारण कम्युनिष्ट पार्टीले प्राप्त गरेका ऐतिहासिक उपलव्धीहरु अहिले ओझेलमा पारिएको छ । कम्युनिष्ट पार्टी फुटाएर,लोकपृय ओली सरकार ढालेर कांग्रेसको देउवा सरकार बनाएर कम्युनिष्ट बिरोधी कार्यमा नयाँ किर्तिमान बनाएका प्रचण्ड र माधब नेपालले प्रतिकृयावादी कित्तामा उभ्याएर आफुलाई देश र जनता सामु निकृष्ट साबित गरेकाछन् ।

जनताले फालेको कांग्रेसलाई बोक्ने गतिला भरिया बन्ने सौभाग्य पाएकोमा प्रचण्ड र माधब नेपालहरु आफुलाई भाग्यशाली ठान्दैछन् । माथिको चरित्र र पात्र ब्यक्तिवादको पराकाष्टा नै हो । यसरी हेर्दा कम्युनिष्ट पार्टीलाई ब्यक्तिवादी अराजकताबाट बचाउन सकियो भने मात्रै सामुहिक प्रयत्नले समाजको रुपान्तरण सम्भव हुने रहेछ । माओवादी जनयुद्धमा प्राप्त सफलताको श्रेय लिने होडबाजीमा प्रचण्डको कुटिलता,गुटबाजी र सन्काहापनको कारण उनका वरिपरी थुप्रिएका हुडार जस्ता नेता कार्यकर्ताहरुले छ बर्षको अबधि मै माओवादी पार्टीलाई रसातलमा पुर्याई दिए ।

सत्तरी सालको सम्बिधान सभाको चुनाव त्यसको ज्वलन्त उदाहरण हो । २०७४ सालमा एमाले संग गठबन्धन नगरेको भए माओवादी केन्द्र पाँच सिटमा मात्रै सिमित हुन्थ्यो,एमाले संग गठबन्धन गरेकैले त्रिपन्न सिट जित्न सकेको थियो । नेपाली जनताले अस्विकार गरेको कांग्रेस पार्टीका सभापती शेरबहादुर देउवा सरकारको लँगौटी बनेका प्रचण्ड माओवादी र माधब नेपालको कोटरी अब आउने चुनावमा बाकी रहन्छ भन्ने कसैलाई पनि बिस्वाश छैन । पार्टी भित्र र बाहिरका शक्ति र ब्यक्तिहरुलाई एकापसमा लडाएर शक्ति हत्याउदै टिकेका प्रचण्ड माओवादीहरुको अब निर्णायक पतनको सुरुवात भएको छ । आगामी चुनावमा माओवादी पार्टी सम्पूर्ण रुपमा समाप्त हुनेछ ।

कांग्रेसको घोडा बनेर कम्युनिष्टको सरकार ढाल्ने प्रचण्डलाई नेपाली जनताले कठोर दण्ड दिने निश्चित प्राय छ । यसलाई हसि-मजाक वा बिरोधको रुपमा मात्रै बुझ्नु माओवादी केन्द्रको लागि श्मशानघाटको चितामा चढेको लाश डढेर खरानी बन्न क्षणिक समय लागे जस्तै हुनेछ । आगामी दिनमा हाम्रो पार्टी नेकपा (एमाले)ले पनि उपरोक्त दुर्घटनाबाट पाठ सिकेर सचेततापुर्वक पार्टी भित्र नीति कार्यक्रम र संगठनमा देखिएको भद्रगोल र अराजकताको स्थितिलाई तत्कालै अन्त गर्दै पार्टीलाई सामुहिक निर्णय र ब्यक्तिगत जिम्मेवारीको पार्टी पद्धती स्थापित गर्नु पर्दछ ।

नेपाली श्रमजीवि बर्गको राजनैतिक अगुवाको हैसियतले,वर्तमान राज्यसत्ताको सबैभन्दा ठुलो जनमत भएको पार्टीको रुपमा नेकपा (एमाले )नै रहि नै रहेको कारण हाम्रो पार्टीलाई चौतर्फि रुपमा अहिले पनि बिरोधीहरुद्धारा घेराबन्दी र प्रहार गरिएको अबस्था छ । यस्तो घेराबन्दी र प्रहारलाई तोड्न पार्टी संगठनको केन्द्र देखि स्थानीय तहसम्म नै बैचारिक तथा राजनीतिक रुपमा फलामे अनुशासनले बाधिएको अविभाज्य र एकताबद्ध पार्टी अनुशासनको निशर्त पालनाको ग्यारेण्टी गरिनु पर्छ । यो समय गुट-उपगुट र बिभाजनकारी गतिविधीहरुको पक्षपोषण गर्ने गराउने कार्य कुनै पनि बहानामा स्वीकार्य हुन सक्दैन । पार्टी संचालनमा जनवादी केन्द्रीयतालाई कडाईका साथ पालना गर्नु गराउनु सबै नेता कार्यकर्ताहरुको पहिलो र निशर्त जम्मेवारी हो । यो कुरालाई कमजोर पारेर कोहि पनि नेकपा एमालेको नेतृत्वमा रहिरहन असम्भव छ । पार्टीमा बिचार र सिद्धान्त भन्दा बाहिर एकल र ब्यक्तिवादी नेतृत्व खोज्ने प्रयासले कम्युनिष्ट आन्दोलनलाई बिघटन ,बिभाजन र विसर्जनको बाटोमा लैजान्छ ।

हामीहरु सबैले पार्टीले भरखरै ब्यहोरेको कठोर धक्काबाट गम्भिर पाठ सिक्नु पर्दछ।पाठ सिक्नेहरु अव्वल बन्छन् नसिक्नेहरु असफल हुन्छन्, इतिहासको गर्तमा हराउछन् । माधब नेपाल र उनको गुटले समातेको फुट र बिभाजनको बाटो गलत छ । यस्तो कार्यले प्रतिकृयावादीहरुको सेवा गर्दछ । नेपाली कांग्रेसको सरकार बनाएर प्रचण्ड र माधब नेपालले घरेलु प्रतिकृयावाद र साम्राज्यवादको एकसाथ सेवा गरेका छन् । नेपाली सर्वहारा वर्गको राजनीतिक पार्टी नेकपाको सरकार ढालेर कांग्रेसको सरकार बनाउदा भारत ,अमेरिका र युरोपका पुजीवादी साम्राज्यवादी शासकहरु खुसि भएका छन् ।

चीन र रुस लगायत संसार भरिका श्रमजीवि जनता र राष्ट्रिय स्वाधिनताको पक्षमा रहेका त्यहाको सरकार समेत दुखि र क्षुब्ध भएको छ । फेरि पनि नेकपा एमाले देशको ठुलो र शक्तिशाली राजनितिक पार्टी हो ।भोलीका दिनमा पनि न्यायप्रेमी नेपाली जनताको प्रगाढ माया र पार्टी र जनता बिचको घनिष्ट एकतामा यो शक्ति बरकरार राख्न नेकपा एमाले सक्षम छ । अब हुने चुनावमा भारि जनमत सहित हाम्रो पार्टी नेकपा एमाले विजयी हुने कुरा पूर्वबाट सूर्य उदाउने कुरा जस्तै सत्य हो। तर फेरि पनि एमालेको सरकार बने पछि हाम्रा बिरोधीहरु जनताले बनाएको कम्युनिष्ट पार्टीको सरकार बिरुध्द नांगो रुपमा जाई लाग्नेछन् । त्यसबेला पनि हाम्रै पार्टी भित्र फेरि प्रचण्ड र माधब नेपाल जस्ता धुन्दुकारीहरुको खोजि गर्ने छन् । त्यसो भएन भने पिनोचे ,सुहार्तो र बोरिस एल्तसिनहरु जन्माएर हाम्रो पार्टी ,सरकार र नेपाली जनतामाथि जाई कटक गर्न पछि पर्ने छैनन्।त्यसबेला जनताले निर्वाचित गरेको कम्युनिष्ट सरकारको रक्षाको लागि मजबुत फलामे अनुशासनमा बाधिएको बिशाल जनाधार सहितको पार्टी र जन-संगठनको ग्यारेण्टी पहिलो शर्त हो भन्ने कुरालाई हामीले अहिले नै मनन गर्नु पर्दछ । यस्तो मजबुत जन-संगठनले मात्रै हाम्रो पार्टीले प्राप्त गरेको जनमतको बैधानिक रुपमा रक्षाको ग्यारेण्टी गर्न सक्दछ । आबस्यक परेको खण्डमा यसले जनप्रतिरोध मार्फत आफ्नो सरकारको रक्षा गर्ने छ,यसतर्फ नजरअन्दाज गरिनु हुदैन ।

चिले, ईण्डोनेसीया ,सोभियत संघ र पूर्वी युरोपको कम्युनिष्ट सरकार बिरुद्धको दमन र समाजवादी शासन सत्ताको बिघटन र बिभाजनको पिडा ब्यहोरेको कम्युनिष्ट आन्दोलनको अनुभवबाट पाठ सिक्दै हामीले आफ्नो देशको राष्ट्रिय स्वाधिनताको रक्षाको लागि सम्पूर्ण रुपमा तयारी गर्नु पर्दछ । अब आउने दिनमा कम्युनिष्ट बिरुद्ध कम्युनिष्ट लडाउने ,जाती ,भाषा ,र धर्मका नाममा जनतासंग जनता लडाउने ,फुटाउने र राज गर्ने पुरानै प्रतिकृयावादी षडयन्त्रको बिगबिगी हुनेछ।हामीले बेलैमा यसको बिरोध र भण्डाफोरको लागि सबै क्षेत्रबाट शसक्त प्रतिरोधात्मक प्रचार अभियान संचालन गर्नु पर्दछ । एमालेले मात्रै देशमा राजनीतिक स्थायित्व प्रदान गरेर उत्कृष्ट बिकास संगै समृद्धीको संकल्पलाई शानदार र भब्यरुपमा सम्पन्न गर्ने हैसियत ब्यवहारमै प्रमाणित गरेको छ । अस्तु !