कांग्रेसले २१ वटा हिमाली जिल्लामा पालिका र वडा अधिवेशन दसैंअघि नै सक्ने

नेपाली कांग्रेसले २१ वटा हिमाली जिल्लामा पालिका र वडा अधिवेशन दसैंअघि नै गर्ने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठकले केही जिल्लामा अधिवेशनको कार्यतालिका प्रभावित हुने भए पनि हिमाली जिल्लाको अधिवेशन भने असोज १८ गतेसम्म सक्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

बैठकले हिमाली जिल्लामा चिसो बढेपछि अधिवेशन गर्न असहज हुने निष्कर्ष निकाल्दै दसैंअघि नै अधिवेशन गरिसक्ने निर्णय गरेको उनले बताए।

उनले भने, ‘हिमाली जिल्लाको सन्दर्भमा दसैं र तिहारपछि समस्या आउँछ। चिसोको कारणले गर्दा। भौगोलिक परिस्थितिलाई पनि हेरेर त्यसलाई दसैंअघि नै टुंग्याउने निर्णय गरेका छौँ।’

यसअघि पालिका र वडा अधिवेशनको मिति असोज १८ सम्म तोकिएको थियो। तर केही जिल्लामा क्रियाशिल सदस्यता विवादका कारण अधिवेशन पर धकेलिने भएको छ।

यस्तै आजको बैठकले १३ वटा जिल्लाको क्रियाशिल सदस्यता विवादको पनि टुंगो लगाउने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए।

केही जिल्लामा अधिवेशनको कार्यतालिका प्रभावित भएपनि केन्द्रीय महाधिवेशन सार्नुपर्ने अवस्था नरहेको शर्माले दावी गरे।

उनले भने, ‘महाधिवेशन सार्ने भन्ने कुरा अहिले हाम्रो छलफलमा पनि छैन। महाधिवेशन सार्नुपर्ने त्यो ढंगको अवस्था पनि छैन। सार्ने सन्दर्भमा कुनै सोचाइ भएको छैन। १३ जिल्लाको क्रियाशिल सदस्यता टुंग्याउने गरी छलफल भएको छ।’

आगामी मंसिर ९–१३ गतेसम्म कांग्रेसको केन्द्रीय महाधिवेशनको मिति तय गरिएको छ।