एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धीको यात्रामाथि प्रहार गर्ने र यसलाई भत्काउने प्रयासलाई सफल हुन नदिने अठोट गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को अवसरमा शुभकामना ब्यक्त गर्दै एमाले अध्यक्ष ओलीले यस्तो अठोट गर्नुभएको हो ।
‘हामीले निर्माण गरेको समृद्ध नेपाल सुखी नेपालीको आधारशीलामाथि प्रहार गर्ने र यसलाई भत्काउने प्रयासलाई हामी सफल हुनदिने छैनौँ । मुलुकको समृद्धि र जनताको सुख प्राप्तिको राष्ट्रिय आकाङ्क्षामाथि संविधानको गलत व्याख्या गरी खडा गरिएको अवरोध र षडयन्त्रलाई जनताको बलमा परास्त गर्न हामी सक्षम छौँ । मुलुक र जनताप्रतिको हाम्रो निष्ठा र त्यसप्रतिको जनविश्वास हाम्रो अजेय शक्तिको स्रोत हो,’ शुभकामना सन्देशमा ओलीले भन्नुभएको छ, मुलुकलाई विकास र समृद्धितर्फ लैजान हामीले खडा गरेको आधारभूमिको जगमा उभिएर हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेछौँ ।’
सन्देशको पूर्णपाठ
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को शुभकामना
सातौँ संविधानदिवस तथा राष्ट्रिय दिवसको अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु । सात दशकको निरन्तर राजनीतिक संघर्ष र बलिदानको प्रतिफलस्वरूप जनताद्वारा निर्वाचित संविधानसभाले २०७२ साल असोज ३ गते जारी गरेको नेपालको संविधानप्रति आज हामी सम्मान व्यक्त गरिरहेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति यस अवसरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । विभिन्न राजनीतिक आन्दोलनमा हामीलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति आदरभाव प्रकट गर्दछु ।
हाम्रो संविधान मुलुकको राजनीतिक प्रणाली व्यवस्थित गर्ने दस्तावेज मात्र होइन, लोकतन्त्रप्रतिको हाम्रो अविचल निष्ठा र विश्वासलाई संविधानले आत्मसात गरेको छ । राष्ट्रलाई एकताको सूत्रमा बाँधेर जनतामा अन्तर्निहित सार्वभौमसत्ता, कानूनको शासन, सामाजिक न्याय र जनताका आधारभूत हक अधिकारको सुनिश्चित गर्ने वर्तमान संविधान सामन्तवादको अन्त्य गर्ने प्रगतिशील राजनीतिक दस्तावेजका रूपमा रहेको छ ।
संविधान जारी भएपछिको आमनिर्वाचनद्वारा सरकारको नेतृत्व गर्ने जनादेश हाम्रो पार्टी नेकपा (एमाले)लाई प्राप्त भएको थियो । यस दौरानमा हामीले संघीयतालाई व्यवहारमा कार्यान्वयन र जनताका मौलिक हकसम्बन्धी कानूनहरुको निर्माण गर्यौं । संविधानले गरेको मार्गदर्शन अनुरूप देशको समृद्धि र जनताको सुखको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका लागि विकासको गतिलाई तीब्रता दिन हामीले नेतृत्वदायी भूमिका खेल्यौँ । पार्टीका नीति र कार्यक्रममा आधारित, घोषणापत्रमा उल्लेखित र निर्वाचनमा जनतासामु गरिएका प्रतिवद्धता पूरा गर्न हाम्रो परिकल्पनालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को रुपमा शुत्रबद्ध गरी त्यसलाई परिपूर्ण लोकतन्त्र (कम्प्रिहेन्सीभ डेमोक्रेसी)का रुपमा व्याख्या गर्यौं । सबैलाई समान अधिकार, अवसरमा समानपहुँच, समानताको प्रत्याभूति, सामाजिक न्याय र सुरक्षा एवं सम्मानको ग्यारेन्टीसहितको परिपूर्ण लोकतन्त्र हाम्रो परिकल्पना र कार्यक्रमको सार हो ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामीले अथक मेहनत साथ चालेका कदमले मुलुकमा विकास र समृद्धिको नयाँ आधारशीला खडा गरेको छ । अहिले नेकपा (एमाले)को भूमिका सत्तापक्षबाट प्रतिपक्षमा बदलिएको छ । तथापि हामीले निर्माण गरेको समृद्ध नेपाल सुखी नेपालीको आधारशीलामाथि प्रहार गर्ने र यसलाई भत्काउने प्रयासलाई हामी सफल हुनदिने छैनौँ । मुलुकको समृद्धि र जनताको सुख प्राप्तिको राष्ट्रिय आकाङ्क्षामाथि संविधानको गलत व्याख्या गरी खडा गरिएको अवरोध र षडयन्त्रलाई जनताको बलमा परास्त गर्न हामी सक्षम छौँ । मुलुक र जनताप्रतिको हाम्रो निष्ठा र त्यसप्रतिको जनविश्वास हाम्रो अजेय शक्तिको स्रोत हो । मुलुकलाई विकास र समृद्धितर्फ लैजान हामीले खडा गरेको आधारभूमिको जगमा उभिएर हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेछौँ । राष्ट्रको यस आकाङ्क्षा प्राप्तिको संवाहक र नेतृत्वदायी शक्ति नेकपा (एमाले)को यस दूरगामी यात्रालाई जनताको स्नेह प्राप्त भइरहने छ भन्ने हाम्रो विश्वास छ ।
जनताको बलिदानी संघर्षबाट प्राप्त यस संविधान जारी हुँदाका समयमा संविधानप्रति फरक मत राख्ने राजनीतिक दल एवं समूहहरू पनि नेकपा (एमाले)को नेतृत्वको सरकारले गरेका प्रयासका कारण राजनीतिको मूलप्रवाहमा सामेल भइसकेका छन् । पृथकतावादको अभियान र राजनीतिक शक्ति प्राप्त गर्न हिंसाको नीति अवलम्बन गरेका शक्तिहरुलाई पनि हामीले संवैधानिक प्रवन्ध अनुरुपको अभ्यासमा सामेल गर्ने सफलता प्राप्त गरेका छौँ । हाम्रो पार्टीले नेतृत्व गरेकै सरकारले राष्ट्रिय सहमतिद्वारा संविधान संशोधन गरी कालापानी–लिपुलेक–लिम्पियाधुरासहितको भूगोल नेपालको मानचित्रमा समावेश गरेको छ । संविधान निर्माणका बेलामा समेत प्राप्त हुन नसकेको सर्वसम्मत राष्ट्रिय अभिव्यक्ति नेकपा (एमाले) नेतृत्वको सरकारले यस क्रममा निर्माण गरेको थियो । हामीलाई जालझेलपूर्ण तवरले सरकारबाट हटाइएपछि गौरवपूर्ण यस राष्ट्रिय उपलब्धिलाई समस्याका रुपमा देख्ने र राष्ट्रको स्वाधीनता तथा सार्वभौमसत्ताप्रति उदासीन रहने अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिलाई जनताले चिन्हित गरिरहेका छन ।
हाम्रा ऐतिहासिक प्रयासले प्रमाणित गरेको छ– हामी मुलुकबाट गुमाइएको भूभाग फिर्ता गर्न प्रयासरत थियौँ र राजनीतिक प्रणालीभन्दा बाहिर रहेका शक्तिहरूमा संविधानप्रतिको स्वीकार्यता बढाउन सफलता प्राप्त गरिरहेका थियौँ । मुलुकलाई विकासको तीव्र गतिमा अघि बढाएर नवनिर्माणको नयाँयुगको थालनी गरिरहेका थियौँ । जनादेशद्वारा स्थापित हाम्रो नेतृत्वमा यस्ता युुगान्तकारी कामहरु भइरहेका बेला संविधानले परिभाषित गरेका राज्यका अंगहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या÷अपव्याख्याद्वारा यसमा अवरोध पुुर्याउने बिडम्बनापूर्ण अवस्था हामीले देख्यौँ र भोग्यौँ । यसले मुलुकको दूरगामी यात्रालाई अल्मल्याउने काम मात्र मात्र गरेन, संविधानप्रतिको जनताको आस्थामाथि समेत चोट लगाउन पुुग्यो ।
नेकपा (एमाले) आफ्नो नेतृत्वको सरकारले राष्ट्रको समृद्धि र जनताको सुख हासिल गर्न गरेको नेतृत्वदायी भूमिका र सफलतालाई गर्वसाथ जनताको बीचमा राख्दै अघि बढ्न तत्पर छ । विविध अवरोधका कारण एमालेको नेतृत्वको सरकारलेचाहेर पनि गर्न बाँकी रहेका कामलाई जनताबाट थप शक्ति हासिल गरेपछि पूर्णता दिने अठोट गरेको छ । आफ्नो भूमिकाका बारेमा जनताको अदालतमा परीक्षित हुन नेकपा (एमाले) सदैव तत्पर छ । जनताकै अपार स्नेह र समर्थनबाट फेरि मुलुकको नेतृत्व गर्न हामी सफल हुनेछौं । संविधानले सार्वभौमसत्ता सम्पन्न तुल्याएका जनता नै हाम्रा जनार्दन हुन् । संविधान दिवसको यस पावन दिवसप्रति नेकपा (एमाले)को निष्ठाको सार नै जनतालाई जनार्दन बनाउने संकल्प हो ।
अन्त्यमा, कोभिड –१९ को महामारी र यसको सम्भावित तेस्रो लहरको खतरा कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउँदै संविधान दिवसको यस महत्वपूर्ण अवसरलाई राष्ट्रिय दिवसका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक आह्वान गर्दछु । हाम्रो पार्टीले पनि आज (असोज) ३ गते पार्टीका शीर्ष नेताहरुसहित संविधान दिवस तथा राष्ट्रिय दिवस आयोजना गरेको छ । संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर रहन म सबैमा आग्रह गर्दछु ।
३ असोज २०७८
केपी शर्मा ओली
अध्यक्ष











