कमलामाईको मुख्य बजार क्षेत्रमा मालबाहक सवारी प्रवेशमा रोक

कमलामाई नगरपालिकाले नगर क्षेत्रको मुख्य बजार एरियामा विहान ९ बजेबाट बेलुका साढे ४ बजे सम्म मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएको छ । नगरक्षेत्र भित्र सवारी साधन ब्यवस्थापन गर्न भदै ३० गते नगर प्रमुखको अध्यक्षतामा बसेको वैठकको निणर्य अनुसार सुक्रबारबाट नगरप्रमुखले ट्राफिक प्रतिविम्बमा राखिएको रिबन काटी यस्तो नियमको सुरु गर्नुभएको हो । सुक्रबार देखि ट्रक, मिनीट्रक, बोलेरो लगायतका कुनै पनि मालबाहक सवारी नगर क्षेत्रको मुख्य बजार एरियामा प्रवेश गर्न रोक लगाइएको हो । यस्तै नगरपालिकाले बजार क्षेत्रमा भएका सरकारी, वित्तिय तथा अन्य संगठित संस्था कर्मचारीले आफ्नो सरवारी साधनको उचित किसिमले आफैले पार्किङको ब्यवस्थापन गर्नु पर्ने छ । सिन्धुलीमाढी स्थित मुख्य बजार क्षेत्रहरुमा सवारी पार्किङ गर्दा दैनिक र पालैपालो दायाँबायाँ एकतर्फी पार्किङ ब्यवस्थापन गर्नुपर्ने नगरपालिकाले जनाएको छ । सिन्धुलीमाढीको मुख्य बजार क्षेत्र हुँदै ढुवानी हुने कुनैपनि खाले नदीजन्य पदार्थको ढुवानीलाई निषेध गर्ने निर्णय समेत गरिएको छ । यस्तै बैठकमा पार्किङ ब्यवस्थापनको अनुगमन र नीरीक्षणलाई निरन्तर र नियमित गरिने निर्णय भएको थियो सोहि अनुसारको काम हुने नगरपालिकाले जनाएको छ ।

चाडपर्व नजिकिएकाले भिड हुने तथा जथाभावि गरिने गाडिको पार्किङलाई नियन्त्रण गर्न उक्त नियम सुरु गरिएको कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले बताउनुभयो । साथै उहाँले सम्पूर्ण नागरिकलाई उक्त नियमको पालना गर्नुहुन अनुरोध गर्नु भयो । कार्यक्रममा ट्राफिक नियम पालन गरौँ लगाएत माईकिङ, पर्चा पम्प्लेट वितरण, ट्राफिक स्लोग्न सहितको प्लेकार्ड, सहित बजार परिक्रमा गरी ट्राफिक सचेतनामुलक कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख तथा उपरीक्षक गोविन्द थपलिया , सशस्त्र प्रहरी नायव उपरीक्षक नारायण पौडेल, उद्योग बाणिज्य संघ सिन्धुलीका पदाधिकारी लगाएत स्थानियको उपस्थिति रहेको थियो ।