भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले कार्यक्षेत्रमा निर्धक्क भएर काम गर्न मालपोत कार्यालय सिन्धुलीका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । नेपालको जग्गा प्रशासनलाई डिजिटलाइजेशन गर्ने उदेश्यले मालपोत कार्यालय सिन्धुलीमा भू–सेवा केन्द्रको शुभारम्भगर्दे महानिर्देशक पौडेलले यस्तो कुरा बताउनु भएको हो । मालपोत कार्यालय सिन्धुलीद्धारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले इमान्दार भएर जनताको पक्षमा काम गर्न निर्देशन दिंदै काम गराईका क्रममा कुनै समस्या आइपरे आफुहरुले साथ दिने बताउनुभयो । उहाँले विगतमा जस्तो मालपोत कार्यालयमा अहिले अनियमितताका विवरणहरु नआएको र अख्तियारमा पनि उजुरी नपरेको बताउँदै उहाँले सेवाग्राही नागरिकहरुलाई खुशी बनाएर छिटो छरितो काम सम्पन्न गरेर पठाउन मातहतका निकायहरुलाई निर्देशन दिनुभयो ।

उहाँले अगाडि भन्नुभयोः मातपोतका हामी कर्मचारीहरुलाई यदी कसैले बचाउँछ भने त्यो अहिले हामीले प्रयोगमा ल्याएको प्रविधीले मात्रै हो । विगतमा हामीहरुमाथि धेरै मुद्धाहरु लागेका थिए, हामीले हातले काम गरेका थियौं, तर यो एक वर्षको अबधीमा हाम्रा कुनै पनि कर्मचारीहरुमाथि कसैले मुद्धा दर्ता गरेका छैनन र अख्तियारको टोलीले समातेको पनि छैन । त्यसैले प्रविधीलाई विश्वास गर्नुस् र सिस्टममा बसेर काम गर्नुस् कुनै पनि समस्या आउनेछैन । अब मालपोत कार्यालय मात्रै प्रविधीमा होइन, लेखापढी व्यवसायी र सेवाग्राही पनि प्रविधी मैंत्री बन्न जरुरी भएको बताउँदै महानिर्देशक पौडेलले भन्नुभयोः आजका मितिदेखी तपाईहरु लेखापढी व्यवसायी होइन, मालपोतका कर्मचारीहरु हो, त्यसैले तपाईहरुको एउटै पोशाक र ड्रेस कोड बनाउनुस्, तपाईहरुलाई कार्यालय प्रमुखले सहयोग गर्नुहुनेछ । ड्रेस र परिचयपत्रसहित तपाईहरुले काम गर्नुभयो र काम गरेको पारिश्रमिक पनि निर्धारण गर्नुभयो भने सेवाग्राहीहरु नठगिने उहाँको भनाई थियो ।

मालपोत कार्यालय सिन्धुलीका प्रमुख निलराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विभागका निर्देशक गुरुदत्त सुवेदी, विष्णुकुमार महत, जिल्ला समन्वय समिति सिन्धुलीका डिकवहादुर कार्कीलगायतले सम्वोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन मालपोत कार्यालय सिन्धुलीका सुचना अधिकारी पुरुषोत्तम दाहालले गर्नुभएको थियो । कार्यक्रमको समापनमा प्रमुख अतिथी पौडेललाई मायाँको चिनो प्रदान गरिएको थियो ।














