नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको लोकतान्त्रिक आदर्श र संस्कार खतरामा परेको निष्कर्ष निकालेको छ।
सोमबार पार्टी कार्यालयमा बैठकले गरेर रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षले अधिवेशनका क्रममा अलोकतान्त्रिक व्यवाहार देखाएको जसले गर्दा पार्टीको आदर्शमै शंका गर्नुपर्ने सम्मको अवस्था आउन लागेको भन्दै चिन्ता व्यक्त गरेको हो।
१४औँ महाधिवेशनका लागि भदौ १८ गतेदेखि वडा तहको अविधेशन सुरु भए पनि अझै २० जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नगरी अन्योलमा राखेको, डडेलधुरामा सत्ता दुरुपयोग गरी जथाभावी थपिएका क्रियाशील सदस्यताका आधारमा अधिवेशनको औपचारिकता पूरा गरेको भन्दे संस्थापन इतर समूह सशंकित बनेको हो।
‘क्रियाशील सदस्यता वितरणमा भएको गैरजिम्मेवारी, मनपरी अराजकताले कांग्रेस लोकतान्त्रिक आदर्श र संस्कार अनुरुपको पार्टी नरहने खतराको लक्षण देखा पर्न थालेको,’ पौडेल पक्षले सार्वजनिक गरेको लिखित धारणामा अगाडि भनिएको छ, ‘मुलुकको संविधान र पार्टीको मर्यादा र परम्परामा बलमिच्याई हुन थाल्यो भने पार्टी, लोकतन्त्र, स्वच्छ राजनीतिक वातावरण आदि पक्षहरु दूषित र कमजोर भएर जाने संभावना हामीले देखिरहेका छौं।’
आफू पक्षीय केन्द्रीय सदस्यहरुको छलफलपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवशेन निष्पक्ष रुपमा हुन नसक्ने आशंका व्यक्त गरे।
उनले भने, ‘नेपाली कांग्रेसको विधान र देशको संविधानको समयसिमा भित्र महाधिवेशन हुन नसक्नु अत्यन्त दुःखद कुरा हो। यसले १४ औं महाधिवेशनको सिलसिलामा देखिएको अवैधानिक र अलोकतान्त्रिक गतिविधिबाट महाधिवेशन निष्पक्ष हुन्छ भन्ने कुरामा गंभीर आशंका पैदा भएको छ।’
भदौ २५ गते संस्थापन पक्षले देउवाको गृहजिल्ला डडेलधुराका ५२ वटै वडामा एक पक्षीय रुपमा अधिवेशन गरेको पौडेल पक्षले आरोप लगाएको छ।
डडेलधुराको जस्तो अवस्थामा पैदा नगर्न संस्थापन इतर समूहले ध्यानाकर्षण गराएको छ। पौडेलले भने, ‘डडेल्धुरा जिल्लाको जस्तै अनियमितता र स्वेच्छाचारको पुनरावृत्ति अन्य २० जिल्लाहरुमा पनि हुन नपाओस् भन्ने तर्फ सम्वद्ध पक्षको ध्यानाकषर्ण र खबरदारी गर्न चाहन्छौं।’ उनले डडेलधुरामा पुनः वडा अधिवेशन गर्नसमेत माग गरेको छ।
२० जिल्लामा भएको क्रियाशिल सदस्यता विवादकै कारण अधिवेशनको कार्यतालिका संशोधन भएको छ। शनिबारसम्म भइसक्नुपर्ने वडा तहको अधिवेशनका लागि असोज ५ गतेको नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ।
नयाँ कार्यतालिका अनुसार गाउँपालिका वा नगरपालिकाको अधिवेशन भदौ ९ गते, प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन गर्ने भनिएको छ।
त्यसैगरी एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिवेशन गर्नुेपर्ने, प्रदेश तहको अधिवेशन कात्तिब १०, ११ र १२ गते हुनेछ।
क्रियाशील सदस्यता विवाद नसुल्झिँदा दुई पक्षबीच दूरी बढ्दै जाँदा कांग्रेसको अधिवेशन फेरि सर्ने सम्भावना बढेको छ।











