पाँच वर्ष र संविधानले दिएको अतिरिक्त थप ६ महिनामा पनि नियमित महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसले अधिवेशनको प्रक्रिया सुरु भएको जानकारी निर्वाचन आयोगलाई गराएको छ।
कांग्रेसका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्का र मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार आयोगमा पुगेर कोरोना महामारीका बीच भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु भएको र बाँकी तहका अधिवेशन पनि क्रमैसँग गर्दै जाने जानकारी दिएको हो।
आयोगलाई पठाएको पत्रबारे जानकारी दिँदै मुख्य सचिव पौडेलले भने, ‘हामीले त्यस्तो डिटेल केही दिएका छैनौँ। कोरोनाको महामारीमा पनि स्वास्थ्य मापदण्ड, पालना गरेर नौ लाख पार्टी सदस्यहरुको उपस्थितमा अधिवेशन सुरु गरेका छौँ भन्यौँ। अहिलेसम्म ५६ जिल्लामा अधिवेशन सुरु भएको औपचारिक जानकारी दिएका हौँ।’
दलहरुले पाँच वर्ष ६ महिनाभित्र पनि अधिवेशन नगरेमा त्यसको वैधानिकतामाथि प्रश्न उठ्ने भएकाले कांग्रेस त्यसअघि नै आयोगको सम्पर्कमा पुगेको हो।
जवाफमा आयोगका सचिव सुरेश अधिकारीले महामारीका बीच पनि अधिवेशन सुरु हुनु राम्रो भएकाले कार्यतालिका अुनसार अधिवेशन गर्न सुझाव दिएका छन्।
नेपालको संविधानको धारा–२६९ (४) (ख)मा राजनीतिक दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन पाँच वर्ष हुनुपर्ने, यदि त्यो अवधिमा हुन नसकेमा थप ६ महिनाभित्र गरिसक्नुपर्ने प्रावधान छ।
२०७२ फागुनमा कांग्रेसले १३औँ महाधिवेशन गरेको थियो। पाँच वर्षे कार्यकाल गत फागुनमै सकिए पनि त्यसयता थप ६ महिना पाएको थियो। बुधबारदेखि उक्त ६ महिनाको अवधि पनि व्यतित भए पनि कांग्रेस आयोग पुगेको हो।
आयोगलाई गत वर्ष र यो वर्ष भएको लकडाउनलाई सर्वोच्चको फैसला अनुसार शून्य अवधि मानिदिन कांग्रेसले आग्रह गरेको छ।
भदौ १८ गतेका लागि वडा अधिवेशन तोकेको थियो। भदौ २६ गते (शुक्रबार)सम्म सबै जिल्लाको वडा अधिवेशन गर्ने भनिए पनि अझै २१ जिल्लाको क्रियाशिल विवाद सुल्झन सकेको छैन।
काठमाडौँसहित प्रदेश २ का जिल्लामा क्रियाशिल विवादका कारण अधिवेशन अनिश्चित बनेको छ।
कांग्रेसले प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको। महाधिवेशन भने आउँदो मंसिर ९–१३ गते गर्ने तयारी कांग्रेसको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुधबारसम्म महाधिवेशन नभए कांग्रेसको वैधानिकता सकिने दाबी गरे पनि पछिल्ला दिनमा मौन बसेको छ।











