अन्जानमा पार्टी हित विरुद्ध उभिएका सम्पुर्ण नेता कार्यकर्तालाई स्वआलोचित हुँदै एमालेमा पुनः एकताबद्ध हुन अपील

नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला संगठन समिति सिन्धुलीले एक प्रेस विज्ञप्ती मार्फत पार्टीको एकता अनुशासन र मर्यादाको उच्च परम्परालाई सम्मानगर्दै विगतमा जान अन्जानमा पार्टी हित विरुद्ध उभिएका सम्पुर्ण नेता कार्यकर्तालाई स्वआलोचित हुँदै नेकपा (एमाले) मा पुनः एकताबद्ध हुन अपील गरेको छ ।
नेकपा एमाले चोइटिएर बनेको माधव नेपाल नेतृत्वको एकिकृत समाजवादीमा सिन्धुली जिल्लाबाट १ जना वडा सदस्य मात्रै समाहित भएको बिबरण बाहिर आएपछि पार्टी सचिव शान्तिमान कार्कीले प्रेस विज्ञप्ती मार्फत समानान्तर कमिटी र जिल्ला कमिटीमा आवद्ध रहेका नेता कार्यकर्तालाई स्वआलोचित हुँदै नेकपा एमालेमा पुनः एकतावद्ध हुन अपील गर्नुभएको हो ।
सिन्धुलीमा माधव नेपाल समूहमा रहेर समानान्तर गतिविधीलाई सघाउँदै आएका एमालेका बाग्मती प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आफु विभाजनको पक्षमा नभई एकतावद्ध एमालेको पक्षमा रहेको बताएपछि बाँकी नेता कार्यकर्ता र समानान्तर कमिटीलाई व्यवस्थापन गर्न भन्दै एमाले उपाध्यक्ष प्रल्हादकुमार पोखरेलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेपछि पार्टी सचिव कार्कीको बिज्ञप्ती बाहिर आएको हो । कार्यदलको सदस्यरुमा पार्टी सचिव शान्तिमान कार्की, उपसचिव महेन्द्रदेव श्रेष्ठ, पार्टी सचिवालय सदस्य कर्ण घिसिंग र तारानिधी पोखरेललाई चयन गरेको थियो । कार्यदलले अहिले आफ्नो कामहरु अगाडि बढाइसकेको छ ।
त्यसैगरी नेता कार्कीले अमेरिकी सहयोग नियोग अन्तर्गतको एमसिसी परियोजना विरुद्ध बोल्न नपाउने, महाकाली नदीको तुईन घटनामा भारतीय एसएसबी द्वारा मारिएका युवक जयसिंह धामीको पक्षमा बोल्न नपाउने र भारतीय थिचोमिचोको विरोध गर्न नपाउने भन्दै नेपाल सरकार गृह मन्त्रालयले जारी गरेको विज्ञप्तीको कडा आलोचना गर्नुभएको छ । सरकारको यस्तो निरंकुश र स्वेच्छाचारी निर्णयको नेकपा (एमाले) सिन्धुली घोर विरोध र भत्र्सना गर्दछ , विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै अहिलेको संकटपूर्ण अबस्थामा पार्टीलाई मजवुत बनाउनका लागि सिङगो जिल्ला पार्टी कमिटी र मातहका सबै संगठनहरु सहित पार्टीबाट निर्वाचित सम्पुर्ण जनप्रतिनिधीहरु सहित पार्टीलाई समर्थन र सहयोग गर्ने आम जनसमुदायहरु एकताबद्ध रहनु भएकोमा नेकपा (एमाले) जिल्ला संगठन कमिटी सिन्धुली हार्दिक धन्यबाद सहित आभार व्यक्त गर्दछ, विज्ञप्तीमा भनिएको छ ।


विज्ञप्तीको पूर्ण पाठः
नेपाल कम्युनिष्ट पार्टी एमाले आफ्नो स्थापना काल देखिनै विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गराई देशकै शक्तिशाली र नेतृत्वदायी पार्टीको रुपमा स्थापित भएको तत्थ्यलाई स्वीकार्न नचाहने शक्तिहरुको उक्साहटमा लागेका केही व्यक्तीहरुको अनुशासनहिनता, गुटबन्दी र विभाजनकारी प्रवृतिलाई परास्त गर्दै मुलत वामपन्थी ध्रुविकरण र कम्युनिष्ट पार्टी विचको सहकार्य र एकता द्वारा प्राप्त उपलब्धीको रक्षा र विकास गर्दै आएको हाम्रो जिल्लाको सिङगो पार्टी कमिटी ऐतिहासिक रुपमा अझ एकताबद्ध र सुसंगठीत भएको छ ।
गत निर्वाचनमा बनेको वाम गठबन्धन र एमाले माओबादी केन्द्र विचको एकता द्वारा निर्मित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा दुई तिहाई बहुमतको लोकप्रिय कम्युनिष्ट सरकारले सम्वृद्ध नेपाल सुखि नेपाली भन्ने मुल नाराका साथ देशको विकास र राष्ट्रियताको रक्षा गर्ने कार्यमा प्राप्त गरेका ऐतिहासिक उपलब्धीहरुको रक्षा र सुदृढीकरण गर्ने जिम्मेवार पार्टी हुनको नाताले सर्वाेच्च अदालतको परमादेशबाट बनेको स्वेच्छाचारी जनविरोधी र पश्चगामी चरित्रको तथाकथित बाम लोकतान्त्रिक गठबन्धन नामक भरिया संस्कृतीको बाहक देउवा सरकारसँग नेपाली जनताप्रति कुनै सरोकार नभएको यस घडीमा हाम्रो पार्टीको समसामयिक धारणहरु यसै विज्ञप्ती मार्फत सार्वजनिक गर्दछौं ।
१. नेकपा (एमाले) को नेतृत्वमा सिङगो जिल्ला पार्टी कमिटी र मातहका सबै संगठनहरु सहित पार्टीबाट निर्वाचित सम्पुर्ण जनप्रतिनिधीहरु सहित पार्टीलाई समर्थन र सहयोग गर्ने आम जनसमुदायहरु एकताबद्ध रहनु भएकोमा नेकपा (एमाले) जिल्ला संगठन कमिटी सिन्धुली हार्दिक धन्यबाद सहित आभार व्यक्त गर्दछ ।
२. नेपाली नारीहरुलको महान चाड हरितालिका तिजको उपलक्ष्यमा सम्पूर्ण आमा, दिदी र बहिनीहरुमा हाम्रो पार्टी हार्दिक शुभकामना व्यक्त गर्दछ ।
३. बाढी पहिरोबाट पिडित जनताहरुलाई अविलम्ब राहत वितरण गर्नुका साथै सुरक्षित पुनस्थापनाका प्रभावकारी कार्यक्रमहरु संचालन गर्नका लागि संघ, प्रदेश र स्थानिय सरकारसँग जोडदार माग गर्नुका साथै उक्त प्राकृतिक विपदमा ज्यान गुमाएका नागरिकहरु प्रति हाम्रो पार्टी भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।
४. अमेरिकी सहयोग नियोग अन्तर्गतको एमसिसी परियोजना विरुद्ध बोल्न नपाउने, महाकाली नदीको तुईन घटनामा भारतीय एसएसबी द्वारा मारिएका युवक जयसिंह धामीको पक्षमा बोल्न नपाउने र भारतीय थिचोमिचोको विरोध गर्न नपाउने भन्दै नेपाल सरकार गृह मन्त्रलयले जारी गरेको विज्ञप्ती प्रति गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको यस्तो निरंकुस र स्वेच्छाचारी निर्णयको नेकपा (एमाले) सिन्धुली घोर विरोध र भत्र्सना गर्दछ ।
५. पार्टीको एकता अनुशासन र मर्यादाको उच्च परम्परालाई सम्मानगर्दै विगतमा जान अन्जानमा पार्टी हित विरुद्ध उभिएका सम्पुर्ण कमरेडहरुलाई स्वआलोचित हुँदै नेकपा (एमाले) मा पुनः एकताबद्ध हुनको लागि हाम्रो पार्टी आव्हान गर्दछ ।
शान्तीमान कार्की
सचिव