बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तोडफोड

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तोडफोड भएको छ । 

चिकित्सक र स्वास्थ्यकर्मीहरु काम बन्द गरेर आन्दोलनमा उत्रिएको भन्दै राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले उपकुलपतिको कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

काम छाडेको विरोधमा लिम्बुवान, एमाले र राप्रपा सम्बद्ध युवाहरुले प्रदर्शन गर्दै उपकुलपति कार्यालयमा तोडफोड गरेका हुन्। आन्दोलनरत चिकित्सकहरुले लगाएको ताला प्रदर्शनकारीले फोडेका थिए ।

सरकारले सहमति पालनामा चासो नदिएको भन्दै प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी आन्दोलनमा छन् । 

बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै आइतबारदेखि चिकित्सकहरुले आकस्मिक बाहेकका सबै काम छाडेका छन्। 

सोमबार दिउँसो केही समय प्रदर्शन भएपछि अहिले अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।