३५ जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न

नेपाली कांग्रेसले ३५ जिल्लामा वडास्तरको अधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ३५ जिल्लामा मात्रै अधिवेशन भएको हो ।

शुक्रबार अधिवेशन सम्पन्न गरिएका जिल्लाहरुमा प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर गरी १० जिल्ला रहेका छन् ।

वागमतीका दोलखा, सिन्धुली र भक्तपुर गरी तीन जिल्लामा पनि कार्यतालिका अनुसार तोकिएकै मितिमा अधिवेशन भएको छ भने गण्डकी प्रदेशका तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा र म्याग्दीगरी ९ जिल्लाको वडा अधिवेशन सकिएको छ । मनाङमा अधिवेशनको मितिभन्दा दुई दिनअघि सर्वसम्मत रुपमा नेतृत्व नै चयन भइसकेको छ ।

लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँची गरी ४ जिल्लामा अधिवेशन भएको छ भने कर्णालीका जुम्ला, हुम्ला, जाजरकोट र दैलेख गरी ४ जिल्लामा पनि अविधेशन सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका पनि बझाङ, डोटी, अछाम र कञ्चनपुर गरी ४ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ ।

क्रियाशील सदस्यता सार्वजनिक भएका २१ जिल्लाको वडा अधिवेशन भदौ २३ भित्र हुने निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, पाल्पामा २१ भदौमा वडा अधिवेशन हुनेछ । यस्तै बागलुङ, सल्यान, मुगु र बैतडीमा पनि २१ भदौमै वडा अधिवेशन हुनेछ । प्यूठान, दाङ, कालीकोट र दार्चुलामा २२ भदौमा वडा अधिवेशन हुनेछ भने नवलपुर, रोल्पा र रुकुम पश्चिममा २३ भदौमा वडा अविधेशनको मिति तय गरिएको छ ।