एमालेको केन्द्रीय कमिटी अद्यावधिक, निर्वाचन आयोगमा पुग्यो २६० केन्द्रीय सदस्यको विवरण

सरकारले राजनीतिक दल बिभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने निर्णय लिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण पेस गरेको छ । एमालेले आजै निर्णयको आधिकारिक माइन्युटसहित आधिकारिक बिवरण आयोगमा बुझाएको हो ।

एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र सदस्य बाबुराम दाहालसहितको टोली आज दिउँसो निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको हो । यसअघि २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा अब २६० सदस्यीय रहने गरी पार्टीको निर्णय पठाइएको छ । २०३ जनामध्ये ४ जनाको निधन भएको र प्रकाश ज्वाला निष्काशनमा परेकाले २६० जनाको विवरण निर्वाचन आयोगमा पठाइएको एमालेले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

एमालेले नेकपा एकीकरणसँगै थपिएका सदस्यसहित २६५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । सो कमिटीलाई हालै सर्वोच्च अदालतले पनि मान्यता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बिगतमा आफैले प्रतिगामी कदम भनेको तथ्य भुलेर संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न पाउनेगरी अध्यादेश पारित गरे लगत्तै एमालेले केन्द्रीय कमिटीको विवरण अद्यावधिक गरेको हो । अब एमाले विभाजनका लागि माधव नेपाललाई कम्तीमा ५२ जना केन्द्रीय सदस्य आवश्यक पर्ने बताइएको छ ।