अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारकै पालामा नियुक्त भइसकेका उपसचिवलाई अयोग्य करार गरी आफ्ना नातेदार भान्जीज्वाईंलाई एसियाली बिकाश बैंक (एडिबी) को सल्लाहकारमा पठाउने निर्णय गर्नुभएको छ । अघिल्लो सरकारका अर्थमन्त्री बिष्णु पौडेलले गर्नुभएको निर्णय उल्ट्याउँदै अर्थमन्त्री शर्माले आफ्नो भान्जीज्वाँईंलाई एडिबीको सल्लाहकारको रुपमा मनिला पठाउने निर्णय लिनुभएको हो ।
अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरी नियुक्ति गरेको आरोप लगाउँदै चर्काे गाली गर्नुभएका शर्माले आफू आएलगत्तै देशकै प्रतिष्ठा दाउमा राखेर परिवारका सदस्यलाई पोस्नुभएको हो । अर्थमन्त्री शर्माले एशियाली विकास बैंकको सल्लाहकारमा शाखा अधिकृत पदमा कार्यरत आफ्ना भान्जीज्वाँई भीमकान्त न्यौपानेलाई पठाउने निर्णय आउनासाथ गर्नुभएको हो । मासिक १८ लाख तलव सुविधा पाउने एडीबीमा अर्थमन्त्रीले अहिलेसम्मकै परम्परा तोडेर शाखा अधिकृत पठाउनु भएको हो । ओली सरकारले सो ठाउँमा उपसचिव रमेश अर्याललाई पठाउने निर्णय गरेको थियो । तर शर्मा मन्त्री हुनासाथ उक्त निर्णय बदर गरी आफ्नो भान्जीज्वाँई न्यौपानेलाई पठाउने निर्णय गर्नुभएको हो ।
एडिबीमा यसअघि मुख्यसचिव डा. सोमलाल सुवेदीदेखिसचिव सचिव रामशरण पुडासैनीले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुभएको थियो । पूर्वप्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी भन्दै आउनु भएका शर्माको यो कामबाट अर्थका बरिष्ठ कर्मचारीहरु आक्रोशित बनेका छन ।
एडीबीको उक्त पद २ वर्षका लागि हुन्छ । मासिक लगभग १८ लाख रुपैयाँ तलब हुने उक्त पद आकर्षक मानिन्छ । यसअघि डा.युवराज खतिवडा अर्थमन्त्री हुँदा सहसचिव रामशरण पुडासैनीलाई पठाइएको थियो ।
पुडासैनीभन्दा अघि सोमलाल सुवेदीले नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । २ वर्षपछि फेरि अहिले नेपालको पालो आएको छ । जसमा उपसचिव पठाउने निर्णय गरेको १५ दिनपछि नै शाखा अधिकृत न्यौपानेलाई पठाउने निर्णय गरिएको हो । शाखा अधिकृत न्यौपाने विभिन्न आकर्षक भन्सारमा बसी केही महिना अगाडि अर्थ मन्त्रालयमा सरुवा हुनुभएको थियो । अर्थमन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई धम्क्याएरै आफ्नो मन्त्रालयको सचिवमा माओवादी अध्यक्ष पुष्पमकमल दाहाल ‘प्रचण्ड’का सल्लाहकार रहेका प्राडा श्रीराम पौडेलका ज्वाईंलाई ल्याउनु भएको छ ।