महाकाली नदी तर्न तुइनमा झुन्डिएका जयसिंह धामीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर महाकालीमा बेपत्ता बनाएको घटनामा प्रत्यक्षदर्सी र सरकारको कुरा ठीक बिपरित देखिएको छ । जयसिंहलाई तुइन तार्ने सहकर्मीहरुले एसएसवीले तुइन काटेर महाकालीमा बेपत्ता बनाएको र सो घटनापछि एसएसवीका जवान भागेको बयान दिएका छन भने सरकारले गलत सूचना भन्दै आपत्ति जनाएको छ ।
जयसिंहलाई तुइन तार्ने स्थानीय कल्याण सिंह धामीले एसएसबीले तुइन काटेर जयसिंहलाई महाकालीमा बेपत्ता बनाएको बताउनु भएको छ । धामीका अनुसार जयसिंह नेपालतर्फको भूमिबाट तुइनमा सर्कंदै थिए, उता भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवान तुइनको लट्ठा फुस्काउँदै थिए । ‘उताबाट अचानक रूखको लट्ठा फुस्काउन थाले, हामीले होहल्ला गर्दागर्दै तुइन फुस्कियो, जयसिंह तारसहित खोलामा खसे र बेपत्ता भए । वारि काठको खम्बा र पारि रूखको हाँगामा लट्ठा बाँधिएको थियो । रूखमा बाँधिएको तुइन फुकाल्दा घटना भएको भन्नेमा कल्याणसिंह प्रस्ट छन् ।

जयसिंहले तुइनमा चढ्ने तयारी गर्दागर्दै पारिपट्टि तुइन बाँधेको ठाउँनजिकै एसएसबीका एक जवान देखिए पनि वारिपट्टि शंका भइसकेको थियो । किनकि यस्ता तुइन बेलाबेलामा एसएसबीले काट्दै आएको थियो । ‘तर, मान्छे नै झुन्डिएका बेला तुइन काट्ला भनेर सोच्नै सकिएन, त्यही भूल भयो,’ कल्याणसिंह भन्छन्, ‘एसएसबीका मान्छे रूखसम्म पुगुञ्जेल तरिसक्छु भनेर जयसिंहले तुइन सर्काउन थाले, उनी फटाफट पारि पनि पुगिसकेका थिए, तीन–चार मिटर मात्र बाँकी रहँदा तुइनसहित जयसिंह महाकालीमा पछारिए ।’
तर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको गृह मन्त्रालय यो कुरालाई मान्न तयार देखिएको छैन । उस्ले दार्चुला घटनाको अनुसन्धान तथा छानबिन जारी रहेकोले भ्रम सिर्जना हुने गरी सूचना सम्प्रेषण नगर्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको सथ्यतथ्य पुष्टि भइनसकेको अवस्थामा भ्रम सिर्जना हुने सूचना/समाचार सामग्री प्रकाशन नगर्न सम्बन्धित सबैमा अनुरोध गर्नुभएको छ ।