सिन्धुपाल्चोकको मेलम्चीमा फेरी आयो ठूलो बाढी: १३ घर र दुईवटा पुल बगायाे, रेडियो मेलम्चीको भवन भत्कियो

शनिबार रातिदेखिको अविरल वर्षापछि मेलम्ची र हेलम्बु नदीमा आएको बाढीले अहिलेसम्म १३ वटा घर बगाएको छ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार ७ वटा पक्की र ६ वटा कच्ची घर बाढीले बगाएको हो। यी सबै घरहरु असार १ गते आएको बाढीले क्षतिग्रस्त पारेको थियो।

यसअघिको बाढीले क्षति पुर्‍याएका घरहरु मर्मत गरेर बस्न मिल्ने पारिएका भए पनि शनिबार रातिको बाढीले बस्नै नमिल्ने गरि क्षति पुर्‍याएको उनले जानकारी दिए। खनालका अनुसार रेडियो मेलम्चीको भवन पनि बाढीले ढालेको छ।

असार १ कै बाढीले डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन। बाढी घटेपछि सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो। पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको हाे। यस्तै बाढीले एउटा पक्की पुल र अर्काे झोलुङ्गे पुल पनि बगाएको छ। हेलम्बु गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने ग्यालथुममा रहेको झोलुङ्गे पुल कामै नलाग्ने गरी क्षतिग्रस्त भएको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए।

नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको छ। यस्तै हेलम्बु ७ को चनौटे बजार नजिकको पक्की पुल (राताे पुल) पनि बाढीले बगाएकाे छ। बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ।

यसबाहेक समयमै मानिसहरुलाई सुरक्षित स्थानमा सारिएकोले मानवीय क्षति भने हुन नपाएको खनालले बताए।