कमरेड दलबहादुर लालसलाम !

सिन्धुली जिल्लाको कम्युनिष्ट आन्दोलनको इतिहासलाई नियाल्दा २०३६ र २०३७ साल निकै त्रासदीपूर्ण देखिन्छ । तत्कालीन पञ्चायती शासकले २०३६ साल कार्तिक १२ गते दलबहादुर रजन, २०३६ साल कार्तिक १८ गते दुर्गा सुवेदी र २०३७ फाल्गुण १२ गते ऋषिराज देवकोटा आजाद र २०३६ साल कार्तिक १२ गतेका दिन दलवहादुर रजनको पासविक ढंगले हत्या गर्यो । त्यसैगरी अर्का स्थानीय दलबहादुर राना मगरलाई भने त्यस बेला वेपत्ता बनाएको थियो । गरिव भएका कारणले पञ्चायती शासकले बेपत्ता बनाएका रानामगरको कहीं कतै खोजबखर भएन । उनका विषयमा अहिले पनि कँही कतै कुनै बिबरण फेला परेको छैन ।
कमरेड दलबहादुर रजनमगरको जन्म २००६ सालमा हालको फिक्कल गाउँपालिका स्थित ओख्रेनीमा भएको थियो । आमाको नाम पवित्रा र बुबाको नाम आइतमान थियो । तीन दाजुभाई मध्ये उहाँ माहिलो हुनुहुन्थ्यो ।
पहाडको कष्टकर जीवन र उहाँमा हुर्कदैं गरेको समानताको चेतले गर्दा उहाँ बसाइँ सरेर हालको कमलामाई नगरपालिका वडा नं ९ काउछेमा बस्न आइपुग्नु भयो । एकातिर उहाँको आर्थिक अवस्था कमजोर थियो भने अर्कातिर बद्दै गएको बिद्रोही स्वभावले थियो ।
२०१७ सालको राजा महेन्द्रको राजनैतिक ‘कुँ’ पछि देशमा ठूलै राजनैतिक हलचल पैदाभयो । गाउँ गाउँमा राजनैतिक जागरण सुरु भयो । यसवेला उहाँ विद्यार्थी संगठनमा आबद्ध हुनु हुन्थ्यो । जव महान सहिदहरू ऋषिराज देवकोटा आजाद र दुर्गा सुवेदीसँगको सम्पर्क भयो त्यसपछि उहाँ आर्थिक अभावसँग जुझ्दै, जनताको वर्ग शत्रुसँग संघर्षगर्दै जीवनभर बामपंथी आन्दोलनमा सक्रिय हुनुभयो ।
विभिन्न तहका जिम्मेवारी बहन गर्दै उहाँ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (चौम) को जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा पुग्नु भयो । २०२४ सालमा लीलामायाँ मगरसँगको बिवाह पश्चात बर्ग दुश्मनबाट सुरक्षित रहनकै लागि २०२५ देखि २०२८ सालसम्म महोत्तरी जिल्लाको चेरुमाइस्थानको भब्सीमा बसी राजनीतिमा सक्रिय रहनु भयो ।
त्यसबखत छिमेकी जिल्लाहरू सर्लाही, धनुषा, सिरहामा संगठन निर्माण , विस्तार र स्थनीय किसान संघर्ष उठानमा सक्रिय रहनु भएको थियो । २०२९ सालमा सिन्धुलीमा फर्किएर भूमिगत राजनीतिक जीवनमा सकृय हुनुभयो । गाउँका जाली फटाहा, सामन्ती, शोषकहरुलाई कारवाही गर्दै गरिव र श्रमजीवी जनतालाई वर्गीय रुपमा जागरुक बनाउने महत्वपूर्ण कामको थालनी गर्नु भयो ।
कमरेड रजनको कामको रफ्तारले यसवेला बर्ग दुश्मनहरू आतंकित हुन थाले । गाउँ गाउँमा बिद्रोहको चेतना बिस्तार भयो भने पञ्चायती सत्ताका पालितपोषितहरु शासकहरुको सहारामा हिंड्न थाले, जनता जागरुक भएको र उनीहरुले गाउँमा गर्दै आएको थिचोमिचोका बिरुद्ध बिद्रोह थालिए । गाउँमा फैलिएको बिद्रोहका कारणले निरंकुश सरकारले उहाँको खोजी गर्न थाल्यो ।
पञ्चायती राज्यसत्ताका विरुद्ध, कम्युनिष्ट राजनीतिमा सकृय हुदाँहुदै २०३६ साल कार्तिक १२ गतेका दिन तत्कालीन निरंकुश पञ्चायती सरकारले रानीवास स्थित मडाहाको जंगलमा उहाँको पासविक हत्या ग¥यो । देश , जनता र श्रमजीवी बर्गको निम्ति आफ्नो अमूल्य जीवनलाई बलिदान गर्नुभयो र माहान सहिद बन्नु भयो ।
विगतमा आजकै दिन उहाँको संझनामा कुनै पनि राजनैतिक दलले सिन्धुलीमा कार्यक्रम गरेको मलाई संझना छैन । नेकपा एमालेका केन्द्रीय सदस्य गणेश पहाडीसहित अन्य केन्द्रीय नेतृत्व, जिल्लाको सिंगो एमालेको नेतृत्व टिम एकै साथ उभिएर उहाँलाई श्रद्धाञ्जली अर्पण गर्दा उहाँको योगदान वारे स्मरण गर्न र लेख्न मन लाग्यो । श्रमजीवी वर्गको पक्षमा सहिद भएकाहरूप्रति पनि श्रमजीवी बर्ग भएकै दाबी गर्ने दल र तीनका नेताहरूले आफ्नो र अर्काको सहिद भन्दै कित्ताकाट गर्नेजस्ता संकीर्ण सोच बोकेको पाइन्छ ।
सहिद कसैको व्यक्तिगत पेवा होइनन् भन्ने कुरा सिन्धुलीका आफूलाई प्रगतिशिल र बापन्थी भन्नेहरुले बुझ्न नसक्नु दुखद पक्ष हो । शहिद कहलिन वा सम्मान पाउनको लागि पनि उसको सन्ततिले राजनीतिक पहुँच राखेको हुनु पर्छ । शासन सत्ता वा व्यक्तिको वरिपरि बस्नुपर्छ भन्ने भ्रमबाट अब हामी मुक्त हुनु जरुरी छ ।
साथ साथै माहान सहिदहरूको अधुरो सपनालाई पूरा गर्ने कार्यभार आजका कम्युनिष्ट पार्टी र कार्यकर्ताले ग्रहण गर्न सक्नु पर्छ । यो नैं वास्तविक रुपमा सहिदप्रतिको सम्मान हुनेछ । लेखक नेकपा (एमाले) सिन्धुली जिल्ला सचिव हुनुहुन्छ ।
२०८१ कार्तिक १२