सुवास देवकोटा सिन्धुलीको बामपन्थी राजनीतिमा नयाँ नाम होइन । महान शहिद ऋषिराज देवकोटा आजाद र गोमा देवकोटाले अँगाल्नु भएको कम्युनिष्ट आन्दोलनलाई उत्तराधिकारीका रुपमा सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा निरन्तर क्रियाशिल देवकोटा २०४६ सालको जनआन्दोलनमा राजधानी काठमाडौ उठेको उभारमा विद्यार्थीहरुको नेतृत्वगर्दै तत्कालिन राज्यसत्ताका विरुद्ध धावा बोल्नुभयो । वर्गीय मुक्ति बिना नेपाली श्रमजिवी किसान मजदुरको समस्याहरु हल नहुने बताउनुहुने देवकोटा लामो समय नेपाली पत्रकारिताको अग्रमोर्चामा रहेर श्रमजिवी जनताका पक्षमा कलम चलाउनुभयो । पत्रकारितासँगै नेकपा एमालेसँगको पार्टी राजनीतिमा निरन्तर लागिरहनु भएका देवकोटा राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको अध्यक्ष भएर सिन्धुलीको राजनीतिमा क्रिायाशिल रहनुभयो । पार्टीको प्रचार मोर्चामा सक्रिय रहनु भएका देवकोटा अहिले नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । नेकपा एमाले केन्द्रीय कमिटी र बागमती प्रदेश कमिटीले कार्यबिभाजन गरेको छ । अहिलेको सत्ता राजनीति र एमालेको भावी योजनावारे सन्देश जनप्रिय साप्ताहिकले उहाँसँग गरेको लामो कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । (सम्पादक)
अहिलेको मुलुकको राजनीतिक अवस्थालाई कसरी मूल्यांकन गरिरहनुभएको छ ?
राजतन्त्र गएर लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झण्डै एक दशक भएको अवस्थामा जनता र खासगरी युवा पंक्तिमा निराशा देखिएको छ । यो बीचमा मुलुकमा धेरै उपलव्धी भएका छन् । भौतिक क्षेत्रमा उल्लेखनीय विकास भएको छ, संचार क्षेत्रमा संसारसँग काँध मिलाउनसक्ने अवस्थामा मुलुक पुगेको छ । तर, प्रविधीले संसारलाई एउटा गाउँ बनाएकाले र कोही न कोही आफन्त विदेश पुगेकाले यहाँका जो कोहीले नेपालको अवस्था विदेशसँग तुलना गर्नु स्वाभाविक हो र त्यो अवस्थामा नेपाल पछि परेको पाउँछ । सुशाषन, छिटो सेवा प्रवाह जस्ता क्षेत्रमा हामीकहाँ कमजोरी रहेका कारण युवा पुस्तामा निराशा बढि देखिएको मेरो बुझाई छ ।
खासगरी, राजनीतिक स्थायित्व नहुँदा नीतिहरु अस्थिर हुने, भौतिक क्षेत्रलगायत शिक्षा, स्वास्थ्यसहित क्षेत्रहरुमा नीतिगत स्थिरता नहुँदा अपेक्षित विकास नहुने भएकाले पनि अवस्था सन्तोषजनक हुन नसकेको हो । अहिलेको निराशाजनक अवस्था आउनुमा राजनीतिक अवसरवाद अर्काे महत्वपूर्ण कारण हो । आफू सरकार रहँदासम्म सबै ठिक हुने, सरकारबाट हट्नासाथ सबै भत्कियो, अब बिद्रोहको विकल्प छैन भन्ने दल र नेताहरुले पनि मुलुकलाई यस्तो निराशाजनक अवस्थामा पुर्याएका हुन् ।
अहिले नेपाली कांग्रेससँगको सत्ता सहकार्यले नेकपा एमालेलाई कमजोर बनाउँछ भन्ने चर्चा गर्न थालिएको छ नि ?
संसदको पहिलो र दोश्रो ठूला राजनीतिक दलहरुको सरकार निर्मांणमा सहकार्यको सट्टा प्रतिस्पर्धा अर्थात एकले सरकार निर्माण गर्ने र अर्काे प्रतिपक्ष बस्ने संसारभरीको लोकतान्त्रिक व्यवस्थाको प्रचलन हो । त्यस हिसाबमा दुई ठूला दलले मिलेर सरकार बनाउँदा दुवैलाई घाटा लागेर तेश्रो पक्षलाई फाइदा पुग्नु स्वाभाविक हुन्छ । सरकारका कमजोरीको आलोचना र विरोध गरेर प्रतिपक्षले जनताको समर्थन पाउँने हुँदा यस्तो हुनु स्वाभाविक हो ।
तर, अहिलेको अवस्थालाई हामीले परिस्थितिसँग जोडेर हेर्नुपर्छ । तेश्रो दलले पहिलो र दोश्रो ठूला दलहरुलाई पालैपालो खेलाउँदै आफूलाई पाँच वर्षसम्मै सरकारको नेतृत्वबाट कसैले हटाउन नसक्ने धम्की दिइरहेको थियो र दुई ठूला दलहरु त्यस्तो धम्की सुनेर चुपचाप रहनुपर्ने अवस्था बनेको थियो । त्यस्तो हुँदा बढि जनमतको के अर्थ रह्यो ?
अर्काे, लोकतान्त्रिक गणतन्त्र, संविधानलगायत जनताले लामो संघर्षबाट प्राप्त उपलव्धीविरुद्ध विभिन्न शक्ति लागिरहेका थिए र तेश्रो दल अर्थात माओवादी नेतृत्वका सरकारहरुका गतिविधीले परिवर्तनविरोधी शक्तिका गतिविधीलाई सहजता प्रदान गरिरहेका थिए ।
र, नेकपा एमाले र नेपाली कांग्रेसले इतिहासदेखि नै विभिन्न आन्दोलन र संविधान निर्माणमा समेत सहकार्य गर्दै जनताको अधिकारको पक्षमा कयौं पटक ठूला दलहरु नमिलेर प्रतिस्पर्धा मात्र गर्नुपर्छ भन्ने मान्यता तोड्दै आएकाले यो परिस्थिति निर्माण भएको हो । यो संयुक्त सरकार परिस्थितिको वाध्यताका कारण बनाउनु परेकाले साना घाटा र नाफाको हिसाब गर्नुहुन्न भन्ने मेरो बुझाई छ ।
यो बर्गीय हिसाबको सत्ता सहकार्य त होइन, अनि यसलाई नेपाली जनताले कसरी बुझ्ने ?
नेपाली कांग्रेस र एमाले भिन्न उदेश्य, भिन्न चरित्र र भिन्न वर्गीय पक्षधरता बोक्ने राजनीतिक पार्टीहरु हुन् । अहिले यिनीहरु जनतामा रहेको निराशा चिर्न, यो प्रणालीमा देखिएका समस्याहरु सुधार गर्न र तत्काल जनताका समस्या समाधान गर्न एक ठाउँ आएका हुन् ।
नेकपा एमालेको केन्द्रीय कमिटी पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्पिडमा अघि बढेको देखियो । त्यो स्पिड प्रदेश र स्थानीय तहमा देखिएन, त्यसका कारण के हुन् ?
नेकपा एमालेको सम्पूर्ण पंक्ति पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सोच, योजना, गति अनुसार नै अघि बढिरहेको छ । यस्तो हुदैनथ्यो भने पाँच दलीय गठवन्धनसँग एक्लै भिडेर मुलुकको सबैभन्दा लोकप्रिय पार्टी बन्न कसरी सम्भव हुन्थ्यो । त्यसो हुदैनथ्यो भने इलाममा प्रतिनिधी सभा र बझा मा प्रदेश सभामा गठवन्धनविरुद्ध कसरी बिजयी हुन्थ्यो ? त्यसकारण एमालेको सम्पूर्ण तह र पंक्ति पार्टी अध्यक्ष ओलीकै नेतृत्वमा उही गतिसाथ अघि बढिरहेको छ ।
जतिसुकै बलियो र पूर्ण पार्टीमा पनि समस्याहरु हुन्छन् र एमालेका बिभिन्न तहमा पनि त्यस्ता समस्याहरु रहेका छन् । तिनलाई मिशन ग्रासरुट चलाएर पहिचान गरिएको छ र तिनीहरुलाई पार्टी नेतृत्वले बिभिन्न अभियानहरु चलाएर समाधानको प्रयास गरिरहेको छ । नेतृत्वले बनाएका सुविचारित योजनाहरुले निश्चय नै पार्टीमा देखिएका विभिन्न समस्याहरुको समाधान गर्दै एमालेलाई अझ बलियो, अझ सुदृढ र मिशन २०८४ सफल बनाउन सक्ने सक्षम बनाउने निश्चित छ ।
तपाई लेखक र पुरानो पत्रकार पनि हुनुहुन्छ, अब बताइदिनुस् कि, एमाले पार्टी र जनप्रतिनिधीबीच किन समन्वय हुन सकेको छैन ? किन त्यस्तो भइरहेको छ ?
पार्टीले आफ्ना नीति र योजनाहरु जनप्रतिनिधीमार्फ कार्यान्वयन गर्नेहुँदा पार्टी र जनप्रतिनिधीबीच समन्वय हुनु अत्यावश्यक छ । अघिल्लो कार्यकालमा एमाले र माओवादी मिलेर नेकपा बनेको तथा नेकपाको संगठनात्मक संरचनाहरु बनेर तिनले कार्य गर्नुअघि नै त्यो बिबादमा परेर विभाजन भएको हुँदा झण्डै तीन वर्ष एमालेबाट निर्वाचित जनप्रतिनिधीहरु नेतृत्वबिहिन, योजनाबिहिन र समन्वयबिहिन रहे । तर, यो कार्यकालमा एमालेले सुरुदेखि नै जनप्रतिनिधीहरुलाई अभिमुखिकरण कार्यक्रमहरुमार्फत निरन्त काम गर्न सक्ने सक्षम र पार्टीका नीति तथा योजना अनुसार परिचालन गर्न प्रयत्न गरिरहेको छ । त्यस हिसाबमा स्थानीय तहका सरकारहरुमा जहाँ एमालेको नेतृत्व छ, तिनीहरुले अरु कुनै पार्टीका जनप्रतिनिधीहरुले भन्दा उत्कृष्ट र जनपक्षीय काम गरिरहेका छन् । तर, पार्टी र जनप्रतिनिधीहरुबीच समन्वयलाई अझ सुदृढ बनाउन पर्याप्त भयो भन्ने हैन, थप आवश्यक छ ।
नेकपा एमालेले केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यहरुको कार्यबिभाजन गरेको छ, अब एमाले कसरी अघि बढ्छ ?
अहिले नेकपा एमालेले गरेको कार्यविभाजन मुख्यरुपमा व्यक्तिलाई ठोस जिम्मेवारी दिने तथा त्यस जिम्मेवारीमा रहेको क्षेत्रको उन्नति अवन्नतिको सम्पूर्ण जिम्मेवार सम्बन्धित ब्यक्तिलाई बनाउने सिद्धान्तमा आधारित छ । अहिलेको जिम्मेवारी बाँडफाँडले कसैलाई दोहोरो जिम्मेवारी,कसैलाई अरुको भर पर्नुपर्ने वा अरुले गर्ला नि भनेर पर्खनुपर्ने प्रकारको छैन । केन्द्रीय सदस्यहरुलाई संघीय र प्रदेश क्षेत्रसम्म, प्रदेश कमिटी सदस्यहरुलाई पालिका, जिल्ला कमिटी सदस्यहरुलाई वडा तह, पालिका कमिटी सदस्यहरुलाई टोल र वडा कमिटी सदस्यहरुलाई घर नै तोकेर जिम्मेवारी प्रदान गर्ने योजना छ । यसले हरेर नेपाली, व्यक्तिसम्मै पुग्ने सुनिश्चित गरेको छ ।
एमालेमा नेतृत्वबीच मतभेद,आलोचना र गुटगत समूह बढिरहेको देखियो,यसको निराकरण गर्न पार्टीले के योजना बनाएको छ ?
एमालेमा नीतिमा बिबाद छैन । नेतृत्वमा बिबाद छैन । शैलीगत भिन्नता हुनु स्वाभाविक हो । केही हदसम्म स्वार्थ समूहहरु बनेका देखिन्छन् । स्वभाव र शैली मिल्नेबीच हिमचिम स्वाभाविक हो भने त्यसरी हिमचिम नहुनेहरु टाढा देखिनु पनि अस्वाभाविक होइन । तर, पार्टीलाई अहितकर हुनेगरी नजिक र टाढा हुने तथा समूहबन्दी हुनु पार्टीका लागि खतरनाक हो । अहिले कयौं ठाउँमा यो अवस्था देखेरै पार्टीले जिम्मेवारीको ठोस वाँडफाँड र पार्टीमा देखिएका मतभेदहरुलाई योजनाबद्ध रुपमा खुम्च्याएर एकता निर्माण गर्ने योजना ल्याएको छ । आगामी दिनमा हामी पार्टीले ल्याएको यो योजनालाई सम्पूर्ण बुताका साथ कार्यान्वयमा लैजानेछौं ।
एमाले अब जनस्तरमा जाने आधारहरु के के हुन् ?
एमालेलाई जनतामा जाने आधारहरुको कुनै कमी छैन । एमाले सधै जनताबीच रहँदै आएको पनि छ । हामी जनताबाट कहिल्यै टाढा रहेका छैनौं । अहिले पनि एमालेका लाखौं नेता र कार्यकर्ताहरु जनताका समस्यासँग एकाकार भएरै तिनको समाधानमा प्रयासरत छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधीहरु पनि त्यसैगरी जनताका समस्यासँग एकाकार छन् र ती समस्याको समाधानका लागि निरन्तर क्रियाशिल छन् ।
एमाले जनतामा जाने हिजो एमालेले सरकारमा जाने मौका पाउँदा गरेका कामहरु हुन् । २०५१ मा मनमोहन नेतृत्वको सरकार र त्यसपछि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका जनपक्षीय कामहरु अनगिन्ती छन् । तिनीहरुलाई हामी सम्झाउनेछौं । हाम्रो पार्टीका कार्यक्रमहरु छन्, योजनाहरु छन् र हाम्रा दृष्टिकोणहरु छन् । यी सबै लिएर हामी जनताबीच निरन्तर गइरहनेछौं ।
अहिले नेपाली पत्रकारिताको अवस्थालाई कसरी मूल्यांकन गरिरहनुभएको छ ?
पत्रकारिता अहिले प्रविधीयुक्त बनेको छ र आउने दिनमा यो अझ प्रविधीयुक्त बन्नेछ । प्रविधी क्षेत्रमा भएको विकासले सबै क्षेत्रलाई प्रविधीसँग एकाकार बन्न वाध्य बनाए जस्तै पत्रकारिता पनि यसबाट अपवाद छैन । अहिलेको चुनौति पनि सामाजिक संजाल र पत्रकारिताबीच भेट छुट्टिने गरी पत्रकारिताले आफूलाई संचालन गर्नु । युट्युव चलाउनु सामाजिक संजाल चलाउनु हो भने पत्रकारिता गर्नु त्योभन्दा भिन्न हुनु अनिवार्र्य छ । पत्रकारिताले भ्यूजभन्दा सत्य, तथ्य,प्रमाण, पत्रकारिताका स्थापित मान्यता पछ्याउनु अनिवार्य हुन्छ । त्यसो गर्न नसक्दा पत्रकार र सामाजिक संजाल चलाउने एउटै प्रकारको हुनपुग्छ । मेरो विचारमा अहिले सबै क्षेत्र जस्तै पत्रकारिता पनि संक्रमणको अवस्थामा छ । यसको विश्वसनीयता निरन्तर बनाइराख्न पत्रकारिता क्षेत्रले निरन्तर प्रयास गरिराख्नुपर्छ । यो सामाग्री सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ प्रकाशन गरेको थियो ।