सिन्धुलीका ९ वटा स्थानीय तहका प्रमुखहरु मध्ये पृथक पहिचान बनाइरहेका पालिका अध्यक्षको नाम हो पुष्प कार्की । नेपाली कांग्रेसबाट निर्वाचित भएका गोलन्जोर गाउँपालिकाका अध्यक्ष कार्कीले गोलन्जोर गाउँपालिकामा नेपाली कांग्रेसलाई अझैं २० वर्षसम्म जितिरहने अबस्थामा पुर्याएको उद्घोष गरेकाछन् । सिन्धुलीका अन्य पालिका प्रमुखहरु कसैले पनि आफु निर्वाचित भएको दलले आउँदो निर्वाचनमा विजय हाँसिल गर्छ भनेर भन्न नसकिरहेका बेला कार्की सिन्धुलीमा पहिलो व्यक्ति हुन् जस्ले स्थानीय सरकार सञ्चालन सँगसँगै पार्टीलाई पबि मजवुत बनाईदिए । आसन्न नेपाली कांग्रेसको क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदका उम्मेदवार मानिएका कार्कीसँग सन्देश जनप्रिय साप्ताहिकले लामो कुराकानी गरेको थियो । सोही कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ-सम्पादक ।
नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएको चार वर्ष पुरा भइसकेको छ । चार वर्षको अवधीमा गोलन्जोरका जनताले देख्ने र महशुस गर्ने के के काम गर्नुभयो ?
खासगरी हामीले जनताको मनछुने र देखिनेगरी शिक्षा क्षेत्रमा परिवर्तन गर्ने प्रयास गरेकाछौं । जसको परिणाम तत्कालै देखिंदैन । यस बीचमा सामुदायिक विद्यालयमा संस्थागत विद्यालयको भन्दै धेरै राम्रो गुणस्तरिय पठनपाठन प्रारंभ भइरहेको छ, अंग्रेजी र नेपाली माध्यमबाट कक्षा १ देखी १० सम्मै पठन पाठन प्रारंभ भएकोछ । जसले गर्दा गोलन्जोरको शैक्षिक गुणस्तर माथि उठेको छ । हामीले सामुदायिक विद्यालयहरुमा स्कुल बसको व्यवस्थापन गर्दै जानेछौं । वालवालिकाहरुसँग एक पैसा पनि नलिईकन घरकै ढिँडो खाएर पढ्ने वातावरण मिलाएका छौं । जसले गर्दा नजिकै रहेका संस्थागत विद्यालयहरु बन्द हुने अबस्थामा पुगेकाछन् । त्यसैगरी विद्यालयमा कृषि, पशु र शिभिल इन्जिनियरिङ्गसँग सम्बन्धित पढाईका कक्षाहरु सञ्चालन भएकाछन् ।
स्वास्थ्य क्षेत्रमा पनि हामीले त्यत्तिकै सुधार गरेका छौं । शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले हामीले गोलन्जोरका जनताको जनस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौं । विकट एवम् दुर दराजमा रहेका एक डेढ घण्टा हिड्नु पर्ने अबस्थाका जनतालाई स्वास्थ्य सेवामा सहज पहुँज पुगोस् भन्ने उदेश्यले अस्थायी स्वास्थ्य चौकी स्थापना गर्नुका साथै स्वास्थ्यकर्मीको व्यवस्था मिलाएका छौं । नेपाल सरकारले दिंदै आएको निःशुल्क औषधीमा थप ५ वटा औषधी उपलव्ध गराउँदै आएकाछौं । त्यसैगरी गर्भवती आमा र शिशुको पोषणका लागि पहिलो पटक स्वास्थ्य संस्थामा जाँचका लागि आउँदा १ क्रेट अण्डा उपलब्ध गराउँदै आएका छौं भने सुत्केरी हुनका लागि जुनसुकै ठाउँमा लैजानका लागि निःशुल्क रुपमा एम्बुलेन्सको व्यवस्था गरेकाछौं । अझ कोरोनाको महामारीको सन्दर्भमा भन्ने हो भने हामीले एमविबिएस डाक्टर र स्वास्थ्यकर्मी मार्फत उपचार गराएका छौभने कोही विरामी स्वास्थ्य संस्थामा आउन सकेनौं भनेर खबर गरेमा निःशुल्क रुपमा एम्बुलेन्स पठाएर उपचार गरिरहेका छौं । संविधानत हामी समाजवादी पनि हौं । जननेता विपी कोइरालाले परिकल्पना गर्नुभएको लक्ष्यमा पुग्नका लागि पहिलो सर्त भनेकै शिक्षा र स्वास्थ्य हो । त्यही कारणले पनि हामीले शिक्षा र स्वास्थ्य जस्ता आभारभूत कुराहरुलाई प्राथमिकतामा राखेका छौं ।
गोलन्जोर गाउँपालिका गाउँ गाउँमा सडक पुगेको छ । टोल टोलमा खानेपानी पुगेको छ । निर्वाचनका क्रममा मैंले जनताको दैलोमा गएर गरेका वाचाहरु सबै पुरा भएपनि सम्वृद्धिका लागि अझैं धेरै कामहरु गर्न बाँकीनै छन् । गाउँपालिका लाई सम्बृद्ध र जनतालाई खुशी बनाउनका लागि हामीलाई अझैं आठ/दश वर्ष लाग्न सक्छ । किनकी आजको भोलीनैं परिवर्तन हुन संभव पनि छैन । आर्थिक सिमितता र संघीय एवम् प्रदेश सरकारको पूर्वाग्रह पूर्ण विकास वितरणका कारणले पनि हामीलाई अप्ठेरो भएको छ । नियमले पाउने भन्दा हामीले कुनै पनि योजना र बजेट प्राप्त गर्न सकेनौं । त्यही कारणले हामीले गोलन्जोरमा उद्योग ग्राम स्थापनाको काम गर्न सकेका थिएनौं तर भर्खरै संघीय सरकारका तर्फबाट ९० लाख रुपैयाँ प्राप्त गर्ने माध्यम बनेकोछ । हामी गोलन्जोर गाउँपालिकाका युवालाई आफ्नै गाउँमा रोजगारी दिनेगरी कार्ययोजना बनाइसकेका छौं । भौगोलिक विकटताले गर्दा पनि हामीले सोचे जस्तो काम गर्न सकिरहेका छैनौं । तर कृषि र पशुपालका क्षेत्रमा हामीले उल्लेख्य काम गरेका छौं । किसानहरुको आर्थिक अबस्था माथि उठाउनका लागि गाउँपालिकाले निकै ठूलो लगानी गरेकोछ । पालिकामा ९ सय ९८ कृषि फर्महरु दर्ता भएकाछन् । हामीले उनीहरुलाई अनुदान मात्रै होइन प्राविधकि हिसावले पनि सहयोग गरिरहेका छौं र उहाँहरु हामीसँग निरन्तर जोडिइरहनु भएको छ । हामीले युवाहरुलाई कहीं नकहीं रोजगारीमा जोड्नुपर्छ भनेर काम गरिरहेका छौं । पर्यटनको क्षेत्रमा साचेजति काम भएन । तर साइकल जोन, भ्युटावर र र्याफटिङ्गको योजनाहरु अगाडि बढाएका छौं । यो योजना सम्पन्न हुँदा यसले समग्र गोलन्जोरलाई आर्थिक रुपमा धान्न सक्छ भन्ने ठानेका छौं । तर रकम भवावले गर्दा ती योजनाहरु पुरा भएका छैनन् । ती योजना पुरा गराउनका लागि म भौतिक मन्त्रालय, पर्यटन मन्त्रालय, योजना आयोग र पर्यटन वोर्डमा पुगेको छु, प्रस्ताव बुझाएको छु । बाग्मती प्रदेशमा धेरै पठक कुरा राखेको थिएँ तर कतैबाट पनि सुनुवाई भएन । भौतिक पूर्वाधारको क्षेत्रमा जनताले अनुभूत गर्नेगरी काम गरेकाछौं । ५ वर्षभित्र अन्य गाउँपालिका वा नगरपालिका भन्दा अब्बल बनाउने योजनाका साथ हामी अगाडि बढेकाछौं । गोलन्जोर गाउँपालिकालाई नमुना गाउँपालिका बनाउँदै आफ्नो लक्ष्यमा पुग्नका लागि हामी निरन्तर प्रयास गरिरहेकाछौं ।
तपाईले गोलन्जोरको सम्बृद्धिको सपना देखिरहनुभएको छ त्यो कसरी पुरा हुन्छ त्यसका आधारहरु के के हुन नि ?
मुल रुपमा भन्ने गरिन्छ, सम्बृद्धिका मुख्य आधार भनेको स्थायित्व, विकास र सुशासन हो । तर त्यसलाई व्यवहारमा कसैले पनि इमान्दिारिताका साथ प्रयोगमा ल्याएको देखिएन । गोलन्जोरको सम्बृद्धिका लागि मैंले तीनवटा आधारहरु देखिरहेको छु । पहिलो कुरा भनेको विदेशमा रगत पसिना र श्रम खर्चिरहेका युवा शक्तिलाई आफ्नै गाउँमा प्रयोग गर्नु हो । त्यसका निम्ती उनीहरुले गाउँमै रोजगारी प्राप्त गर्ने अबस्थाको सिर्जना गरिनु हो । त्यसका निम्ती कृषि पशु र उद्योग मार्फत ठूलो संख्यामा विदेशिएको श्रम शक्तिलाई प्रयोगमा ल्याउन सकियो भने त्यो शक्तिले हामीलाई सम्बृद्धिको मार्गमा लैजाने छ । त्यसका निम्ती सही योजना र त्यही अनुसारको सोच चाहिन्छ । दोस्रो कुरा भनेको शिक्षा र स्वास्थ्यलाई निःशुल्क रुपमा आम जनताको पहुँचमा पुर्याइनु पर्छ ।
तेस्रो कुरा भनेको सुशासन, पारदर्शिताका साथ आवश्यक्ताका आधारमा भौतिक पूर्वाधारका योजनाहरु सञ्चालन गरिनु पर्छ । जसले जनताका दैनिक क्रियाकलापहरु, उनीहरुका उत्पादनहरु बजार लैजान र ल्याउनका लागि महत्वपूर्ण सहयोगी बनोस् । हामीले विगतमा भएका कमी कमजोरीबाट पाठ सिक्दै यसपटक गाउँपालिकाबाट कार्यसम्पादन भएका कामहरु नियम संगत र विधीसंगत ढंगले गरिरहेका छौं । आर्थिक ऐन र कार्यविधीहरुलाई कडाईका साथ फलोअप गरेकै कारण बेरुजु रकम घटाएका छौं । विगतमा जस जसले हाम्रो पालिकाको आलोचना गरेका थिए, उनीहरु यसपटक बोल्न सकिरहेका छैनन् । किनकी सुशासन र पारदर्शितामा एकै पटक सुधार हुन नसक्ने रहेछ । विकास र सम्बृद्धिको सोचका साथ अगाडि बढ्दा गर्न नसकिने भन्ने कुरा भन्ने कुरा हामीले महशुस पनि गरेका छौं ।
त्यसैले सम्वृद्धिका मुख्य आधारहरु विकासमा सहकार्य, साझेदारी र एकता एकै साथ आउने विषय हुन् । कतिपय लालबुझक्कडहरूले यही विषयलाई ठ्याक्कै सत्ताको साझेदारी सम्झिने गर्छन् । अहिलेको राजनैतिक अबस्था र दलिय स्वार्थमा अडिएको राजनैनितिक गतिविधीले गाउँको विकासमा साझेदारी बनाउने प्रयासहरु विफल भएको देखिंदैछ । तर पनि हामीले समुदायमा आधारित विकास र रोजगारीका लागि साझा प्रयासहरू एकत्रित गरिरहेका छौं । यसका लागि राजनीतिक इच्छा, अभीष्ट र सिद्धान्त एकै हुनुपर्छ भन्ने छैन । विकासका एजेन्डा र मुद्दाहरूलाई साझा रूपमा आत्मसात गरेर एउटै अठोट, एकता र सहकार्यको सम्झौता हुन जरुरी छ । विकास नेतामुखीभन्दा नीतिमुखी हुनुपर्छ । नेता, कार्यकर्तास्तरमा गरिने विकास गुणस्तर दिगो र जनमुखी कहिल्यै हुन सक्तैन भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ ।
प्रसंग बदलौं, नेपाली कांग्रेसको क्षेत्र नं. १ को अधिवेशनमा तपाई सभापति पदको प्रत्यासी बन्दै हुनुहुन्छ भनेर कांग्रेस कार्यकर्ताहरुका बीच चर्चा चल्न थालेको छ, वास्तविकता के हो ?
नेपाली कांग्रेसको विचार सिद्धान्त र त्यसैको जगमा उभिएर ठिङ्ग उभिएको एउटा कांग्रेस कार्यकर्ताले आफ्नै पार्टी र संगठन भित्र हुने आन्तरिक र लोकतान्त्रिक प्रतिस्पर्धामा भाग लिन्छु भन्नु स्वाभाविक कुरा कुराहरु हुन् । मैंले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेको त छैन तर सबैतिरबाट तपाई १ नम्बर क्षेत्रको क्षेत्रीय सभापति बन्नु पर्छ भनेर साथीहरुले भनिरहनु भएको छ । उहाँहरु आफैंले मेरो पक्षमा मत मागिरहनु भएको थाहा पाएको छु । विगतमा क्षेत्रीय सभापतिको नेतृत्व गर्ने साथीबाट पार्टी र संगठनलाई धक्का पुग्यो, कांग्रेसले स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा सही भूभिका निर्वाह गर्न सक्नु भएन भन्दै मलाई साथीहरुले उम्मेदवार बन्न झक्झकाईरहनु भएको छ । त्यही कारणले पनि तपाईले पुष्प कार्की क्षेत्रीय सभापतिको उम्मेदवार बन्दैछन् भन्ने कुरा सुन्नु भएको हुनुपर्छ । म अहिले जिल्ला पार्टीका अग्रज नेतृत्वसँग उम्मेदवारी दिने विषयमा छलफल गरिरहेको छु । केही दिनभित्रै औपचारिक कार्यक्रम मार्फत मेरो उम्मेदवारी घोषणा गर्ने सन्दर्भमा कुुरा अगाडि बढिरहेको छ ।
तपाईको कुरा सुनेपछि अब तपाई क्षेत्रीय सभापतिको उम्मेदवार बन्ने निश्चित भयो हैन ?
यो कुरा मेरो मात्रै होइन, गोलन्जोर गाउँपालिकाका साथीहरुको मात्रै होइन, दुधौली र तीनपाटन गाउँपालिकाका अग्रज नेता र सहकर्मी साथीहरुको सल्लाह अनुसारनैं म अगाडि बढ्ने हो । उहाँहरुले तपाई उठ्नुपर्छ भनिसकेपछि म पछाडि हट्ने भन्ने कुरै भएन नि ? म क्षेत्रीय सभापतिको उम्मेदवारनैं हुँ । केही दिन पछि सार्वजनिक गरिहाल्छु नि ?
क्षेत्रीय सभापतिमा अन्य आकांक्षी उम्मेदवारहरु पनि सामाजिक सञ्जालमा देखिए । अरु उम्मेदवार भन्दा मतदाताले तपाईलाईनैं किन रोज्ने ?
मैंले वारम्वार भन्ने गरेको छु । पुष्प कार्कीले गोलन्जोरमा कांग्रेसलाई २० वर्षसम्म जितिरहने बनाईदिन्छु । मैंले यो दाबी गरिरहँदा कांग्रेस जिल्ला नेतृत्व र अन्य साथी भाईलाई मैंले कहिल्यै प्रश्न उठाउने ठाउँनैं दिएको छैन । अध्यक्षात्मक प्रणालीबाट चल्ने भएपनि मैंले गोलन्जोरमा सबैलाई विकास र सम्बृद्धिको एजेण्डामा सँगसँगै लगिरहेकोछु । विकास र सम्वृद्धिलाई मुख्य आधार बनाएर अगाडि बढ्दा आम जनताले साथ दिनुहुन्छ भन्ने कुरा कसैबाट लुकेको छैन । त्यसैले म प्रष्ट रुपमा भन्न चाहान्छु: कि पुष्प कार्की पार्टीको क्षेत्रीय सभापति बन्यो भने नेपाली कांग्रेसका नेता कार्यकर्ताको शिर कहिल्यै झुक्न दिन्न, कांग्रेस कार्यकर्ताको भावनामा चोट पुर्याउँदैन । पार्टीलाई कमजोर होइन, बलियो बनाउँछ र दुःखमा परेका कार्यकर्ताको भावना बुझ्छ, कांग्रेस पार्टीमा लागेकै कारणले कोही कसैले दुःख हैरानी पाएभने उसले सहयोग गर्छ भन्ने कुराहरुकै कारण आम कार्यकर्ताहरुले पुष्प कार्की क्षेत्रीय सभापति बन्नु पर्छ भन्ने आवाज उठाइरहेका हुन् । मुख्य रुपमा अन्य उम्मेदवार भन्दा मेरो अलि पृथक पहिचान छ भन्नेनैं हो । यो कुरा मैंले होइन, आम कांग्रेसका नेता कार्यकर्ताहरुले महशुस गर्ने र बुझ्ने कुरा पनि हो ।
त्यसो भए तपाईका चुनावी एजेण्डाहरु यिनै हुन् त ?
सारमा त चुनावी एजेण्डाहरु तीनै हुन् । तर त्यसलाई एउटा इमान्दार र निष्ठावान कांग्रेस कार्यकर्ता र प्रतिनिधीले सहजै बुझ्ने र महशुस गर्ने एजेण्डाहरु, उसका काम गराईहरु अनि मैंले भोट दिने उम्मेदवारले नेपाली कांग्रेसको पुरानो विरासतलाई निरन्तरता दिन सक्छ कि सक्तैन भन्ने कुरा पनि ख्याल गरिरहनु भएको छ । राजनीति भनेको विसुद्ध समाज सेवा हो । पार्टीको नाममा, पदमा पुगेर आफु बलियो बन्ने तर सिंगो कांग्रेस पार्टी र संगठनलाई कमजोर बनाउनेहरुका विरुद्ध मेरो उम्मेदवारी हो । मैंले अगाडिनैं भनिसकेको थिएँ, मलाई क्षेत्रीय सभापतिमा विजयी गराउनुभयो भने म नेपाली कांग्रेस पार्टीको सदस्य भएकै कारण कोही पनि कार्यकर्तालाई दुःखी बन्न दिने छैन । उपचार नपाएर मर्न दिने छैन, पार्टी र संगठन ध्वस्त पार्ने तर व्यक्तिगत रुपमा आफु मोटाउने छैन । कोही पनि युवाहरु वेरोजगार बन्न दिने छैन । म आफ्नो क्षेत्रमा नेपाली कांग्रेसलाई जनजनमा मनमनमा बसाउन र बलियो बनाउनका लागि आफ्नो सम्पूर्ण उर्जा खर्च गर्ने छु । मैंले आगामी दिनमा नेपाली कांग्रेसलाई पहिलो नम्वरको पार्टी बनाउनका लागि अग्रन नेताहरु र सहकर्मी साथीहरुको सहयोग लिएर अगाडि बढ्ने योजनानैं बनाएको छु । त्यसैले मुल रुपमा मेरा एजेण्डाहरु यिनैं हुन् । त्यसबाट म अलिकतिपनि बिचलित हुने छैन ।
अन्त्यमा के सन्देश दिन चाहानुहुन्छ ?
हामीले ४ वर्षको अवधीमा गोलन्जोर गाउँपालिकामा जे जति काम गरेका छौं, ती कामहरु जनताले महशुस हुनेगरी, देख्नेगरी र छुनेगरी गरेका छौं । नेपाली कांग्रेसको चुनावी घोषणापत्र र मैंले व्यक्तिगत रुपमा जनताका बीचमा गरेका सबै बाचाहरु पुरा गरेको छु । तर अझैं केही कामहरु गर्न बाँकीछन् । गोलन्जोरको सम्बृद्धिका लागि थालिएका अपुरा योजनाहरु पुरा गर्नु र आर्थिक रुपमा नागरिकहरुलाई सवल बनाउन मैंले थालेका कामहरुमा तपाई जनप्रतिनिधी साथीहरु र मतदाताले साथ दिइरहनु भएको छ । त्यसप्रति म अत्यन्तै अभारी छु । गोलन्जोरको सम्बृद्धि र विकासको योजनामा निरन्तर साथ दिनुस्, म तपाईको मतलाई कहिल्यै खेरजान दिने छैन । काँही कतै कमजोरी भएका छन् भने मलाई औंल्याईदिनुस्, म त्यसलाई करेक्सन गरेर अगाडि बढ्ने छु ।