भारतमा एकैदिन १ लाख ८५ हजार कोरोना संक्रमित थपिए

भारतमा मंगलबार एकदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित थपिएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार १ लाख ८५ हजार २ सय ४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

पछिल्ला केही दिनयता भारतमा लगातार दैनिक डेढ लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्।

कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै भारत धेरै संक्रमित भएका देशमध्ये संसारमै दोस्रो नम्बरमा आएको छ। भारतले यसअघि दोस्रो नम्बरमा रहेको ब्राजिललाई पछि पारेको हो।

बुधबारसम्म धेरै संक्रमित भएका देशमध्ये अमेरिका पहिलो नम्बरमा छ। अमेरिकामा हालसम्म ३ करोड २० लाखलाई कोरोना संक्रमण भएको छ भने ५ लाख ७७ हजारको ज्यान गएको छ। भारतमा १ करोड ३८ लाख मानिसमा संक्रमण हुँदा १ लाख ७२ हजारले ज्यान गुमाएका छन्। तेस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमण भारतको भन्दा २ लाख कम भए पनि मृत्यु भने ३ लाख ५८ हजार छ।

भारतमा अहिले फैलिएको कोरोनाभाइरसको लहर पोहोर साल फैलिएको पहिलो लहरभन्दा खतरानाक भएको विज्ञहरूले बताएका छन्। भारतमा अहिले विभिन्न भेरियन्ट (प्रकार) का कोरोना फैलिरहेका छन्। विज्ञहरूका अनुसार यी भेरियन्ट बढी संक्रामक र घातक छन्।