कोरोनाभाइरस खोप: इटलीले रोक्यो अस्ट्रेलिया पठाउन लागिएको खोप

इटली सरकारले कोरोनाभाइरसविरुद्धको अक्सफोर्ड आस्ट्राजेनेका खोप अस्ट्रेलिया पठाउन रोकि दिएको छ।

उक्त निर्णयले गर्दा इटलीस्थित आस्ट्राजेनेकाको कम्पनीमा निर्मित २ लाख ५० हजार खोप पठाइने योजना प्रभावित भएको छ। अस्ट्रेलियाले एउटा खेप आफूले पाउन नसक्दैमा खोप अभियान प्रभावित नहुने बताएको छ।

युरोपेली सङ्घ (ईयू) को नयाँ नियम प्रयोग गर्दै कदम चाल्ने इटली पहिलो युरोपेली देश बनेको छ। उक्त नियममा यदि कम्पनीले ईयूलाई दिने वाचा गरेअनुसार खोप उपलब्ध गराउन नसकेमा उसका उत्पादन निर्यात गर्न रोक्न सकिने प्रावधान छ।

इटलीको कदममा युरोपेली आयोगको साथ रहेको समाचारहरूमा जनाइएको छ।

आस्ट्राजेनेका यो वर्षको पहिलो तीन महिनामा दिने भनि सम्झौता भएको ४० प्रतिशत खोप सदस्य राष्ट्रहरूलाई उपलब्ध गराउने चरणमा छ। उसले उत्पादनमा आएको समस्यालाई ढिलाइको कारण बताएको छ।

खोप

ज्यानुअरी महिनामा इटलीका तत्कालीन प्रधानमन्त्रीले आस्ट्राजेनेका र फाइजर दुवैले खोप आपूर्तिमा गरेको ढिलाइ अस्वीकार्य भएको बताउँदै कम्पनीहरूमाथि करार उल्लङ्घन गरेको आरोप लगाएका थिए।

खोप अभियानको सुस्त गतिलाई लिएर ईयूको व्यापक आलोचना भइरहेको छ।

गत वर्षको जुन महिनामा स्थापित ईयू खोप योजनाअन्तर्गत उसले सदस्य राष्ट्रहरूको तर्फबाट खोप खरिद गर्ने सम्झौता गरेको थियो।