नाइजेरियामा तीन सय भन्दा धेरै विद्यार्थीकाे अपहरण: सरकार डाँकाहरुसँग झुक्दैन: राष्ट्रपति बुहारी

Compressed by jpeg-recompress

नाइजेरियामा सशस्त्र समूहले एक विद्यालयबाट ३ सय भन्दा धेरै विद्यार्थीलाई अपहरण गरेको घटनामा राष्ट्रपति मोहम्मद बुहारीले सरकार ब्ल्याकमेलमा नफस्ने चेतावनी दिएका छन्।

स्कुले बालबालिकाको अपहरणलाई अमानवीय र सम्पूर्ण रुपमा अस्वीकार्य गर्ने बताउँदै राष्ट्रपति बुहारीले सरकार लुटेराहरुसँग नझुक्ने बताएका हुन्।

उनले फिरौती रकम असुल्नका लागि बालबालिकाहरुलाई निशाना बनाइनु गम्भीर अपराध रहेको बताए।

उनले यो समयको सबैभन्दा ठूलो प्राथमिकता अपहरणमा परेका सबै विद्यार्थीको सकुशल उद्धार रहेको पनि बताएका छन्।

उनले बन्दुकधारीहरुकाविरुद्ध सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्न सक्ने भए पनि स्कुले बालकालिकामा कुनै क्षति नहोस् भनेर सरकार सचेत बनेको पनि बताए।

नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३१७ विद्यार्थीलाई अपहरण गरेको हाे। अपहरित विद्यार्थीको खोजी भइरहेको त्यहाँकाे सरकारले बताएकाे छ।

स्थानीयका अनुसार एक आपराधिक सशस्त्र डाँकाहरूको समूहले उत्तरपश्चिम क्षेत्रको विज्ञान विषय पढाई हुने उक्त विद्यालयबाट विद्यार्थीहरूलाई अपहरण गरी लगेका हुन्।

पछिल्ला वर्षहरूमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महत्वपूर्ण सम्पत्ति लुट्ने गरेका घटनाहरू पटकपटक सञ्चारमाध्यममा आएका छन्।

गत हप्ता पनि उक्त समूहले यही क्षेत्रबाट ४२ किशोरलाई विद्यालयबाट अपहरण गरेका थिए।

गत डिसेम्बरमा पनि कन्कारा र राष्ट्रपति मुहम्मद बुहारीको गृहराज्य कात्सिनाबाट उनी त्यही राज्यमा भ्रमण गरिरहेका समय विद्यालयका करिब ३०० किशोरहरूलाई अपहरण गरेका थिए। दुई महिना पहिलेको उक्त अपहरणको केही समयपछि विदार्थीहरूलाई छोडिएको थियो।