उडान लगत्तै इन्जिनमा आगाे लागेपछि युनाइटेड एअरलाइन्सका २४ विमान ग्राउण्डेड

उडान लगत्तै इन्जिनमा समस्या आएर आगलागी भइ एक भाग खसेपछि अमेरिकाको युनाइटेड एअरलाइन्सले आफ्ना २४ विमान ग्राउण्डेड गरेको छ।

बोइङ्ग ७७७ विमान शनिबार डेन्वरबाट उडान भरेपछि इन्जिनमा समस्या आइ एक भागमा आगलागी भएको थियो। त्यसपछि सो संस्करणका २४ विमान ग्राण्डेड गरिएको युनाइटेड एअरलाइन्सले जनाएको छ।

२३१ जना यात्रु र चालक दलका १० सदस्यसहित उडान भरेको विमानको इन्जिनमा समस्या आइ आगलागी भएपछि डेन्वर विमानस्थलमै आकश्मिक अवतरण गरिएको थियो। सो विमानमा रहेका सबै सकुशल रहे । विमानको भग्नावशेष ब्रूमफिल्डका एक बासिन्दाको घरको बगैँचामा खसेको थियो।

सो घटनापछि जापानले बोइङ्ग ७७७ जहाज प्रयोग गर्ने एअरलाइन्सहरुलाई आफ्नो हवाई क्षेत्र प्रयोग नगर्न भनेको छ।

होनोलुलुका लागि डेन्वरबाट उडेको युनाइटेड एअरको सो विमानको दायाँ भागको इन्जिनमा समस्या आएको संघीय उड्डयन प्रशासन (एफएए) ले जनाएको छ।

एएफएले प्राट एण्ड ह्वीट्नी ४००० इन्जिन रहेका बोइङ्ग ७७७ को थप परीक्षण गर्न निर्देशन दिएको छ। एफएएले इन्जिन उत्पादक कम्पनी र बोइङ्गका प्रतिनिधिसँग यस सम्बन्धमा छलफलको तयारी पनि गरेको छ।