म्यानमारका प्रदर्शनकारीमाथि बल प्रयोग, कम्तीमा दुई प्रदर्शनकारीको मृत्यु

म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शनमा सहभागी भएका मध्ये कम्तीमा दुईजनाको मृत्यु भएको छ। प्रदर्शनकारीमाथि सुरक्षाकर्मीको ज्यादतीका कारण कम्तीमा दुई प्रदर्शनकारीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

म्यानमारमा पछिल्लो दुई हप्तादेखि सैनिक शासनक विरुद्ध प्रदर्शन हुँदै आएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न गोलाबारुदको प्रयोग गरेको छ । कम्तीमा २० जना घाइते भएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो । सेनाले गएको नोभेम्बर ८ मा भएको चुनावमा धाँधली भएको आरोप लगाउँदै नेतृ आङ साङ सूकीसहितलाई नियन्त्रणमा लिएर सत्ता हत्याएको हो । सो चुनावमा सूकीको पार्टीले अत्याधिक बहुमत ल्याएको थियो ।

सेनाले सत्ता हत्याएसँगै सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुहरु पनि प्रदर्शनमा उत्रिएका छन् । दबाबमा आएको सैनिक नेतृत्वले पछिल्ला दिनमा प्रदर्शनकारीमाथि बल प्रयोग गर्दै आएको छ ।

म्यानमारको दोस्रो ठूलो शहर मान्दालायले भएको प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गर्दा कम्तीमा दुईजनाको ज्यान गएको हो । प्रहरीको गोली लागेर मृत्यु हुनेमा ३६ वर्षका पुरुष र १८ वर्षमुनिका अर्का एक किशोर रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि गएको शुक्रबार एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । ९ फेब्रुअरीमा टाउकोमा प्रहरीको गोली लागेकी ती महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।