प्रचण्ड लोकप्रियछौं भन्ने लाग्छभने ‘जनमत’मा आउनुहोस्, मान्छे हैन, मतपत्र निकालेर गनौंला : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिको यात्रा पूरा गर्न खोज्दा आफूलाई हटाउन खोजिएको बताएका छन् ।
बुटवल नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको समृद्धिको सपना पूरा गर्न नदिने समूहले अहिले सडकमा डम्फु बजाइरहेको बताए।

‘देश बनाउने आफ्नो उदेश्यसँग नमिलेका, समृद्धिको सपना नदेख्ने र अरुले देखे पनि पूरा गर्न नदिने तत्वहरू सरकार र पार्टीबाट बाहिरिएर सडकमा डम्फु बजाइरहेका छन्,’ उनले भने।

प्रचण्डले विगतमा सर्वसाधारणलाई अनेक सपना देखाएर झुक्याएर सत्तामा जाने भर्‍याङ बनाएको भन्दै उनले आफूलाई लोकप्रिय छौ भन्नेहरू चुनाव किन डराएको भनि प्रश्न गरे।

उनले भने, ‘यदि कसैलाई आफू लोकप्रिय छौं भन्ने लाग्छ भने जनमतमा आउनुहोस्। मान्छे हेर्ने मात्रै किन ? गनौंला नि बाकसबाट मतपत्रै निकालेर गनौंला नि। कसको समर्थनमा कति भन्ने ? ५० लाख हामी समानुपातिक मत ल्याउँछौं घटाएर देखाउनुहोस् न त्यो मत। हामी प्रत्यक्षतर्फ बहुमत सिट ल्याउँछौं घटाएर देखाउनुहोस् न। किन आत्तिनुभएको चुनावबाट ?’

आफूले दलहरू आन्दोलित र विभाजित भएको बेला ५० वर्षभन्दा अगाडि एक तारे एकीकरणको अभियान सुरू गरेको र तीन वर्षअगाडि माओवादी केन्द्र र एमालेलाई मिलाएर एउटा सशक्त कम्युनिष्ट पार्टी बनाउने अगुवाई गरेको स्मरण गर्दै देश बनाउने नभई आफू बन्ने उद्देश्य बोकेकाहरूले काम गर्न नदिएको प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले आफूले देश र पार्टी बनाउन खोज्दा पार्टी छोडेर हिँडेको बताए। आफूलाई सांसद किनबेच गरेर साँठगाँठ गरेर पार्टी फुटाएर पदबाट हटाउन षड्यन्त्र गरिएको उनले बताए।
प्रधानमन्त्री ओलीले तीन वर्षको अवधिमा सरकारले असाधारण विकासका काम अगाडि सारेको उल्लेख गर्दै विकास देख्न नचाहने तत्व अत्तालिएको बताए।

‘हाम्रा विरोधीहरू त्यसै अत्तालिएका होइनन्, तीन वर्षमा गरेको काम देखेर अझै दुई वर्ष काम गर्न दिने हो भने आफू विलय हुने डरले अत्तालिएका हुन्,’ उनले भने।

आफू प्रधानमन्त्री भएपछि नेपाल विश्वमाझ चिनिन र सुनिन थालेको भन्दै ओलीले राष्ट्र, राष्ट्रियता र स्वाभिमानका सवालमा आफू कसैसामु कहिल्यै नझुक्ने बताए।

ओलीले अदालतले देशलाई अस्थिरतातर्फ धकेल्ने गरी निर्णय नगर्नेमा आफू विश्वस्त रहेको बताए।
ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालतर्फ लक्षित गर्दै भने , ‘एक हुल मान्छे जम्मा गरेर ‘मान्छे हेर्न यहाँ आऊ’ भन्नेहरूलाई बुटवलको जनसभा हेर्न म चुनौती दिन्छु।’