राष्ट्रपतिलाई सत्ताच्यूत गर्ने प्रयासः २५ औँ संशोधन प्रस्ताव तल्लो सदनबाट पारित

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले संविधानको २५ औँ संशोधन सक्रिय बनाउने उपराष्ट्रपतिलाई आग्रह गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ।

स्थानीय समय अनुसार मंगलबार बेलुका भएको मतदानमा तल्लो सदनले संविधानको २५ औँ संशोधनलाई सक्रिय बनाई राष्ट्रपतिबाट डोनाल्ड ट्रम्पलाई हटाउन आग्रह गर्ने सम्बन्धी प्रस्ताव पास गरेको हो।

संविधानको २५ औँ संशोधनको सेक्सन ४ मा उपराष्ट्रपतिले बहुमत मन्त्रीहरुको साथमा राष्ट्रपतिलाई शक्तिहिन गर्न सक्ने व्यवस्था रहेको छ।
तर उपराष्ट्रपति माइक पेन्सले सो व्यवस्था अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारिसकेका छन्।

सभामुख न्यान्सी पेलोसीले उपराष्ट्रपति पेन्ससँग २५ औँ संशोधनको व्यवस्था सक्रिय पारेर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने पक्षमा रहे–नरहेको जानकारी दिन पत्र पठाएकी थिइन्। त्यसको जवाफमा उपराष्ट्रपति पेन्सले आफू त्यसको पक्षमा नरहेको जानकारी गराएका हुन्।

त्यसपछि तल्लो सदनले २५ औँ संशोधन सक्रिय बनाएर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउन उपराष्ट्रपतिलाई आग्रह गर्ने प्रस्ताव पारित गरेको हो।

तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव समेत दर्ता भएको छ। सो प्रस्तावमा बुधबार (स्थानीय समय अनुसार) मतदानको तयारी भएको छ।

तल्लो सदनबाट महाअभियोग सम्बन्धी प्रस्ताव पारित भएमा दोस्रो पटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति बन्ने छन् ट्रम्प।

गएको बुधबार संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि आफ्ना समर्थकलाई उक्साएको र बिद्रोहको अवस्था निम्त्याएको अभियोग ट्रम्पमाथि छ।

संसद भवनमा भएको बिद्रोह तथा आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएपछि ट्रम्पलाई राजीनामा गर्न वा उपराष्ट्रपति पेन्सलाई संवैधानिक व्यवस्था अनुसार सत्ता आफ्नो हातमा लिन दबाब परिरहेको छ।

यी दुवै विकल्प सक्रिय नभएको अवस्थामा महाअभियोग लगाउने तयारी भएको हो। सो अनुसारसदनमा महाअभियोग प्रस्तावमाथि मतदान हुने भएको छ।