मतमाग्ने क्रममा जनताको दैलोमा गरेका सबै प्रतिवद्धता पुरा गरिसकेको छु: रामवहादुर तामाङ, वडाध्यक्ष,कमलामाई नगरपालिका

कमलामाई नगरपालिका वडा नं. ११ का वडाध्यक्षका उम्मेदवार बनेका रामवहादुर तामाङ साविक रानीचुरी गाविसमा लोकप्रिय मानिन्छन् । साविक नेपाल कम्युनिष्ट पार्टी (एमाले) हालको नेकपाबाट निर्वाचित बनेका उनले आफ्नो कार्यकालमा आफ्नँ मतदाताको घरलाई सडकले जोड्ने,खानेपानी झार्ने र बिजुली बत्तीले झलमल पार्ने सपना देखे । निर्वाचित भएको पहिलो वर्षमैं उनले वडाको अधिकांश बजेट स्थानीय पार्टी कमिटीबाट अनुमोदन गराएर सडक बिस्तारमा खर्चिए । व्यक्ति होइन पार्टी ठूलो हो र व्यगित हित भन्दा आम जनताको हितका निम्ती बिकासका योजनाहरु निर्माण गर्नुपर्छ भन्ने दृढ मान्यता राख्ने उनी राजनैतिक रुपमा पनि त्यत्तिकै खारिएका छन् । सत्तारुढ नेकपाको केन्द्रमा देखिएको कलहलाई उनले घरझगडाको संज्ञा पनि दिए । उनी अगाडि भन्छन्ः अहिले पार्टी हेर्डक्वार्टरमा जे नहुनु पर्दथ्यो, त्यही भइरहेको छ, त्यसले तल्लो तहका पार्टी कमिटी र कार्यकर्ताहरुलाई पनि समस्यामा पारिहेको छ । अहिलेको यो समस्या भनेको नितान्त घर झगडा हो र त्यो व्यक्तिगत लाभ हानी र पद प्राप्तीका विषयमा केन्द्रीत देखिएकाहुन् । जनताका बीचमा लोकप्रिय बन्दै गएका तामाङसँग प्रदेशखवर डट.कमले लामो कुराकानी गरेको थियो । सोही कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ । सम्पादक
कमलामाई नगरपालिका वडा नम्बर ११ को अध्यक्षका उम्मेदवार बनेर जनताको दैलोमा मत माग्ने क्रममा जनताका के कस्ता समस्याहरु देख्नुभएको थियो ?
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा कमलामाई नगरपालिका वडा नं. ११ को वडाध्यक्षका रुपमा साविक नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेर बिजयी बनेपछि आफ्नो निर्वाचन क्षेत्रमा भएका समस्याहरुले मसिनो ढंगले केलाएर हेर्ने काम गरियो । निर्वाचनका क्रममा स्थानीय पार्टी कमिटी, नगरपार्टी कमिटी र सिंगो नेकपा एमालेले बनाएको निर्वाचन घोषणापत्रलाई बोकेर हामी जनताको घर दैलोमा पुगेका थियौं । जनताका बीचमा पुगेका बेला मैंले प्रमुख रुपमा खानेपानी, सडक, बिजुली स्वास्थ्य र शिक्षा क्षेत्रमा समस्याहरु समाधान गर्ने कुरा राखेको थिएँ । वडाका आधा घरमा विजुली बल्दैनथ्यो । नगरपालिका भएरपनि त्यो बत्तीमुनीको अध्याँरो जस्तै थियो । ७५ प्रतिशत घरमा व्यबस्थित खानेपानी थिएन । वडाका केही टोल बस्तीमा बाहेक गोरेटो बाटो मात्रै थिए, ट्रयाक्टरसम्म चल्ने बाटोहरु थिएनन् । जुनकुराहरुलाई पुरा गर्ने प्रतिवद्धता जनतासामु गरेको थिएँ । ती प्रतिवद्धताहरु अधिकांश पुरा भइसकेका छन् र केही अन्तिम चरणमा पुगेकाछन् । मेरो वडा नगरपालिका र त्यसमा पनि सदरमुकामसँग प्रत्यक्ष जोडिएको वडा भएपनि अत्यन्त बिकट मानिन्थ्यो । तर अहिले त्यसमा परिवर्तन आएको छ । निर्वाचन अगाडिसम्म त्यहाँका नागरिकले भोगिरहेका कष्टकर समस्याहरुले मलाई अहिले पनि झस्काईरहन्छ ।
निर्वाचनका बेला तपाईले जनताका समस्याहरु देखेर विकासको जुन परिकल्पना गर्नुभएको थियो । साँढे तीन वर्ष अगाडि गरेका ती प्रतिवद्धता र परिकल्पनाहरु कहाँ पुगे नि ?
तपाईले एकदमैं राम्रो कुरा उठाउनुभयो । निर्वाचनका बेला मैंले आफ्नो वडाका जतिपनि गाउँ र टोलहरु घुमें त्यस बेला आफ्नो वडालाई समेटिनेगरी एउटा
रिङ्गरोड बनाउन पाए हुन्थ्यो, वडाभरी सबैतिर विजुली बत्तीले जनताका घर आँगन उज्यालो बनाउन पाए हुन्थ्यो, ७० वर्षको आमाले एक घण्टा टाढाबाट बोकेर ल्याएको पानी म आफैंलाई खुवाउँदा निर्वाचनमा विजयी बनेपछि म सबैभन्दा पहिला खानेपानीको समस्या समाधान गर्छु भन्ने लाग्थ्यो । सदरमुकामसँग जोडिएपनि मेरो वडा अत्यन्त दुर्गम भएकाले सडक, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यका समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम ग¥यौं । निर्वाचनका बेला सबैभन्दा पहिला परिकल्पना गरेको रिङ्गरोडले सार्थकता पाएको छ । फिटिङ, भिरगाउँ, तेर्सै। खँड्कुले, शिरुडाँडा, राउण्डे, फिर्रेहुँदै हात्तिसार जोड्ने बाटोलाई अस्थायी रुपमा भएपनि सञ्चालनमा ल्याएका छौं । अब यो रिङ्गरोडलाई निर्वाध रुपमा सञ्चालन गर्नका लागि म निरन्तर प्रयत्नशिल छु । त्यसैगरी जहाँ जहाँ खानेपानीका समस्याहरु थिए, ती ठाउँहरुमा वडाको आफ्नै बजेट, विभिन्न संघ संस्थासँग समन्वय गरेर ठूला ठूला ४ वटा खानेपानी योजना सम्पन्न भइसकेको र अहिले प्रत्येक घरमा स्वस्थकर खानेपानी पुगिसकेको छ । भीरगाउँजस्तो खानेपानीको मुहाननैं नभएको ठाउँमा ३ सय मिटर तलबाट लिफ्टिङ गरेर जनतालाई खानेपानीको व्यवस्था गरिसकेका छौं । शिरुडाँडाका आमा दिदी बैनिहरुले घण्टौंसम्म पानी बोक्नु पर्ने बाध्यताबाट मुक्ति पाउनुभएको छ । गएको २०७७ सालको दशैं अगाडि एडिविको सहयोगमा अन्धकार रहेका वडाका सबै घरहरुमा पनि बत्ती बाल्न र उज्यालो वडा घोषणा गर्न सफल पनि भयौं ।
शिक्षा क्षेत्रमा पनि मेरै पहलमा भीरगाउँको माध्यमिक विद्यालयमा सुविधासम्पन्न भवनहरु निर्माणको भएको र त्यो सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । मावि
जरायोटारको भवनका लागि संझौता भइसकेको र ठेक्का प्रक्रियामा गइसकेको छ । प्रावि जस्मनटारमा पनि २ कोठे पक्कि भवन निर्माण भइस्केको छ । म निर्वाचित हुनु अगाडि उक्त विद्यालयमा पानी चुहिन्थ्यो र वालवालिकाहरु भिज्नुपर्ने अबस्था थियो । आधारभूत विद्यालय शिरुडाँडामा पनि २ कोठे पक्कि भवन बनाएर वालवालिकाको शिक्षा प्राप्तगर्ने अधिकारलाई सुनिश्चितता प्रदान गरेकाछौं ।
त्यसैगरी जनताको स्वास्थ्य अधिकारलाई स्थानीय स्तरमैं सुरक्षित गर्नका लागि राष्ट्रिय योजना आयोगको सहयोगमा सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण भइरहेको छ । वडामा भएका खरपरालको छानो हटाएर जस्तापाताले घर छाउने व्यवस्था मिलाइसकेका छौं ।
वडाका नागरिकलाई भौतिक बिकासले मात्रै पुग्दैन, उनीहरुको आर्थिक विकासमा पनि सहयोगी भूमिका निर्वाह गर्न जरुरी छ । त्यसैले पनि हामीले दिर्घकालिन रुपमा कृषि क्षेत्रलाई प्रोत्सानका कार्यक्रम अगाडि बढाउँदैछौं । रानीचुरीमा रहेको बाख्रा स्रोत केन्द्रको प्रर्वद्धन, जुनार, सुन्तला र फलफुलको नर्सरी स्थापना गरेकाछौं भने भिरगाउँ, तेर्से, खँड्कुलेलाई समेटेर बृहत कागतीको पकेट क्षेत्र बनाउने तयारी गरेकाछौं । जरायोटारमा तरकारीको विरुवा उत्पादनका लागि स्थायी प्रकृतिको नर्सरी स्थापना गरिसकेका छौं । त्यसका लागि कृषि समूह निर्माणदेखी उनीहरुलाई व्यवसायिक योजना बनाएर आर्थिक सम्वृद्धिको बाटो तर्फ डोहो¥याउने काममा लागिरहेका छौं । वडाका सम्पूर्ण नागरिकलाई किनेर होइन, उत्पादन गरेर खानुपर्छ भन्ने भावनाको बिकास गराउँदैछौं । कृषिमा आधुनिकिकरण र व्यवसायिक उत्पादन बिना सम्बृद्धिको यात्रा तय हुन सक्तैन । त्यसैले दिर्घकालिन कृषिका योजनाहरु मार्फत कमरेड पुष्पलालले भन्नुभएको कृषि क्रान्तिलेनैं नेपालमा समाजवादी यात्रातर्फ लैजानेछ ।
अब यो बताई दिनुस् कि माथि उल्लेख गरेका कुराहरु नितान्त तपाईंको एकल सोचहरुनैं हुन् कि तत्कालिन पार्टीका चुनाबी घोषणापत्रसंग सम्वद्धछन् ?
मुलरुपमा म साविक नेकपा एमालेका तर्फबाट निर्वाचित वडाध्यक्ष भएकाले पनि मैंले गर्नेकामहरु, योजनाहरु सबै पार्टीको विधी र पद्धति भित्र रहेर गर्ने
कुराहरु हुन् । मैंले निर्वाचनका क्रममा गाउँमा उठाएका मुद्धाहरु गाउँपार्टी कमिटी, नगरपालिकामा नगरपार्टी कमिटी, जिल्ला किमिटी र केन्द्रीय कमिटीले तयार गरेका विषयहरुनैं हुन् । स्थानीय स्तरमा हामीले भुगोल र त्यहाँको आवश्यक्ताका कुराहरुलाई प्राथमिकिकरण गर्ने र त्यसलाई कार्यान्वयनको तहमा लैजाने मात्रै हो । मैंले वडामा जनताका बीच गरेका प्रतिवद्धता, नगरप्रमुख आदरणीय दाई खड्गवहादुर खत्रीले गर्नुभएको प्रतिवद्धताहरु एउटै हुन् । किनकी हामी एउटै पार्टीका क्याडरहरु हौं । त्यसैले हामीले खासगरी दुई कम्युनिष्ट पार्टी साविक नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको एउटा जिम्मेवार प्रतिनिधीका हैसियतले दुबै पार्टीले उल्लेख गरेका चुनाबी घोषणापत्र र कांग्रेसको घोषणा पत्रमा उल्लेख भएका राम्रा पक्षलाई पनि अध्ययन गरेर काम ग¥यौं भने पक्कै पनि हामीले वडावासीलाई स्थानीय सरकारको अनुभूति दिनसक्छौं । जसले मलाई जनताको काम गर्नका लागि यो अबस्थामा पु¥याउने पार्टी कमिटी र नेतृत्वप्रति आभारी छु ।
जनताको निम्ती कार्य सम्पादन गर्ने क्रममा तपाईलाई सबैभन्दा धेरै खुशी लाग्ने र एकदमैं दुःखित बनाउने त्यस्ता केही कुराहरु पनि होलान् नि ?

हामी राजनीतिमार्फत समाजसेवामा क्रियाशिल मान्छे भएपछि खुशी लाग्ने र दुखित बनाउने विषयहरु पनि भइनैंहाल्छन् । वडामा १ हजार घरधुरी संख्याछ । म वडाअध्यक्ष पदमा निर्वाचित हुनुअगाडिनैं भुकम्प लाभग्राहीमा परेका र पछि समावेश भएका ६ सय ४२ पहिलानैं थिए । पछि पनि सम्वोधन भएर आएका १ सय २५ जति थिए तर उनीहरुले बाटोको समस्याका कारणले घर बनाउन सकिरहेका थिएनन् । स्थानीय पार्टी कमिटी र वडासमितिका साथीहरु बसेर पहिलो प्राथमिकता बाटोलाई दिने निर्णय ग¥यौं । निर्णय अनुसार प्रत्येक गाउँ र टोलटोलमा बाटो लैजाने काम गरेपछि जनताले ट्रयाक्टर मार्फत निर्माण सामाग्रीहरु लगेर घरहरु बनाउनुभयो । उहाँहरु सुरक्षित घरमा बस्न पाउनुभएको छ । हामीले बाटो निर्माणको कामलाई प्राथमिकता नदिएको भए जनताको त्यो इच्छा र अकांक्षा पुरा हुने थिएन । हाम्रो वडाका ९५ प्रतिशत भुकम्प लाभग्राहीहरुले घर बनाउनु भएको छ, उहाँहरु अत्यन्त खुशी हुनुहुन्छ । त्यो खुशी उहाँहरुको अनुहार देख्दा मलाई पनि स्वाभाविक रुपमा खुशी लागिहाल्छ नि ! त्यसैगरी भीरगाउँ भन्ने गाउँमा तपाई चैत्र बैशाख महिनामा जानुभयो भने पानी खान वा लिनका लागि १ घण्टा तल जानुपर्दथ्यो । जुन दिन ३ सय ५० मिटर तलबाट पानी तानेर जनताको घर घरमा पानी झ¥यो, त्यसबेला उहाँहरुको मुहारमा जुन खालको खुशी देख्न पाएँ, त्यसले पनि भित्रैदेखी आनन्दित एवम् गौरवान्वित महशुस गरायो ।
निर्वाचित भएर आएदेखी जनताका धेरै कामहरु मैंले गरेको छु । मेरो पनि त आफ्नो नीजि जीवन छ नि ! तर आफ्नो घर व्यवहार, परिवारका सदस्यहरु, छोरा छोरीलाई समय दिन पाइरहेको छैन । यसरी जनताका निम्ती काम गरेर हिंड्दा पनि
विरोधका नाममा जनताको विकासमैं अबरोध सिर्जना गर्न खोज्ने प्रात्र र प्रवृत्ति देख्दा साह्रै दया लागेर आउँछ । राजनीति पेशा र व्यवसाय त होइन नि ? त्यसका नाममा आय आर्जन गर्न खोज्ने प्रवृत्तिले हाम्रो विकास निर्माणमा अबरोध सिर्जना गरिरहेको छ ।
कोरोना संक्रमणका बीच आफ्नो विकासका योजनाहरुलाई कसरी अगाड बढाउँदै हुनुहुन्छ ?
यतिवेला कमलामाई नगरपालिका मात्रै होइन, सिंगो देशनैं कोरोना महामारीसँग जुधिरहेको छ । यस्तो अबस्थामा हामीहरु त्यसबाट प्रभावित नहुने भन्ने प्रश्नै रहेन । जाहाँसम्म विकास निर्माणका विषयहरुछन् । गएको आर्थिक वर्षमा पनि हामीले कोरोना संक्रमणसँग जुध्दै आफ्ना योजनाहरु सतप्रतिशत सम्पन्न गरेका थियौं । अहिले पनि हामी अत्यन्त सचेततापूर्वक कोरोना रोकथाम र नियन्त्रणकै बीचबाट विकासका योजनाहरुलाई पुरा गराउने अभियानमा छौं । पहिला एउटा ब्लकको कोठाबाट सञ्चालन गरेको स्वास्थ्य चौकीलाई हटाउँदै आधुनिक किसिमको स्वास्थ्यचौकी भवन बनाउनु पर्छ भनेर मैंले पहल गरें । अहिले १ करोड रुपैयाँ लगानीमा भवन बनाउँदैछौं । हामी आफ्नो वडाका स्वास्थ्यकर्मी, शिक्षक र स्थानीय समुदायसँग प्रत्यक्ष सम्पर्कमा छौं । कोरोना भाइरसँग कसरी बँच्न सकिन्छ ? भन्ने विषयमा सचेतना फैलाउने, घरदैलो गर्ने काम गराइरहेका छौं । साथै जो मानिस विदेशबाट आएका छन् उनीहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छौं । यस अर्थमा पनि हामी हाम्रा विकासका योजनालाई स्वास्थ्य सचेतताकासाथ अगाडि बढाउनेछौं भन्ने कुरामा म समस्त वडावासी र नगरवासीमा विश्वस्त हुन अपील गर्दछु ।
प्रसंग बदलौं, तपाई नेकपाको स्थानीय नेता पनि हुनुहुन्छ । तपाई संलग्न भएको पार्टी नेकपाका केन्द्रीय नेताहरुको अहिलेको कलहलाई स्थानीय स्तरबाट कसरी बुझिरहनुभएको छ ?
तत्कालिन अबस्थामा राष्ट्र र जनताको आवश्यक्ता र चाहनाका आधारमा अलग अलगत स्कुलिङबाट आएका कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता त भयो । तर त्यो एकतालाई बृहत एकाताका रुपमा रुपान्तरण गर्न नपाउँदै व्यक्तिगत लाभ हानी र पदका लागि भएका कलहले अहिले हामी सबैलाई निराश बनाएको छ । कार्यकर्ता र समर्थकहरुका बीचमा छलफल बिनानैं पार्टी नेतृत्वले दुई पार्टीका बीचमा एकता घोषणा गरेपनि त्यसलाई पार्टीका तमाम नेता कार्यकर्ता मात्रै नभएर सम्पूर्ण नेपाली जनताले स्वागत गरेका थिए, समर्थन गरेका थिए । जनताको त्यही समर्थनले स्थिर सरकारको नारा मार्फत समाजवादी यात्रा तयगराउनका लागि दुई तिहाईको सरकार पनि बनायो । तर अहिले नेतृत्वको बीचमा सरकारलाईनैं असफल बनाउने, कम्युनिष्ट पार्टी र आन्दोलनलाई नैं समाप्त पार्नेगरी भएका घर झगडाले तल्लो तहमा बसेर काम गर्ने हामीहरु जस्तालाई अप्ठेरो बनाउँदैछ । यस्तो कुराबाट हुने क्षतिवारे मननगर्दे पार्टी नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुहुनेछ र त्यो निर्णय देश, जनता र सिंगो नेकपाको हितमा हुनेछ भन्ने मलाई विश्वास लागेको छ ।
अन्त्यमा समस्त वडावासी एवम् नगरवासीहरु लाई के भन्न चाहानुहुन्छ ?
सिमित स्रोत र साधानका बीचमा हामीले आफ्नो वडामा काम गरिरहेका छौं । नगरकार्यपालिकामा नेकपाकै बहुमत भएकाले पनि हामीलाई काम गर्न सजिलो भएको छ । जनताले पनि हामीलाई काम गर्नका लागि सघाईरहनु भएको छ । विकास गर्नका लागि एक जनाको मात्रै इच्छाशक्तिले नहुने रहेछ । सबै वडाबासीको सक्रिय साथ र सहयोग पाइयो भने हामीले आँटेका कामहरु पुरा गराउन सक्नेरहेछौं भन्ने कुरा विगतको अनुभवले पनि सिकाएको छ । आउनुस् बिना पूर्वाग्रह, बहस र छलफल गरौं, हाम्रो वडालाई विकासमा अग्रसर बनाउन लागि परौं, म सम्पूर्ण वडावासीमा पुःन अपील गर्दछु । साथै मलाई मेरो वडामा भएका विकास निर्माण लगायतका विषयमा आफ्ना कुरा राख्ने अबसर दिनुभयो । त्यसका निम्ती सिंगो पत्रकार टिमप्रति आभार प्रकट गर्दछु ।