सबैले राम्रो मात्रै भन्दिए म तानाशाही हुन सक्छु, बिग्रिन पनि सक्छु: वडाध्यक्ष लालवहादुर स्याङतान,तीनपाटन गाउँपालिका ३, सिन्धुली

साविक भिमस्थान गाविसको कोटगाउँ भन्ने वित्तिकै निरंकुश पञ्चायती शासकहरुको मुटु काप्ने गर्दथ्यो । सिन्धुली जिल्लाको कम्युनिष्ट आन्दोलनको केन्द्र र स्वर्गीय पुष्पलालले पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी गठनका क्रममा प्रशिक्षण भेला गरिएको ठाउँमा पहिलो पटक एक युवाले नेपाली कांग्रेसको नाममा वडाअध्यक्ष पदमा विजयी बनेर सबैलाई चकित बनाईदिए । पञ्चायती शासन कालमा भएको निर्वाचनमा पनि नेकपाकै उम्मेदवारले विजय हाँसिल गरेको स्थानमा नेपाली कांग्रेसलाई विजयी बनाउने युवा हुन् लालवहादुर स्याङतान । गाउँमा रहेका बिकृति र विसंगतीका विरुद्ध सामाजिक आन्दोलन चलाएका उनी तामाङ समुदायका पढेलेखेका युवा भएकाले पनि समाजमा उनको भूमिका बढीरहेको थियो । केही स्थानीय युवाहरुले भने आफ्नो वडामा पढेलेखेको युवालाई उम्मेदवार बनाउनु पर्छ, नयाँ पुस्तालाई उम्मेदवार बनाइयो भने विकास खाँदैनन् भन्ने छलफल चलाइरहेका थिए । नेपाली कांग्रेसले त्यस वडामा उम्मेदवार पाउनै सकिरहेको थिएन । त्यही समयमा तत्कालिन नेकपा एमालेले लोकप्रिय बामपन्थी नेता बुद्धराम श्रेष्ठका छोरा विश्वपति श्रेष्ठलाई उनलाई उम्मेदवार बनाउने निर्णय गरेपछि स्थानीय अभिभावकहरु बीचको छलफलपछि स्याङतानलाई उम्मेदवार बनाउने निर्णय भयो, उनले स्वीकारे पनि । एउटा पार्टी समाउनै पर्ने भएपछि उनलाई नेपाली कांग्रेसले टिकेट दियो । ख्याल ख्यालमा तीनपाटन गाउँपालिका वडा नंं ३ का वडाध्यक्ष पदमा उम्मेदवार बनेका उनले नेकपा एमालेका विश्वपति श्रेष्ठलाई भारिमतले पराजित गरेपछि सबैतिर चासो र चर्चाको विषय बनेको थियो । विकासमा राजनीति गर्दा सबैभन्दा बढी पिडा हुने कुरा बताउँने वडाध्यक्ष स्याङतान जनताका तर्फबाट गरिने आलोचनाले आफुलाई काम गर्न प्रेरणा मिलिरहेको बताउँछन् । जनताका बीचमा लोकप्रिय बन्दै गएका स्याङतानसँग सन्देश जनप्रिय साप्ताहिकले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । सम्पादक

वडा नम्बर ३ लाई तीनपाटन गाउंपालिकाको सबैभन्दा विकट र दुर्गम वडा नैं मान्नु पर्छ, यस्तो अबस्थामा आफ्नो वडाको बिकास निर्माणलाई कसरी अगाडि बढाउंदै हुनुहुन्छ ?
भौगोलिक बिकटताले जेलिएको तीनपाटन गाउँपालिकाको वडा नं. ३ विकासबाट पछाडि पारिएको ठाउँ हो । गाउँपरिषदमा रकम भाग वण्डामा बितरण गर्ने क्रमलाईरोक्न अघिल्ला वर्षहरुमा मैंले पटक पटक वडाहरुमा रकम बितरण गर्दा भौगोलिक बिकटता र जनसंख्यालाई प्राथमिकतामा राखेर विरण गरौं भन्ने आवाज उठाउँदै आएको थिए । बल्ल यस वर्ष आएर परिषदमा मेरो कुराको सुनुवाई भयो । विकासबाट पछाडि पारिएको र वडाको सिमांकन गर्दा पनि राजनैतिक उदेश्य राखेर विकट क्षेत्रलाई मात्रै ३ नम्वर वडामा समावेश गर्दा स्थानीयले त्यसको मार पनि खेप्नु परिरहेको छ । साविक भिमस्थान गाविसमा विटक वडाहरु अहिले मेरो ३ नम्वर वडा भएको छ । मेरो वडामा विकास निर्माणका आधारशिलाहरु भर्खरै स्थापित भइरहेका छन् । सडक, विजुली, विद्यालय, स्वास्थ्य चौकीलगायतका जनताका दैनिक जीवनसँग जोडिएका कुराहरु म निर्वाचित भएदेखीनैं पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढिरहेको छ । सिन्धुली चकमके सडकबाट वडा कार्यालयसम्म जाने बाटो लाई बाह्रै महिना सञ्चालन हुनेगरी काम अगाडि बढिरहेको छ । सिपालीमा बर्थिङ सेन्टरसहितको सुविधासम्पन्न स्वास्थ्य चौकी बनाइसकेका छौं । निर्माणाधिन वडा कार्यालयबाट आउँदो नयाँ वर्षमा हामीले कार्य प्रारंभ गर्ने योजना हामीले बनाएका छौं । एडिविको सहयोगमा वडाका सबै क्षेत्रमा बिजुली बत्ती बलिसकेको छ । ठेकेदारले २ वर्ष झुलाए पनि निकै ठूलो प्रयत्नपछि दशैं अगाडी सबै जनताले बत्ती बाल्न पाएका छन् । खानेपानीको समस्यापनि समाधान हुने चरणमा छन् । प्रत्येक घर घरमा धारा जडान गर्ने लक्ष्यका साथ हामीले काम थालनी गरिरहेका छौं । केही योजना सम्पन्न भइसकेको र केही योजना सूरु हुने चरणमा छ भने केही गाउँमा सर्बेको काम भइरहेको छ । समग्रमा भन्नुपर्दा ३ नम्वर वडामा विकासका कामहरु निर्वाध रुपमा अगाडि बढिरहेकाछन् ।
तपाई निर्वाचित भएको तीन वर्ष पुरा भइसकेको छ । काम गराइको यो अबधीमा लाई चसक्क घोच्ने र खुशी लाग्ने कुराहरु के के अनुभव गर्नुभयो ?
काम गर्ने क्रममा केही पक्ष एकदमैं खुशी हुन्छन् । जो तल्लो तहका आधारभूत जनताछन् । उनीहरु आफुले चाहेको काम हुँदा खुशी हुनु स्वाभाविक हो भने सोही समाजमा रहेका अर्काथरी विरोध मात्रै गरिरहन्छन् । हाम्रो समाजमा दुवै खाले मानिसहरु हुन्छन् । एउटाले समर्थन गर्ने र अर्काले विरोध गर्ने । त्यही कारणलेनैं होला समाज वर्गीय हुन्छभनेको । सबैले राम्रो मात्रै भन्दिए भने त म पनि तानाशाही हुन सक्छु ।, राम्रोको मात्रै बखान गरिरहने हो भने त भोली म बिग्रिन पनि सक्छु । काम गरिरहँदा पनि यसले नराम्रो गर्यो भन्दिने मानिस भएभने त म सच्चिन पनि सक्छु । मलाई सही बाटोमा हिंडाउनका लागि त्यो आलोचना स्वाभाबिक लागिरहेको छ । काम गरिरहँदा कहिले काँही कमी कमजोरी हुनसक्छ । फेरी कमजोरी र गल्ती गर्ने त मानिसलेनैं हो नि । यस अर्थमा म आलोचनाबाट खुशी छु । तर कहिलेकाँही राम्रो काम गरिरहँदा पनि राजनैतिक स्वार्थबाट अभिप्रेरित भएर गरिने आलोचनाले मलाई दुःखी बनाउने गर्छ । त्यो दुःख एक छिन, उहाँहरुले भनुन्जेल मात्रै हो । ५ मिनेट पछि म त्यस्तो कुरालाई बिर्सिन्छु र उसलाई अंकमाल गरेर खुशी बनाएर पठाउँछु । मैंले त्यसो गरिरहँदा विरोध गर्नेहरु पनि मैंले कतै गलत कुरा त भनिनँ ? भन्ने कुरा कुराले उहाँहरुलाईनैं पिरोल्ने गर्छ । किनभने मैंले प्रतिशोध गर्ने, वा आत्मग्लानी बन्नु पर्ने अबस्थै आएको छैन ।
तपाईले यस्तो बताईरहंदा कम्युनिष्ट उत्पादनको केन्द्र मानिएको अहिलेको ३ नं. वडा (कोटगाउं) मा बसेर काम गर्न त मुस्किलै भएछ नि हैन त ?
साविक भिमस्थान गाविसको वडा नं. ७, ८ र ९ नम्बर वडाहरु भनेको कम्युनिष्ट उत्पादनकै केन्द्र र आधारशिलाहरु थिए । अहिले तीनै वडाहरु गाउँपालिकाको ३ नम्बर वडा बनेको हो । म गाउँमा बस्दा र काठमाडौमा रहँदा पनि गाउँमा भएका समस्याहरुसँग प्रत्यक्ष रुपमा जोडिएर काम गरिरहेको थिएँ । म युवा क्लवमा भएकाले पनि गाउँका युवा साथीहरुका बीचमा रहेर काम गर्ने अबसर पाएँ । म निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बन्छु भन्ने सोच र संकल्प पनि थिएन । गाउँमा भएको समस्यालाई सामाधान गर्न तम्सने भएकैले होला साथीहरुले तिमी काठमाडौमा नबस, गाउँमा तिमिजस्तो युवाको खाँचो छ भनेर बारम्बार भनिरहन्थे । उहाँहरुकै आग्रहमा म गाउँमा फर्केको थिएँ । मलाई गाउँमा आउ भन्नेहरु सबै कम्युनिष्ट पार्टीकै साथीहरु थिए । कांग्रेसका एक दुई जनामात्रै थिए । काठमाडौबाट गाउँ फर्केपछि सबैसँग बसेर छलफल गरियो । हिजो पनि विकासमा तल माथि हुन्थ्यो । अहिले पनि त्यस्तै तल र माथि बनेको छ । स्थानीय निकाय बन्दा पनि भौगोलिक रुपमा पछाडि पारेपछि त्यसलाई सहज ढंगले बुझ्न र विकासका कामलाई अगाडि बढाउन सक्ने युवा पुस्ता चाहिन्छ र त्यसको नेतृत्व तपाईले गर्नुपर्छ भन्ने कुरा साथीहरुले गरेपछि मैंले वडाध्यक्षको उम्मेदवार बन्ने निर्णय गरेको थिएँ । नेकपाले उम्मेदवार घोषणा गरिसकेकाले मलाई नेपाली कांग्रेसले उम्मेदवार बनायो । निर्वाचन लड्न कुनै न कुनै पार्टी त समाउनै पर्ने रहेछ । छोटो समयमा उम्मेदवार बनेर सबैको साथ र सहयोगले निर्वाचन पनि जितियो र अहिले जनताले निर्वाचनका क्रममा दिएका जिम्मेवारीलाई कर्तव्यका रुपमा लिंदै इमान्दारिताका साथ पुरा गरिरहेको छु । ती जिम्मेवारीहरु पुरा गराउने क्रममा अलिकति पनि विचलित हुने छैन ।
तपाई त गाउँपालिकाकै कान्छो र विकट गाउँको वडाध्यक्ष भनेर चिनिनुहुन्छ । तीन वर्षको अन्तरालमा आफ्नो वडाका प्रमुख समस्याहरु के के पहिचान गर्नुभयो ?
मेरो वडाका प्रमुख समस्या भनेको खानेपानी, सडक र बिजुली बत्तीको हो । यो तीन वर्षका अवधीमा हामीले बाटोमा ७५ प्रतिशत काम सम्पन्न गरिसकेका छौं । बिजुलीमा हाम्रो ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । त्यसैगरी खानेपानीमा हामीले ९० प्रतिशत सफलता पाइसकेका छौं । वडाका प्रत्येक घरमा बाटो पुगोस् भन्ने मेरो चाहना छ । अहिलेसम्म ८-१० घर बाहेक अन्य सबैतिर बाटो पुगिसकेको छ ।
राम्चेको जरङ्गे भन्ने एउटा ठाउँछ । त्यहाँ १ घर मात्रै छ । उक्त घर भएको ठाउँमा बाटो पु¥याउनका लागि कम्तिमा २० लाख रुपैयाँ लाग्छ । त्यसैले उक्त घरलाई त्यसठाउँबाट अन्यत्र सारेर राख्न पाए राम्रो हुन्थ्यो भन्ने मलाई लागिरहेको छ । एक घरका लागि ठूलो रकम खर्च गर्नुभन्दा बस्तीनैं स्थानान्तरण गरेर त्यही पैसाले सबै कुराको ब्यवस्थापन गर्न सकिन्छ । त्यसो गर्दा उहाँ दाईलाई राम्रो हुन्छ । हाम्रो प्रचलित ऐन कानूनले त्यसो गर्न दिन्छ कि दिंदैन, त्यो भने बुझ्न बाँकी छ ।

अहिले ३८ वर्षको हुनुभयो,अब बताउनुस् तपाईको राजनैतिक यात्रा कसरी अगाडि बढ्छ ?
हो मैंले गाउँमा, समुदायमा गरेको सामाजिक कामकैं कारणले राजनीतिमा आइपुगें । मेरो राजनीतिमा आउने वा गर्ने कुनै इच्छै थिएन । तर वडाध्यक्षको रुपमा गाउँमा रहेका समग्र समुदायको विकासमा सहयोग गर्न पाउँदा खुशी लागेको छ । मेरो अभिभावक, र मेरा अग्रजहरुले समाजमा गर्नुभएको राम्रा कामको परिणाम पनि थिए । त्यही कारणले मलाई बडाध्यक्ष बन्न सहयोग पुग्यो । तर अझै पनि एउटा पिछडिएको वर्ग, समुदाय अर्थात तामाङको छोरोले राजनीति गरेर अबसर पाइन्छ भन्ने कुरा मलाई लाग्दैन । तर सबै साथीभाई, आमा बुवा र समग्र तीनपाटन वासीको साथ र सहयोग पाएँ भने म आफ्नो कर्तव्य र जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्छु ।
तपाईको थप केही कुरा भन्न बांकीछन् कि ?
अन्त्यमा सबैभन्दा पहिला तिहार तथा छठ पर्वको उपलक्ष्यमा वडा वासी एवम् तीनपाटनका सम्पूर्ण आमा, बुवा, दाजु भाई तथा दिदी बहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । मेरो वडाका दाजु भाई दिदी बहिनीहरु शालिन र भद्र हुनुहुन्छ । उहाँहरुको साथ र सहयोगले विजयी बनियो । उहाँहरु प्रति कतज्ञ छु । मलाई खबर गर्नुस् तपाईहरुको रहेक समस्यामा रात दिन नभनी साथ र सहयोग गर्न चाहान्छु ।