विश्वकप छनोटमा घरेलु मैदानमै रोकियो अर्जेन्टिना, मेस्सीको गोल ‘अस्विकार’

विश्वकप फुटबल २०२२ को महादेशीय छनोटमा शुक्रबार अर्जेन्टिना घरेलु मैदानमै बराबरीमा रोकिएको छ।

पाराग्वेसँग १-१ गोलको बराबरी खेलेको हो। खेलमा सुरुवाती अग्रता पाराग्वेले लिएको थियो। पाराग्वेका एन्जेल रोमेरोले २१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। तर अर्जेन्टिनाका निकोलास इभान गोन्जालेजले ४१ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

५८ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेपनि पाराग्वेका खेलाडीले आपत्ती जनाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री-भारको सहायता लिएका थिए। मेस्सीले डि बक्समा आएको बललाई पहिलो बार च्यापेर गोल गरेका थिए। तर भारमा मैदानको मध्य भागबाट बल अगाडि बढाउने क्रममा पाराग्वेका खेलाडीमाथि फल भएको भन्दै  निर्णय उल्टिएको थियो।

अर्जेन्टिनाले जारी छनोटमा चार खेलबाट ८ अंक जोडेको छ। उसले दुई जित र दुई बराबरीको नतिजा निकालेको छ। पाराग्वेको तीन खेलबाट पाँच अंक जोडेको छ। ब्राजिलको दुई खेलबाट ६ अंक छ।